खेल


बीसीसीआईको अध्यक्षमा अचानक कसरी भयो गांगुलीको पल्लाभारी?

बीसीसीआईको अध्यक्षमा अचानक कसरी भयो गांगुलीको पल्लाभारी?

नेपालखबर
असोज २७, २०७६ सोमबार ८:०,

भारतीय क्रिकेटको मुख्य संस्था भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)को चुनाव नजिकिएसँगै सनसनी मच्चाउने खबरहरु पनि सार्वजनिक हुन थालेका छन्।

यसैबीच भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली सबैको सहमतिमा बीसीसीआईको नयाँ अध्यक्ष बन्ने निश्चित भएको खबरले पनि सनसनी मच्चाएको छ। गांगुली अहिले बंगाल क्रिकेट एसोसियनका अध्यक्ष समेत छन्। बंगालमा पनि उनलाई निर्विरोध अध्यक्ष पदमा चुनिएका थिए।

आगामी अक्टोबर २३ मा बीसीसीआईको नयाँ चुनाव हुँदैछ। त्यसका लागि सोमबारसम्म मनोनयदर्ताको समय छ।

गांगुलीसँगै शनिबारसम्म पूर्व भारतीय टोलीका ब्याट्सम्यान ब्रजेश पटेल र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहका छोरा जय शाह पनि अध्यक्ष पदका दाबेदार थिए। तर, आइतबार साँझसम्म आइपुग्दा उनीहरुलाई पछि छाड्दै गांगुलीले बाजी मार्ने निश्चित देखिएको छ।

ब्रजेश पेटललाई इण्डियन प्रिमियर लिग(आइपीएल)को अध्यक्ष, जय शाहलाई सचिव तथा बीसीसीआईका पूर्वअध्यक्ष तथा केन्द्रीय अर्थमन्त्रीका भाई अरुण धुमललाई कोषाध्यक्ष पद दिने गरि सहमति जुटेपछि गांगुलीको अध्यक्ष बन्ने सम्भावना निश्चित जस्तै बनेको हो।

आइतबार साँझसम्म भने ब्रजेश पटेल अध्यक्षमा पदका लागि बलियो उम्मेदवार मानिएका थिए। तर, गांगुलीले अर्को पदमा बस्न नमानेपछि र पटेललाई पर्याप्त समर्थन नमिलेपछि सोही साँझ अबेरसम्म बसेको ठाकुर, एन श्रीनिवासन, राजिव शुक्ला तथा आकांक्षीहरुको बैठकपछि उक्त कुरामा सहमति जुटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सत्तारुढ पार्टी भाजपाको समर्थन पनि गांगुलीलाई मिलेपछि उनको पल्ला भारी भएको हो।

सर्वसम्मतीमा अध्यक्ष बन्ने भएपछि प्रतिक्रिया दिदैँ गांगुलीले भने, ‘मलाई यो पदमा नियुक्ति पाउने भएपछि खुशी लागेको छ। यो मेरा लागि ठूलो मौका हो। यसबेला बीसीसीआईको छवि राम्रो छैन्। म निर्विरोध चुनिएपनि या चुनावी प्रक्रियाबाट आएपछि यस संस्थाको छवि सुधार्नु मेरो मुख्य जिम्मेवारी हुनेछ।’

विश्वको ठूलो र शक्तिशाली क्रिकेट संस्थाको अध्यक्ष पदमा गांगुलीको नाम तय भएपनि उनी २०२० जुलाईसम्म अर्थात १० महिनामात्रै यो पदमा रहने भएका छन्। किनकी नयाँ विधानका अनुसार एक व्यक्तिले एकसमयमा लगातार ६ वर्ष सम्ममात्रै कुनैपनि पदमा बस्न पाउँछन्। २०१५ देखि गांगुली लगातार बंगला क्रिकेट एशोसियनसँग आवद्ध छन्।

यस नियमबारे गांगुलीले भने, ‘यो नियम हो। हामीले यसअनुसार चल्नुपर्छ। मेरो पहिलो प्राथमिकता पहिलो श्रेणीका खेलाडीहरुलाई ध्यानमा राख्नु हुनेछ। मैले यसअघि प्रशासकको समितिलाई पनि आग्रह गरेको थिए र उनीहरु पनि यसमा सकरात्मक देखिएका छन्। क्रिकेटरहरुको आर्थिक हितका लागि रणजी ट्रफी क्रिकेटमा ध्यान दिनेछु।’

गांगुली सन् २००० मा भारतीय टोलीको कप्तान बनेका थिए। त्यसबेला म्याच फिक्सिङ र खराब लयबाट गुज्रिएको भारतीय क्रिकेटलाई उठाउँदै खेलाडीहरुको मनोबल उच्च पारेको श्रेय उनलाई जान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad