विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ‘पूर्वेली राजा’ नामक आफ्नो नयाँ मस्कट अर्ना सार्वजनिक गरेको छ।
यो मस्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने टिम निर्देशक दीपेन्द्र चौधरी बताउँछन्।
हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोसी क्षेत्रको रैथाने प्रजाति हो। यो जनावरलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ। विराटनगर किङ्सले अर्नालाई मस्कटको रुपमा चयन गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान व्यक्त गरेको छ भने यस दुर्लभ जनावरको संरक्षणका लागि जनचेतना फैलाउने सन्देश पनि दिएको छ।
यसको उपस्थितिले प्रशंसकहरूलाई शक्ति, सौन्दर्य र दृढ संकल्पको सम्झना गराउनेछ, जुन अर्ना र टिम दुवैका समान गुणहरु हुन्।
‘पूर्वेली राजा नामले कोसी प्रदेशमा विराटनगरको गौरव र यसले गर्ने नेतृत्वको प्रतिनिधित्व गर्छ र यसले टिमलाई ‘पूर्वको राजा’ का रुपमा समेत चित्रित गर्दछ। यो मस्कट क्रिकेट मैदान भन्दा बाहिर पनि एकता, साहस र जिम्मेवारीको प्रतीकको रुपमा रहने छ जसले शक्ति केवल जितमा होइन, हाम्रा अमूल्य सम्पदाहरु जोगाउने क्षमतामा पनि हुन्छ भन्ने देखाउँछ’ विराटनगर किङ्सले भनेको छ।
पूर्वेली राजा मार्फत विराटनगर किङ्सले आफ्ना समर्थकहरूमा आफ्नो ठाउँ र प्रकृतिसँगको गर्व, अपनत्व र सम्बन्ध जगाउने लक्ष्य राखेको जनाएको छ।
Shares

प्रतिक्रिया