अर्जेन्टिना कोपा अमेरिकाको लिग चरणको पहिलो खेलमा पराजित भयो। आइतबार बिहान सम्पन्न समूह बीको पहिलो खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २–० ले स्तब्ध पारेको हो।
यस खेल अगाडि दुवै टोलीका स्टार खेलाडीको चर्चा भएको थियो। समाचारहरु पनि स्टार खेलाडीको नाममै बनाइयो।
अर्जेन्टिनामा लियोनल मेस्सी, एन्गल डि मारिया, ड्याबेला, सर्जियो अग्वेरोजस्ता विश्व प्रसिद्ध खेलाडी छन् भने कोलम्बियामा हामेस रोड्रिग्वेज, यारी मिनाजस्ता स्टार खेलाडी समावेश छन्।
तर जब खेल सम्पन्न भयो। स्टार खेलाडी चर्चा गरिएन। वैकल्पिक खेलाडीको नाममा समाचार बनाइयो। कारण दुवै टोलीका स्टार खेलाडीले गोल गर्न सकेनन्।
अर्जेन्टिनाले कुनै गोल गर्न नसकेको खेलमा कोलम्बियाका लागि दुवै गोल वैकल्पिक खेलाडीले गरेका थिए।
खेलमा कोलम्बियालाई सुरुवाती अग्रता दिलाउने रोज मार्टिनेज खेलको १४ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
लुइस मुरिएल घाइते भएपछि मार्टिनेज मैदान प्रवेश गरेका थिए। मार्टिनेजले खेलको ७१ औं मिनेटमा हामेस रोड्रिग्वेजको पासमा गोल गरेका थिए।
त्यसैगरी खेलको ८६ औं मिनेटमा कोलम्बियाका लागि डुभान जुपाटाले गोल गरेका थिए। उनी पनि कोलम्बियाका वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। खेलको ८१ औं मिनेटमा राडामेल फाल्काओको स्थानमा उनी मैदान प्रवेश गरेका थिए। एजेन्सी
Shares
प्रतिक्रिया