लुम्बिनी लायन्सका अलराउन्डर शेर मल्ल अझै पनि आफ्नो टोलीले ‘कमब्याक’ गर्न सक्ने बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार लुम्बिनीले दोस्रो हार ब्यहोरोको छ। तीन खेलमा एक खेल मात्रै जितेको छ।
काठमाडौँ गोर्खाजसँग २२ रनले पराजित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मल्लले आफ्नो टोली ‘कमब्याक’ गर्ने बताएका हुन्। मल्लले भने, ‘तीन खेल मात्रै त भएको छ। हामी कमब्याक गर्न सक्छौं।’
आजको खेल पनि विकेट जोगाउन नसक्दा हारेको उनको भनाइ छ। ‘राम्रो विकेट थियो, चेज गर्नुपर्ने थियो। छिटो विकेट गुमाउँदा चुक्यौं,’ मल्लले भने, ‘दुई–तीन वटा खराब सटले गर्दा विकेट गुमायौं। हामी विकेट जोगाउन सकेनौं, त्यही भएर हामीलाई गाह्रो भयो।’
अन्तिमतिर पनि आफूले जित्ने सोचेरै सट खेलेको बताए। त्यतिवेला आफूले एउटा ओभरमा तीन–चार छक्का हान्ने सोच बनाएर खेलेको उनको भनाइ थियो। ‘दिलिप नाथलाई मैले भनेको थिए, हामी जिताउन सक्छौं। तर, विकेट नहुँदा चेज हुन सकेन। विकेट हातमा भए म पनि फरक डिसिजन लिन्थे।’
अन्तिम चार ओभरमा ५३ रन आवश्यक थियो। त्यसपछि १६औं ओभरमा उनले तीन छक्का प्रहार गरेका थिए। त्यसपछि तीन ओभरमा २८ रन आवश्यक थियो। उनले १७औं ओभरको पहिलो बलमा दुई रन लिएर स्ट्राइक आफ्नो हातमा राख्न खोज्दा रनआउट भए। त्यसपछि लुम्बिनीले पाँच बल बाँकी छँदै २२ रनले हारेको थियो।
आजको खेलमा उनले १८ बलमा २७ रन बनाएका थिए। त्यस्तै, दुई विकेट पनि लिएका थिए।
आफ्नो टोलीका सबैले विश्वास गरेकाले रमाइरहेको उनले बताए। ‘मलाई त सबैले विश्वास गरेका छन्। मलाई फ्रि छोडेका छन्। म एकदम इन्जोय गरिराखेको छु,’ उनले भने।
यो पनि पढ्नुहोस् : दुई हारपछि काठमाडौँको ‘कमब्याक’, लुम्बिनी फेरि पराजित
Shares

प्रतिक्रिया