खेल


चरित्रहत्या गर्न खोजिएको भन्दै सन्दीपको आपत्ति, विराटनगर किंग्सको साथ

चरित्रहत्या गर्न खोजिएको भन्दै सन्दीपको आपत्ति, विराटनगर किंग्सको साथ

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १३:१५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ‘प्याराडाइम टिभी’ नामक युट्युब च्यानलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री बनाइएको भन्दै तीव्र आपत्ति जनाएका छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सन्दीपले लेखेका छन्, ‘तपाईंहरूले आ-आफ्ना खण्डका लागि जसलाई चाहनुहुन्छ, उसैलाई चयन गर्न सक्नुहुन्छ। तर कुनै युट्युब च्यानलको कुर्सीमा बस्दै कसैको जीवनमाथि व्यंग्य गर्नु वा मजाक गर्नु- लाजमर्दो हो तिमीहरू जस्ता तथाकथित ‘इन्फ्लुएन्सर’हरूलाई।’

उनका अनुसार प्याराडाइम टिभीले तयार गरेको सामग्री पूर्ण रूपमा षड्यन्त्रपूर्ण छ र जानाजानी आफ्नो व्यक्तिगत जीवन, मर्यादा र गोपनीयतालाई क्षति पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। उनले लेखेका छन्, ‘यो च्यानलले पूर्वनियोजित ढंगले मेरो चरित्र हत्या गर्ने अभियान सञ्चालन गरेको छ, जसले मेरो मानसिक शान्ति र प्रतिष्ठामाथि आघात पुर्‍याएको छ। म यसलाई गम्भीररूपमा आपत्तिजनक कार्यका रूपमा लिन्छु।’

सन्दीपले अझ लेखेका छन्, ‘दुर्भावनायुक्त नियतसहित गरिएको यस्तो कदमको उद्देश्य मेरो निर्दोष जीवन र खेलकुद करिअरको दुरुपयोग गर्दै तपाईंहरूको च्यानललाई व्यावसायिक रूपमा लाभ कमाउने हो। फेरि कहिल्यै आफ्नो सीमा ननाघ्नू।’

यसैबीच, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम विराटनगर किंग्सले पनि सन्दीपको समर्थन गरेको छ। कप्तान समेत रहेका सन्दीपको पक्षमा टिमले भनेको छ, ‘सन्दीप केवल नेपाली क्रिकेटको एउटा नाम मात्र होइन- उनी मेहनत, धैर्य र अद्वितीय प्रतिभाको प्रतीक हुन्, जसले एक पुस्तालाई नै प्रेरित गरेका छन्।’

किंग्सले थप भनेको छ, ‘कसैको व्यक्तिगत संघर्षलाई मनोरञ्जनका लागि व्यंग्य गर्नु वा सनसनी बनाउनु अत्यन्तै दुःखद र खेलभावनाको मर्मविपरीत कार्य हो। हामी टोलीका रूपमा सन्दीपसँग उभिएका छौं- केवल मैदानमा उनले हासिल गरेका उपलब्धिका कारण होइन, तर मैदानबाहिर पनि उनी जसरी दृढ, संयमी र आफ्नो प्रिय खेलप्रति समर्पित छन् त्यसका कारण पनि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad