ad ad

खेल


क्यानको अध्यक्षमा मेरो दाबेदारी स्वाभाविक होः चतुरबहादुर चन्द(अन्तर्वार्ता)

क्यानको अध्यक्षमा  मेरो दाबेदारी स्वाभाविक होः  चतुरबहादुर चन्द(अन्तर्वार्ता)

यज्ञराज जोशी
असोज ७, २०७६ मंगलबार १२:७,

बैतडी भारतसँगै जोडिएको सुदूरपश्चिमेली जिल्ला हो। छिमेकी भारतले सन् १९८३ को क्रिकेट विश्वकप जित्दा त्यसको प्रभावबाट यो जिल्ला अछुतो रहेन। बैतडीमा चतुरबहादुर चन्द त्यसबेला रेडियोमा कमेन्ट्री सुन्दै विश्वकपको आनन्द उठाउँथे। त्यही कमेन्ट्रीले उनलाई खेल्ने हुटहुटी जगायो। अनि उनी साथीहरु भेला पार्दै क्रिकेटमा रमाउन थाले।

पछि उनी पढ्न भारत गएँ। त्यहाँ कलेजको टिमबाट पनि खेले। पढाई सकेर जिल्ला फर्केपछि उनी पढाउँन थाले। तर, क्रिकेटसँगको लगाव छुटेको थिएन। बैतडीमा आएर क्लब खोले र स्कुल, क्लबस्तरीय प्रतियोगिताहरु आयोजना गर्न थाले।

‘नेपालमा यू–१५ सुरुवातै भएको थिएन,’ उनी सम्झन्छन्, ‘तर, मैले २०५२ सालमै जिल्लाका क्लबहरु समेटेर यू–१५ गराएको थिए। त्यसपछि क्षेत्रीय प्रतियोगिताहरु त कति गराएँ कति।’

संरचना नभएसम्म नियमित प्रतियोगिताहरु गर्न गाह्रो हुन्छ भने भएपछि भने उनी प्रशासनिक क्षेत्रमा अघि बढे। आफ्नै अध्यक्षतामा बैतडी क्रिकेट संघ गठन गरे। जसले २०५५ सालमा नेपाल क्रिकेट संघ(क्यान)को मान्यता पायो। पछि सिंगो सुदूरपश्चिमलाई समेटेर क्रिकेट क्षेत्र नम्बर ६ बन्यो। त्यसको पनि उनी संस्थापक अध्यक्ष रहे। 

उनी स्थानीय तहहरुसँग मिलेर खेलमैदानहरु सम्याउदै खेल्न योग्य मैदानहरु बनाउन व्यस्त रहे। क्षेत्रीयस्तरका थुप्रै प्रतियोगिताहरु आयोजना गरे। उनले बैतडीबाट सुरु गरेको क्रिकेट फैलिएर सूदुरका ९ मध्ये ८ जिल्लामा खेलिन्छ। २०६३ मा उनी क्यानको केन्द्रीय उपाध्यक्ष भए भने २०७२ राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता नदिएपछि मध्यरातमा भएको क्यानको साधारण सभाबाट उनी अध्यक्षमा चुनिए।

लगत्तै राखेपले क्यानको तदर्थ समिति गठन गर्‍यो। राजनैतिक हस्तक्षेपको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले क्यानलाई निलम्बनमा राख्यो। निलम्बित क्यानको अध्यक्ष बनेका चन्दको चारवर्षे कार्यकाल सकिनैँ लाग्दा उनले केही काम गर्न पाएनन्।

क्यान निलम्बनको धेरथाेर आरोप उनीमाथि पनि लाग्यो। बैतडी कांग्रेसको जिल्ला कमिटीमा रहेका उनीमाथि पनि क्रिकेटमा राजनीति घुसाएको र राजनैतिक टेको टेक्दै क्रिकेटमा आएको आरोपहरु पनि लाग्दै आए।

तर, उनी त्यसमा आफ्नो आपत्ति रहेको बताउँछन्। ‘सबैले पत्याएर म यहाँसम्म आइपुगेको हुँ। कसैले राजनीतीबाट टप्प टिपेर ल्याइएको हैन,’ उनी भन्छन्, ‘म राजनीतिक दलसँग जोडिएको हुँला। मेरो आस्था छ, विचार धारा छ, सिद्धान्त छ। तर, राजनैतिक दलका कारण म क्रिकेटमा स्थापित भएको चाँहि हैन। कसैले मलाई राजनैतिक पृष्ठभूमिको बाटो हुँदै आयो भन्छ भने त्यसमा मेरो घोर आपत्ति छ। मेरो ब्याकग्राउन्ड बुझेर बोल्नुपर्‍यो, हैन् भने सोध्नुपर्‍यो।’

क्यानको अध्यक्षमा गरेको दाबेदारी स्वभाविक
असोज १० र ११ गते निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको क्यानको केन्द्रीय निर्वाचन हुँदैछ। अघिल्लो कार्यकाल कामै गर्न नपाएका उनलाई यसपटक काम गरेर देखाउँने इगो पनि छ। त्यसैका लागि आफूले दाबी गरिरहेकाे उनकाे भनाइ छ। 

‘पद नै पाउँनुपर्छ भन्ने इगो त हैन् तर जिम्मेवारी पाइयो भने काम गर्ने इगो छ,’  नेपालखबरसँग कुरा गर्दै चन्दले भने, ‘साथीहरुले विश्वास गर्नुभयो भने क्रिकेटलाई कसरी व्यवस्थित रुपमा अघि लैजाने, कसरी निकास दिनेमात्रै भनेर काम गर्ने भित्री आकांक्षा छ।’

चन्द आफ्नो उम्मेदवारी नेचुरल भएको बताउँछन्। आफू तल्लो तहबाटै काम गर्दा गर्दै यहाँसम्म आइपुगेको उनको दाबी छ। ‘मलाई लाग्छ मेरो दावी नेचुरल्ली नै हाे। त्यसको सबैले मूल्यांकन गरेका होलान्,’ उनले भने।

तर, उनलाई चुनावमा त्यति सजिलो हुनेवाला पनि छैन्। उनका विपक्षमा चार दशक विभिन्न पदमा रही नेपाली क्रिकेट हाँकेको अनुभव भएका विनयराज पाण्डेले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। पाण्डेलाई निर्णायक मानिएका क्यान प्रदेश १ का अध्यक्ष मिन्मा डन्डु शेर्पा समूहको साथ रहेको छ।

उनी क्यानको अध्यक्ष निर्वाचित नहुँदा राखेपले मान्यता नदिएर तदर्थ समितिको अध्यक्ष बनाएका रमेश सिलवाल यतिबेला राखेपको सदस्यसचिव छन्। उनी पनि पाण्डे निकट रहेकाले उनीतर्फ ढल्कने सम्भावना बढी छ। तर, चन्द भने सदस्यसचिव तटस्थ बस्ने आशा व्यक्त गर्छन्।

‘मलाई लाग्दैन सदस्यसचिव यताउता कतै ढल्किनु हुन्छ,’ उनी भन्छन्, ‘उहाँ सवैको अभिभावक हो। जित्नुअघि र जितेपछि पनि सदस्यसचिवले कुनै पूर्वाग्राही र राजनैतिक आँखाले हेर्नुहुन्न भन्नेमा विश्वस्त छु।’

प्रतिबद्धता
क्यानमा निर्वाचित हुने जो सुकैले पनि थुप्रै कामहरु गर्नुपर्नेछ। घरेलु क्रिकेटलाई ब्युझ्याउनु छ, भौतिक संरचनाको काम तीव्र ढंगमा अघि बढाउँनु छ।

‘थुप्रै चुनौतीहरु छन्। राष्ट्रिय प्रतियोगिताहरु हुन सकेका छैनन्। जिल्लाहरु लथालिंग छन्,’ उनले प्रतिबद्धता जनाए, ‘पहिले ग्रास रुट क्रिकेटलाई, घरेलु क्रिकेटलाई तुरुन्तै कसरी अघि बढाउने भन्ने संयन्त्र विकास गर्छौ। वर्षको ३–४ वटा प्रतियोगिताहरु गर्छौ। अनि सरकारले गरिराखेको प्रधानमन्त्री कप लगायतका प्रतियोगिताहरुलाई क्रिकेट संघ मातहत ल्याई स्तरीकरण गर्छौ।’

प्रस्तुत छ, आगामी असोज १० र ११ गते काठमाडौंमा हुने नेपाल क्रिकेट संघ(क्यान)को केन्द्रीय अध्यक्षका प्रत्यासी चतुरबहादुर चन्दसँग उनको प्रतिबद्धताहरुबारेे गरिएको कुराकानी-

चुनावी माहौलले कति तताएको छ?
अरु संघसंस्था जस्तो तातेको छैन्। स्वयंसेवी काम गर्ने संस्था हो। यसमा स्वय‌ंसेवी भएर काम गर्छौ, नेपाल क्रिकेट अघि बढाउँछौं भन्ने साथीहरुले इच्छा आकांक्षा राख्नुभएको छ। तछाडमछाड छ जस्तो लाग्दैन्। अहिलेसम्म आउँदा शान्तिपूर्ण रुपमा सबै ठाउँमा सर्वसम्मत रुपमा क्रिकेटको नेतृत्व चयन भइरहेको छ। जसले आकांक्षा राखे पनि अन्त्यमा एक भएर जानुपर्छ भन्ने मेरो धारणा हो।

केन्द्रीय नेतृत्व सर्वसम्मत हुने सम्भावना त एकदमै न्यून देखियो हैन्?
हुनुपर्छ। सबैले क्रिकेटमा कसले के गरिरहेको छ भन्ने हेरिरहेका छन्। नयाँ र पूरानोको पनि कुरा हुन्छ। काम गरिसकेका साथीहरुले पटक पटक दोहोरिने कि, काम गर्न नपाएकोलाई एकपटक काम गर्ने मौका दिने, बिल्कुलै नयाँ साथीहरु मौका दिने कि? भन्ने मनसाय प्रतिनिधि साथीहरुले बनाइ सक्नुभएको छ। राजनीति या अन्य कुनै बाह्य प्रभावले अब त्यो मनस्थिति बदलिन्छ जस्तो लाग्दैन। सहमति नभएपनि निर्वाचन प्रक्रियाबाट भएपनि कसैले इगो राख्ने, परािजत भइहाले भने पनि केही भएन, जितेँ  भनेपनि संसार पाए भन्ने केही हैन्। काम गर्नका लागि मलाई थप चारवर्ष एक किसिमले बाटो दिन्छन् भन्ने लागेको छ। मैले यसलाई इगो र इस्युका रुपमा लिएको छैन।

चार वर्षअघि साधारण सभाबाट चुनिए पनि काम गर्ने अवसर बनेन्, अब फेरि जित्छु र ती मान्छेलाई देखाउँछु भन्ने इगो छैन् तपाईमा?
इगो छ। पद नै पाउँनुपर्छ भन्ने इगो त हैन् तर जिम्मेवारी दिनुभयो भने काम गर्ने इगो चाहिँ छ है। साथीहरुले विश्वास गर्नुभयो भने काम गर्ने भित्री इच्छा छ। त्यो काम के हो भने क्रिकेटको राम्राका लागि मात्रै हो। क्रिकेटलाई कसरी व्यवस्थित रुपमा अघि लैजाने, कसरी निकास दिनेमात्रै हो। कामका नाममा जथाभावी गरेर क्रिकेटलाई तल पार्ने काम मेरो हातबाट हुन्न।

फेरि एकपटक नेतृत्वमा पुग्ने आकांक्षा तपाईमा अलि बढी नै देखियो?
मेरो सबै प्रतिनिधिहरुसँग भेटघाट भइरहेको छ। सबैले तपाईमाथि अन्याय भएको हो। जानीजानी अन्याय भएको हो। त्यसकारण तपाईलाई न्याय दिनुपर्छ। जिम्मेवारी पाएर पनि तपाईंंले काम गर्न पाउनु भएन भनेर त्यसपछि मूल्यांकनको पाटो हो भन्नुभएको छ। सबै सकरात्मक छन्। भित्री मनबाट उहाँलाई काम गर्न दिनुपर्छ भनेपछि अंक गणितीय पनि ठिकै होला। मेरो भनाई के हो भने मैले पूरानो नयाँ सबैको साथ पाउनुपर्छ। मलाई लाग्छ मेरो नेचुरल दाबेदारी हो। सबैले मूल्यांकन गरेका होलान्। त्यसैले म सबैलाई काम गर्ने वातावरण बनाइदिन सबैसँग आग्रह गर्दैछु।

प्यानलमा आंकाक्षीहरुलाई मिलाउन हम्मेहम्मे परेको होला त?
प्रतिस्पर्धा हुने भएपछि प्यानल त स्वभाविक रुपमा बनिहाल्छ। त्यसमा प्यानलको आपत्ति मान्नुपर्छ जस्तो मलाई लाग्दैन। मसँग महासचिवको आकांक्षी धेरै छैनन्। स्वभाविक रुपमा महासचिवमा दाबेदारी अशोक प्याकुरेलजी कै हो। उहाँले पनि पछिल्ला चार वर्षमा ट्रयाकभन्दा बाहिर गईसकेको क्रिकेटलाई ट्रयाकमा ल्याउन लड्नुभिड्नु भाछ। अन्य पनि मिलाइरहेका छौं। अझै पनि मिलाउन सक्ने ठाँउहरु छ।

तपाईंलाई नै मान्यता नदिएर सरकारले जसलाई (रमेश सिलवाल) क्यानको तदर्थ समितिको अध्यक्ष बनाएकाे थियाे। तिनै व्यक्ति अहिले राखेपको सदस्यसचिव छन्। सदस्यसचिव अर्कातिर ढल्किए भने तपाईंलाई गाह्रो होला नि?
गाह्रो पर्दैन। सदस्य सचिव त्यसबेलाको सरकारले बनाएको अध्यक्ष हो। म निर्वाचित अध्यक्ष हो। त्यही घटनाका कारण कथा यहाँसम्म आइपुग्यो। सदस्यसचिवले इगो राख्नुभएको छ भन्ने लाग्दैन। क्यानको निलम्बन फुकुवा उहाँकै पालामा भयो, नेपाली क्रिकेटले जति उचाई लियो भने इज्जत त सदस्य सचिवकै बढ्ने हो नि। संघका अध्यक्ष, महासचिव लगायत काम गर्ने बडीका रुपमा हुँला। तर, नेपाली क्रिकेटले हासिल गरेको एचिभमेन्टमा खेलकुदकै अभिभावक भएकाले उहाँको पनि इज्जत जोडिएको हुन्छ। त्यसकारण मलाई लाग्दैन कि सदस्यसचिव यताउता कतै ढल्किनुहोला। उहाँले पनि क्रिकेटको पछिल्लो अवस्थालाई बुझ्नुभएको छ। सबै क्रिकेटमा काम गर्नसक्ने क्षमता भएका र क्रिकेटमा काम गर्नेहरुको मूल्यांकन गरिराख्नुभएको छ। उहाँ हाम्रो अभिभावक पनि हो। जित्नुअघि र जितेपछि पनि सदस्यसचिवले कुनै पूर्वाग्राही, राजनैतिक आँखाले हेर्नुहुन्न भन्नेमा विश्वस्त छु।

किन त उहाँले ३ र ४ गते विधानसम्मत चुनाव घोषणा भए पनि नगर्न निर्देशन दिनुभयो?
त्यो चाहिँ बुझाइमा फरक पर्‍यो। त्यसको दोषी भनेको खेलकुद परिषद्ले स्वतन्त्र समूहमा पठाएको प्रतिनिधि हो। उहाँले समन्वय(राखेपसँग) नगरिकन मिति घोषणा गर्नुभयो।समन्वयन नगरेपछि खेलकुदको कार्यकारी सदस्यसचिवलाई आफ्नो मातहतको संघको चुनाव भइरहेको जानकारी नै छैन, पत्रिकाबाट थाहा पाउनुपर्ने भन्ने लाग्यो। कमसेकम स्वतन्त्र समूहमा रहेका खेलकुद परिषद्का सदस्यले सदस्यसचिवलाई जानकारी गराएको भए यस्तो कुनै विवाद आउने थिएन। उहाँले पत्रपत्रिकाबाट थाहा पाएपछि आइसीसीका प्रतिनिधिलाई बोलाएर छलफल गरि नयाँ मिति घोषणा गर्नुभएको छ।

तपाई‌ं क्यानको केन्द्रीय अध्यक्षको प्रत्यासी तर तपाई‌ंकै जिल्लामा २०६३ सालदेखि नै बन्न सुरु भएको दशरथ चन्द रंगशालाको अवस्था अलपत्र छ। अब तपाई‌ंबाट देशकै क्रिकेट संरचनाले गति लिन सक्लान् भनेर कसरी अपेक्षा राख्नु?
लोकतन्त्र आएपछि २०६३ सालमा तत्कालिन जिल्ला विकास समितिले क्षेत्रीय प्रतियोगिता आयोजना गर्नसम्मको मैदान बनायो। त्यसपछि त्यसलाई स्टेडियम बनाउने काम अघि बढेको थियो। १५ लाखमा डीपीआर तयार गरेर पहिलो चरणमा टेन्डर पनि भयो। टेन्डर भएपछि दोस्रो चरणमा सरकारले पैसा हालेन। त्यसमा पनि राजनीति छ जस्तो लागेको छ। त्यसलाई ठूलो रुपमा मैले लिएको छैन्। सरकारले पहिलो चरणको डेढ करोडको ठेक्का गरिसकेँपछि किन पैसा रोक्यो? पटक पटक पहल गर्दा खेलकुद परिषद्को नेतृत्व पूर्वाग्राही आयो कि भन्ने लाग्थ्यो। योसँग विवाद भयो, यसको जिल्लाको क्रिकेट मैदान रोकिदिउँ भन्नु चाहिँ दुर्भाग्य हो।

तपाईं ‌नेतृत्वमा आउनुभयो भने त्यो मैदानले गति लिन्छ होला?
आए पनि नआएपनि मैदानले गति पाउनुपर्छ। यसअघिका मन्त्री, सदस्यसचिवसँग मैले पटक पटक बजेट नरोकिदिनुस भनेर हार गुहार गरेको हो। उहाँहरुले रोक्दैनौं पनि भन्नुभएकाे हाे। तर, बजेटमा भने पैसा आएन। पैसाबिना काम हुँदैन। पछिल्लो समय दशरथ चन्द नगरपालिकाले रंगशालाले खेल्न योग्य बनाउँदैछ। खेल्न योग्य भएरमात्रै हुँदैन। रंगशाला बनाउने हो। म अब सदस्यसचिवसँग पहल गर्छु। खेलको विकास गर्न आउनुभयो भने राजनैतिक आँखाले हेरेर विकास निर्माण उहाँले रोक्नुहुन्न।

क्यान निलम्बनमा देशमा क्रिकेट गतिविधि भइरहेकै थियो? तर, तपाईंहरुबाट भने केही गतिविधि भएको देखिएन नि किन?
चार वर्ष क्यानलाई कसरी सही बाटोमा ल्याउने ट्रयाकमा ल्याउने भनेर ४०–४५ पटक मिटिङ राख्यौँ। आईसीसीमा लविङ गर्यौ। एसीसीको बैठकमा गयौं। विधान बनाउन सहभागी भयौं। जुन बेला पनि फेरि निर्वाचनका लागि तयार छौं भनेर छलफल गरौं। क्रिकेट प्रतियोगितै गराउन भने न हामीलाई अन्तर्राष्ट्रिय रुपमा अधिकार थियो, न पत्याउँने माध्यम थियो। जिल्ला जिल्लाका साथीहरुलाई भने हामीले निरन्तर रुपमा प्रतियोगिता गरिराख्नुहाेस् भनेर भनेका थियौं।

चार वर्षसम्म क्यानको निलम्बन फुकुवाको प्रक्रिया किन लम्बियो?
थाहा छैन्, लम्ब्याउने खेल हो या आफैँ लम्बियो। हुबहु विधान पारित(२०७६ बैशाख) भएको एकमहिना मै निलम्वन फुकुवा हुन्छ भन्थे। स्वतन्त्र समूह बन्न नै ८–९ महिना लाग्यो। हामीले रोक्या हैन। हामीले त्यही दिन हाम्रो तर्फबाट प्रतिनिधि फलानो हो भनेर तोकेका थियौं। समूह किन बनेन भन्दा खेलकुद परिषद्ले प्रतिनिधि दिएन भन्छन्। त्यसपछि पूरानो निर्वाचनको कानूनी प्रक्रिया हेर्दा, नयाँ निर्वाचन गराउँदा झण्डै चार वर्ष बित्न लागिसक्यो।

तपाई‌ंंहरुले पनि त्यसअघि सल्लाहकार समितिमा प्रतिनिधि नपठाएर, विधान संशोधन गरेर समय लम्ब्यानुभएको हो नि।
सल्लाहकार समितिमा चाहिने नचाहिने कुरा गरेर, निर्वाचित क्यानको मानमर्दन हुने गरेर कहिले दुई जना, एकजना भनेपछि हामी बसेनौं। हाम्रा केही शर्त थिए। हामी विधानमा टेकेर आएका हौं। उनीहरुले नेपाल क्रिकेट संघ भन्ने संस्था खारेज भयो। नेपाल क्रिकेट बोर्डको विधान भन्ने टाउँकोमा लेखेर नयाँ संस्था जन्माएर अगाडि बढ्न खोजेका थिए। त्यसमा हाम्रो विमति थियो। हामीले नेपाल क्रिकेट संघको विवाद २०५५ को कतिऔं संशोधन हो यो? संशोधन हो भने आउँछौं नयाँ विधान हो भने आउँनौं भनेर भनेका थियौं।

यसपाली यदि तपाईले नेतृत्व पाउनुभयो भने तपाईको प्राथमिकता के के हुन?
साथीहरुले अवसर दिनुभयो भने त्यही दिनदेखि क्यानको निलम्वन फुकुवा कसरी गर्ने भन्नेमा केन्द्रित हुन्छौं। त्यसपछि थुप्रै चुनौतीहरु छन्। राष्ट्रिय प्रतियोगिताहरु हुन सकेका छैनन्। जिल्लाहरु लथालिंग छन्। पहिले ग्रास रुट क्रिकेटलाई, घरेलु क्रिकेटलाई तुरुन्तै कसरी अघि बढाउने भन्ने संयन्त्र विकास गर्छौ। वर्षको ३–४ वटा प्रतियोगिताहरु गर्छौ। अनि सरकारले गरिराखेको प्रधानमन्त्री कप लगायतका प्रतियोगिताहरु त्यसलाई क्रिकेट संघ मातहत ल्याई स्तरीकरण गर्छौ। पीएम कप भनेर सरकारले लगानी त धेरै गरेको छ नि। त्यो लिगलाई नेपालको नमूना लिग बनाउँछौं।

नेपालले पाएको चार वर्षको ओडीआई स्टाटस एकवर्ष गैसक्यो। त्यसमा हामीले नेपाललाई अधिकतम् वानडे खेल्ने अवसर जुटाउने प्रयास गर्नेछौं। टोलीको स्तर सुधार गर्दै अर्को चार वर्षका लागि वानडे स्टाट्स पाऔं भनेर भौतिक संरचनामा सुधार गर्नेछौं। पहिले रोकिएको दुई दिवसीय प्रतियोगिताहरु सञ्चालनका लागि पनि अध्ययन गर्नेछौं। काठमाडौं बाहिर क्रिकेटलाई चाहिँ अझै विकास लग्दै जानेछौं।

खेलाडीहरुको केन्द्रीय सम्झौता यसअघि पनि हामीले सुरु गरेका थियौं। त्यसलाई व्यवस्थित पार्नेछौं। नेपाल ए वा नेपाल राइनोज नामको दोस्रो टिम पनि बनाउँनेछौं। जो नेपालको बैकल्पिक टिम हो। बेन्च बलियो होस्।

क्यान आएपछि नेपाल प्रिमियर लिग पनि हुन्छ होला नि?
हामीले क्यानको लोगोसहितको नेपाल प्रिमियर लिग या क्रिकेट लिगमध्ये एउटा गर्छौ। त्यो देशकै सबैभन्दा उत्कृष्ट, स्तरीय लिग हुनेछ। त्यसबाट खेलाडीहरुले राम्रो अवसर पाउनेछन्। त्यो सोचलाई साकार गर्न आवश्यक पर्ने पूर्वाधारहरु निर्माण गरि सबैको सरसल्लाह अनुसार गर्छौ भन्ने हो। क्यान फुकुवा हुनुभन्दा त्यो सुरु गर्ने बारे त छलफल भैसकेको हुन्छ। क्यान चाँडै फुकुवा भयो भने २०७६ मै त्यो लिग गर्छौ। हामीसँग जनशक्ति छ। प्राविधिकहरु छन्। क्षमता छ। भिजन भएका साथीहरु छन्, त्यसैले आयोजना गर्न समस्या हुँदैन।

निजी क्षेत्रले अहिले देशभरि लिगहरु गरिरहेका छन्। तिनीहरुलाई व्यवस्थित गर्ने तपाईसँग के योजना छ?
अहिले लिग त भइरहेको छ। उनीहरुको बैधता, कानुनी रुपमा के छ थाहा छैन्। कानुन बमोजिम, पारदर्शी छ भने हामीलाई त्यसमा कुनै आपत्ती छैन्। राम्रो छ भने त्यसलाई निरन्तरता दिन्छौं। प्रक्रिया उहाँहरुले पूरा गर्नुपर्छ। को को जोडिएका छन्? कसको स्वार्थ के छ त्यसबारे अध्ययन गर्छौ। आईसीसी, एसीसीको क्यालेन्डरलाई फलो गर्दै क्यानले फ्रेन्चाइजी लिगलाई क्यालेन्डरभित्रै पार्छ।

यसअघि क्यानमा आर्थिक पारदर्शितामा पनि समस्या देखिदैँ आएको थियो। तपाई‌ आउनुभयो भने कति पारदर्शी हुन्छ?

आर्थिक पारदर्शिता हुन्छ। मेरो सोचाइमा त्रैमासिक रुपमा हामी मिडिया या सम्बन्धित निकायमा आयव्ययको हिसाब सार्वजनिक गर्छौ। सीईयो र फाइमान्स कर्मचारी नियुक्त गर्नु त अनिवार्य अंग नै भैसक्यो।

चार वर्ष नेतृत्व पाउनुभयो भने तपाई‌ले छाड्दा नेपाली क्रिकेट कहाँ हुन्छ?
हामी वान डे स्टाट्सलाई कायम राख्छौं, टेस्ट मान्यताका लागि आधार खडा गर्छौ। हाम्रा लागि विश्वकप सहभागिता भनेको जित्नु बराबर हो। त्यसका लागि हदैँसम्मका प्रयासहरु गर्छौ। खेलाडीहरुको स्तर सुधार, राम्रो राम्रो टिमसँग म्याच एक्सोजर, उच्च प्रशिक्षण दिने, खेलाडीको जीवकोपार्जन सम्झौता गर्ने लगायतका सम्पूर्ण काम गर्छौै।

नेपालको पुरुषभन्दा महिला क्रिकेटको सम्भावना विश्वकप खेल्ने बढी देखिन्छ। देशमा महिला क्रिकेटको सुरुवात गर्ने सुरुका तीन जिल्लामध्ये एक मेराे  जिल्ला शाे। महिला क्रिकेट हेर्ने अब छुट्टै निकाय हुन्छ। उनीहरुले महिला क्रिकेटको कसरी अघि बढाउने भन्ने काम अघि बढाउँछन्।

एक समय राजनीतिले नेपाली क्रिकेट थला परेको थियो। पुनः तपाई राजनैतिक पृष्ठभूमिको मान्छे नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। तपा‍ईंले जित्दा फेरि राजनीतिले क्यान थला पर्ने त होला नि?
अब कुनै पनि राजनैतिक हस्तक्षेप हुँदैन। मेरो पार्टीको प्रभाव पनि क्रिकेटमा रहनुहन्न। क्रिकेटमा हुँदा म सबै पार्टीको साझाका रुपमा गैर राजनीति, विशुद्ध क्रिकेटको मान्छे भएर काम गर्नेछु। खेलकुदका मान्छेहरु राजनीति दलसँग जोडिन्छन् तर खेलकुदमा राजनीति पो गर्नुभएन। मेरा दलका व्यक्तिहरुको पनि इच्छा आकांक्षा होला तर म दबाब थेग्ने मान्छे हो। खेलकुदमा राजनीति मबाट हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .