इरानसँगको मैत्रीपूर्ण खेलअघि टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफूले दुबै टोलीलाई कमजोर रुपमा नलिएको बताएकी छिन्। खेलअघि कप्तान साम्बाले आफूहरू जितका लागि भारत पुगेकाले नतिजाको लागि नै मैदान उत्रिने बताइन्।
मैत्रीपूर्ण खेलका लागि भारतमा रहेको नेपाली टोलीले भोलि शुक्रबार इरानसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको सिलोङमा हुने खेल साँझ ४ बजेपछि सुरु हुनेछ। 
पहिला देखि नै खेलिरहेको टोली रहेकाले टिम कम्बिनेसनमा खासै समस्या नभएको उनले सुनाइन्। कप्तान साम्बाले भनिन्, ‘नेपाली महिला टोलीको यो अहिलेको राम्रो समय रहेको छ। यू-१९ टोलीका दुई खेलाडीको आगमनले सिंगो राष्ट्रलाई नै सहयोग पुग्ने भएकाले उनीहरुको परिक्षण हुन भने बाँकी छ।
उमेर समुहमा राम्रो खेलेर नै सिनियर टोलीमा आउनुभएको हो, यद्यपि, उहाँहरुको परीक्षण हुन बाँकी छ, आशा गरौँ उनीहरुको डेब्यु राम्रो होस्।
मैत्रीपूर्ण खेलले टोलीको स्तर थाहा हुने भएकाले यस्ता प्रतियोगिता हुनुपर्ने साम्बाको तर्क छ। टोलीमा हिरा कुमारी भुजेल र दिपा शाहीको पुनरागमनले टोली थप बलियो भएको र उनीहरुले राम्रो खेल प्रस्तुत गर्ने साम्बाको विश्वास छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आफूहरू जितका लागि नै मैदान उत्रने बताएका छन्। भारतको सिलोङमा नेपालले भोलि शुक्रबार पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।
खेलअघि टोलीका मुख्य प्रशिक्षक न्यौपानेले भने, ‘नेपालमा ३ साताको परीक्षण गरेर आएका छौँ, विदेशी लिग खेलिरहने टोली फर्किएकाले टोली उच्च मनोबलमा रहेको छ।’
प्रशिक्षक न्यौपानेले थपे, ‘इरान र भारतको खेल हेरेका छौँ। हामी मैत्रीपूर्ण खेल भन्दा पनि उपाधि जित्नका लागि खेल्नेछौँ। इरानविरुद्ध हाम्रो मुख्य लक्ष्य जित्नु नै हो। मैदानमा उत्रिएपछि जितको सुरुवात गर्न चाहान्छौँ।’
इरानको टोली अहिले बलियो छ। पहिला जितेको भन्दा अहिले बलियो छ त्यही रणनिति अनुसार नै खेल्नेछौँ।
नेपालले दोस्रो मैत्रीपूर्ण खेल सोमबार भारतसँग खेल्नेछ।
Shares

प्रतिक्रिया