खेल


क्षितिज बने फ्रिस्टाइल चेस च्याम्पियन

क्षितिज बने फ्रिस्टाइल चेस च्याम्पियन

नेपालखबर
चैत १, २०८१ शुक्रबार २०:५०, काठमाडौँ

नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन्। उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार पराजित गर्दै उपाधि जितेका हुन्।

‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितिजले सुरुआती दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पार्दै सफलता हात पारेका हुन्। उनले सेमिफाइनलमा पुनम प्रसाइँलाई पराजित गरेका थिए भने मिलनले सुजन काफ्लेलाई हराएर उपाधि होडको यात्रा तय गरेका थिए।

पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमै पहिलोपल्ट आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ। यसमा उपाधि विजेता क्षितीजले २५ हजार, उपविजेता मिलनले ९ हजार ६ सय, सेमिफाइनलमा रोकिएका पुनम र सुजनले समान ६ हजार ४ सय रुपिया प्राप्त गरे।

हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा आयोजित कुल १ लाख २५ हजार रुपिया पुरस्कारको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जिते। स्वीस प्रणालीको आधारमा नौ राउन्ड सञ्चालित ब्लिज कपमा अपराजित रहँदै ७।५ अंक जोडेर राजनले पहिलो स्थान हात पारेका हुन्।

सात जित, एक हार र एक बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले ७।५ अंक बनाएका थिए। तर, उनलाई टाइब्रेकरको आधारमा उछिन्दै राजन च्याम्पियन भएका हुन्। सात जित र दुई हारको नतिजासहित ७ अंक बनाएका अभिक शाह तेस्रोमा रहे। राजनले १५ हजार, मुहानले ७ हजार ५ सय र अभिकले ६ हजार रुपिया हात पारे।

१६ स्पर्धासमावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जितिन्। गर्ल्सतर्फ यू ८ मा रुबेश्री चौलागाइँ, यू १२ मा निहाना श्रेष्ठ, यू १४ मा नायुमा मगर र यू १६ मा प्रज्ञा पन्त प्रथम भए। ब्वाइजतर्फ यू ८ मा शुभांग प्रधान, यू १० मा अभियान राई, यू १२ मा दीपन मैनाली, यू १४ मा प्रवीर केसी र यू १६ मा अनमोल राई पहिलो स्थानमा रहे।

त्यस्तै, फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिए। प्रतियोगितामा ५० खेलाडी सहभागि थिए।

सात्विक वर्षका सर्वोत्कृष्ट खेलाडी
हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ, जवसमा सात्विकमान तुलाधरले प्लेयर अफ दि इयर २०२४ अवार्ड जितेका छन्।

प्रेमविक्रम अधिकारी दुई विधामा अवार्ड जित्ने एक्लो खेलाडी बने। उनले फेयर प्ले र अनलाइन एरिना अवार्डमा सफलता हात पारेका हुन्। नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते। एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट नगदसहित सम्मान गर्यो।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, पहिलो राष्ट्रिय चेस च्याम्पियन विकासमान लामा, एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ, करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, फुटबल लिजेन्ड हरि खड्का, पेमा डोल्मा लामा, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, काठमाडौं महानगरपालिका वडा नं।११ का अध्यक्ष हिरालाल तण्डुकर, एकडेमीकी संस्थापक एवम् नेपाल बुद्धिचाल मासंघकी उपमहासचिव मोनालिशा खम्बूले पुरस्कार तथा अवार्ड वितरण गरेका थिए।

एक वर्षमा ७ प्रतियोगिता
२०८० साल चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेमेडीले यो एक वर्षभित्र सात प्रतियोगिता आयोजना गरेको छ। उसले एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओपछि हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप र हिमालयन ब्लिज कप सफलतापूर्वक आयोजना गरेको हो।

बौद्धिक खेलको रुपमा परिचित चेसलाई नेपालमा प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौँ महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हलमा नियमित ट्रेनिङ दिइरहेको छ।

एकेडेमीले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ। भर्च्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ। प्रत्येक वुधबार महिलालाई निशुल्क प्रशिक्षण दिइरहेको छ। स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad