भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक पहिरोमा परेर मृत्यु भएका ४ जना नेपालीको शव घर ल्याइँदैछ।
दिल्लीस्थित दूतावासका अनुसार पोष्टमार्टम पछि मृतकको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ।
अबिरल वर्षापछि बिहिबार राति आएको पहिरोमा च्यापिएर चितवनका तुला बहादुर नेपाली, पूर्ण नेपाली र किसन परियार र दैलेखका दीपक बुढाको मृत्यु भएको दूतावासका काउन्सलर उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
चितवनका तीन जना मृतकका आफन्त सम्पर्कमा आएर पोष्टमार्टपछि शव बुझेर घर फर्किंदैछन्। यस्तै, दैलेखका मृतक दीपक बुढाको परिवारलाई सम्पर्कमा ल्याइँदैछ।
घटनापछि उनीहरूको शव दुरुप्रयाग अस्पतालमा राखिएको थियो। सुतिरहेका बेला बिहिबार राति पहिरो खस्दा उनीहरुको मृत्यु भएको थियो।
केही महिना अघि मजदुरीका लागि उनीहरुले त्यहाँ गएको खुलेको छ। उनीहरु सडक निर्माणमा मजदुरीको काम गर्थे।
Shares
प्रतिक्रिया