प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा रंगशालाको निरीक्षण गरेका छन्।
नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले रगंशालाको निरीक्षण गरेका हुन्।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना स्थल गण्डकी प्रदेशमा प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्रका निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित क्रिकेट मैदान, भलिबल कोर्ट, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, आर्चरी, टेनिस कोर्टलगायतका पूर्वाधारको निरीक्षण गरे।
सो अवसरमा प्रधानमन्त्री ओलीले भने, ‘नवौँ राष्ट्रिय खेलकुदका लागि सुटिङ, स्विमिङपुल, रगंशालाको फ्लडलाइटलगायतका पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्छु।’
नवौँ राष्ट्रिय खेलकुदका लागि अत्यावश्यक स्विमिङ र सुटिङका पूर्वाधार निर्माणका काम अहिलेसम्म सुरु हुनसकेको छैन।
प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ लगायतले रगंशालाको अवलोकन गरे।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गत फागुनमा सम्पन्न भइसक्नुपर्नेमा कोरोना महामारीको कारण अनिश्चित समयका लागि स्थगित भएको छ।
प्रतिक्रिया