ad ad

खेल


यी हुन् अघिल्लो वर्षका चर्चित ५ खेलाडी, कस्तो प्रदर्शन?

यी हुन् अघिल्लो वर्षका चर्चित ५ खेलाडी, कस्तो प्रदर्शन?

नेपालखबर
जेठ १९, २०७६ आइतबार ९:५०,

नेपाल खेलकुद पत्रकार मञ्चले वर्ष २०७५ का चर्चित ५ खेलाडीलाई समेटेर आगामी असार १७ गते प्रदान गरिने पल्सर स्पोर्टस अवार्डको एक विधा पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ।

अघिल्लो वर्ष आफ्नो प्रदर्शनका आधारमा चर्चामा रहिरहने क्रिकेटका सन्दीप लामिछाने, फुटबलका सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, भलिबलका रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन उक्त अवार्डको मनोनयनमा परेका हुन्।

‘यो अवार्ड चर्चाका आधारमा दिइन्छ,’ मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले भने, ‘खेलाडीहरु वर्षभरि गरेको प्रदर्शन र त्यसबाट हासिल गरेको चर्चाका आधारमा छनोट समितीको सिफारिसमा सयौं खेलाडीमध्ये यी ५ मनोनयनमा परेका हुन्।’

यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्य सदस्यको मतका आधारमा विजेता छनोट गरिनेछ। एसएमएस र फेसबुक लाइक्सको मतभार ५० प्रतिशत बनाइएको मञ्चले जनाएको छ। चार फेसबुक लाइक्सको मतभार १ एसएमएस बराबर हुनेछ। अवार्ड विजेता खेलाडीले एक थान पल्सर मोटरसाइकल पाउँनेछन्। 

२०६० सालबाट निरन्तर हुँदै आएको अवार्डको यो १६औं संस्करण हो। यस संस्करणमा पिपुल च्वाइससँगै विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ। यसवर्ष वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उत्कृष्ट खेलाडी पुरुष, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इअर अवार्ड प्रदान गरिनेछ।

यस वर्ष इन्रनेशनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड थप गरिएको छ। यो अवार्ड एसियन स्पोर्टस प्रेश युनियनले सिफारिस गरेको एक खेलकुद पत्रकारलाई प्रदान गरिने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र)ले बताए।

विगत वर्ष झै यसवर्ष पनि वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, पिपुल च्वाइस अवार्ड र वर्षको उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार स्वरुप प्रदान गरिनेछ। त्यसबाहेक अन्य विधाका विजेताले जनही ५० हजारसहित गिफ्ट ह्याम्परहरु पाउँनेछन्।

पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा परेका खेलाडीको अघिल्लो वर्ष प्रदर्शन कस्तो?

सन्दीप लामिछाने (क्रिकेट)

–नेपालले खेलेका सबै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका मुख्य पात्र
–नेपालले जितेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध प्रभावशाली प्रदर्शन 
–क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेविस पेट्रियट्सका लागि ७ विकेट लिन सफल 
– विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगहरुमा आधार तयार पार्दै विश्वब्यापी चर्चा बटुल्न सफल 
– आइपिएल, पाकिस्तानी सुपर लिग, अस्ट्रेलियन बिग बास र बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन 
– एकै वर्ष ट्वान्टी–ट्वान्टीमा ५० विकेट लिने विश्वका थोरैमध्येका एक खेलाडी 
–राष्ट्रिय टोलीले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्दाका प्रमुख खेलाडी 
–आईसीसी वल्र्ड ट्वान्टी–ट्वान्टी एसिया रिजन क्वालिफायरमा २४ विकेट लिन सफल 
–नेपालका लागि कुनै पनि क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी ।

प्रिन्स दाहाल (ब्याडमिन्टन)
–दुबई जुनियर इन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक
फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २–० को सेटमा हराउँदै कीर्तिमान 
–उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी 
–प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा स्वर्ण पदक 
–साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक 
–अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत 
–जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य 
–आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण 
–प्रथम दुर्गादेवी अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण 
–१५औं कृष्णमोहन स्मृति राष्ट्रिय प्रतियोगिताको यू–१७ मा स्वर्ण र मेन्स सिंगल्समा रजत

सावित्रा भण्डारी (फुटबल) 
–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन गर्दै वर्षभर चर्चित 
–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान 
–महिला साफ च्याम्प्यिनसिपमा उपविजेतासहित सर्वाधिक गोलकर्ता बन्न सफल 
–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी 
–प्रधानसेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता 
–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो चरण पार)

रेश्मा भण्डारी (भलिबल)
–एपीएफ क्लबले वर्षमा १० उपाधि जित्दा विशेष भूमिका 
–केएनपी राष्ट्रिय भलिबल प्रतियोगितामा विजेता
–एनभीए राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–सभामुख कप राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–लामाचौर तीज राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–आधिअवाधि एभिएल राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा उपविजेता 
–२२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता विजेता
–दोस्रो न्यु डायमन्ड कप महिला भलिबल विजेता
–ढोरपाटन राष्ट्रिय महिला च्याम्पियनसिप विजेता 
– छैटौं आईजीपी कप राष्ट्रिय खुला भलिबलको उपाधि सहित उत्कृष्ट खेलाडी
–केएनपी शेरबहादुर खड्का विशेष अवार्डबाट सम्मानित

महेश्वर महर्जन (शारीरिक सुगठन)
–२०७५ सालमा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्ट्रिय ऐतिहासिक उपाधि दिलाउने खेलाडी 
–थाइल्यान्डको च्याङमाईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपको पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल 
– १५औं राष्ट्रिय धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपमा ओभरअलमा उपविजेता

भोट कसरी दिने?

मनोनयनमा परेका खेलाडीमध्ये विजेताको टुंगो एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ। खेलाडीलाई भोट गर्न नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन्।

सन्दीपलाई भोट गर्न Pulsar SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ। त्यस्तै, रेश्मालाई भोट गर्नका लागि Pulsar RB लेखेर, प्रिन्सका लागि Pulsar PD लेखेर र सावित्राका लागि Pulsar  SB टाइप गरी ३७७२२ मा पठाउन सकिन्छ । यस्तै महेश्वरका लागि   Pulsar  MM टाइप गरी ३७७२२ मा पठाउन सकिनेछ।

भोटिङ आइतबार दिउँसो  १२ बजेदेखि असार १६ गते राति १२ बजेसम्म खुल्ला हुने मञ्चले जनाएको छ। यस्तै मञ्चले आइतबार नै  टीएचटी लाइभसँग भोटिङको सम्झौता नवीकरण समेत गरेको छ।

गतवर्ष टेबुल टेनिसका श्यान्टू श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .