ad ad

सुदूरपश्चिम


मोबाइल सन्देशले जोगायो ज्यान

मोबाइल सन्देशले जोगायो ज्यान

राजेन्द्र पनेरु
असोज २, २०७९ आइतबार २०:१६, कञ्चनपुर

भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न। त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो। त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो। 

रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो। त्यसमा लेखिएको थियो, ‘पछिल्लो तीन घण्टामा कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भएकाले नदीमा आकस्मिक बाढी आई खतरा आसपास पुगिसकेकाले सतर्कता अपनाऔँ’, रावतले मोबाइलमा आएको सन्देश पढे। 

सन्देश पढ्नासाथसँगै सुत्नेकी श्रीमतीलाई उठाएर सन्देशका बारेमा सुनाए।

‘सन्देशमा भने झैँ ठूलो वर्षा भइरहेको थियो’, रावतले भने, ‘बाहिर हेरे वनहरा नदीको पानी झोपडी भित्रै आइपुगेको थियो, हतारमा श्रीमतीलाईसँगै आवश्यक सामान बोकेर भाग्नका लागि तयार पारे, शिविरका अन्य बासिन्दालाई बाढी आएको कुरा ठूलो आवाजले कराएर सुनाए सबैजना वन क्षेत्रमा भाग्यौँ, त्यो सन्देश नआएको भए ठूलो दुर्घटना निम्तिन्थ्यो।’

नदीको बाढी शिविरमा छिरेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्य सामग्री सबै झोपडीमै छाडेर एक सरो लुगामा सबै भागेर ज्यान जोगाएको उनी बताउँछन्। ‘शिविरमा बाढीको पानी पसिसकेकाले भाग्नका लागि आवाज आयो’, गौरे दमाईंले भने, ‘सुतेका मात्रै थियौ, लत्ताकपडा केही बोक्नै पाएनौँ।’

उनले रातिका समयमा शरीरमा एकसरो कपडा मात्रै लगाएर सामुदायिक वन क्षेत्रमा भागेको सुनाए।

‘पानी छातीसम्म पुगिसकेको थियो, बाँचिएला भन्ने आशा नै थिएन जसोतसो कम पानी भएको ठाउँमा पुगेपछि अब बाँचिन्छ झैँ लाग्यो’, उनले भने, ‘वनको माथितर्फ लाग्यौँ, त्यतिबेला शिविरका अरु पनि आइपुगे, पानीमा भिज्दै उभिएरै रात कटायौँ।’

उनी अहिले पनि शिविरमा फर्केर जान डराउँछन्। वर्षा भएपछि अझै पहिलाजस्तै बाढी आउने डर उनको मनमा खेल्ने गरेको छ। शिविरमा पानी पसेपछि वन क्षेत्रमा रातिको समयमा बालबालिकालाई काखिमै च्यापेर भिज्दै रात काटेको कुरा मथुरादेवी सार्की बताउँछिन्।

‘डोरीको खटियामा सुतेका थियौँ’, उनले भनिन्, ‘झोपडीभित्रै पानी आइपुगेकाले ज्यान जोगाउनकै हतार भयो, केही बोक्नै पाएनौँ, सबै बगाएर लग्यो, शरीरमा लगाएको एकसरो लुगामात्रै छ, त्यसबाहेक केही छैन।’

रातको समयमा मुसलधारे पानीमै बालबालिकासहित अनिदोमै रात काट्नुपरेको दुखेसो उनले गरिन्। शिविरकी कलावती दमाईं झोपडी बाढीले बगाउँदा एकसरो लुगामै छिन्। रातिमा बालबालिका पानीमा भिजेपछि बिरामी पर्न थालेको उनले बताइन्। 

‘शिविरमा बाढी पसेको हल्लाखल्ला हुन थालेपछि सबैभन्दा पहिला गाईवस्तुलाई फुकाएर जङ्गलतर्फ भगाउँदासम्म झोपडीमा घुँडासम्म पानी पुगिसकेको थियो’, स्थानीय दलबहादुर बोहराले भने, ‘झोपडीमा सुतेकालाई उठायौँ भाग्न भन्यौँ, त्यसपछि एकसरो लुगामै जङ्गलै जङ्गल पानीमै भागेर ज्यान जोगायौँ।’ 

शिविर रहेको पश्चिमतर्फ वनहरा नदी, दक्षिणतर्फ नदीले नै बनाएको नाला छ, उत्तरतर्फ घना वन क्षेत्र छ। बिहानको ५ बजेपछि जनप्रतिनिधिसहित सुरक्षाकर्मी आएर सुरक्षित स्थानमा ल्याएर राखेको उनी बताउँछन्। सुरक्षाकर्मीको उद्धार टोलीले शिविरमा पुगेर बग्नबाट बाँकी रहेका सामान जोगाएको उनले बताए। 

विस्थापित परिवारको झोपडीमा अहिले घुँडासम्म हिलो छ। बस्नसक्ने अवस्था छैन। विस्थापित परिवारलाई शुक्लाफाँटा नगरपालिका–११ को वडा कार्यालयले सरस्वती माध्यमिक विद्यालयमा तत्कालका लागि बस्ने र खाने व्यवस्था मिलाएको छ।

शिविरमा २८ परिवारको बसोबास छ। शिविरका बसेका बासिन्दालाई नेपाल रेडक्रस उपशाखा झलारीले कम्बल उपलब्ध गराएको छ भने झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले राहत सामग्री वितरण गरेको छ। शिविरमा बसोबास गरिरहेका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन्।

‘नदी छेउको शिविरमा जुनसुकैबेला अझै पनि विपद् आउनसक्ने भएकाले सुरक्षित स्थानमा बसोबासका लागि धेरै पहिलेदेखि माग गर्दै आएका हौँ’, मानध्वज लुहारले भने, ‘कसैले सुनेनन् अव त्यो शिविरमा फर्केर जाने मन छैन, निकै डर लाग्न थालेको छ, यसपटकको विपदबाट मोबाइलमा आएको सन्देशले बचायो। अर्कोपटक विपद् आए के हुने हो थाहा छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .