सुदूरपश्चिम


हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना

हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार ७:३९, काठमाडौँ

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने काम गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो।

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चलिरहेको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउँछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायबापत दैनिक करिब एक हजारजति आम्दानी हुने गरेको रानाले बताए। 

‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु’, उनले भने। राना यही कामका लागि कहिलेकाहीँ धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुग्छन्। 

खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उनले बताए। सान लगाउने काम रानाले २० वर्षकै उमेरदेखि गरिरहेका हुन्। पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको सुनाए।

स्वदेश फर्केर विवाह गरेपछि यही कामलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ।

‘घरखर्च यसैको कमाइले धानिँदै आएको छ। मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्तर्गत पाइएको घरबासको जग्गा मात्रै छ। अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु’, उनले भने,‘पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन्। हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ।’

विसं २०५८ मा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले सुनाए।

‘कमाइ गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु’, उनी भन्छटन्,‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ। बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन्। हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन्। बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन्।’

रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायबापत रु २०, खुकुरी, बञ्चरोमा धार लगायबापत रु ५० र तरबारको रु एक सय रुपैयाँ ज्याला  लिने गरेका छन्। पहिला महिनाको रु ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उनले जानकारी दिए। 

‘बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ। छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु’, रानाले खुसी हुँदै भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad