सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की बिना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन्।
मुकेश पुरुष तथा बिना महिलातर्फ पहिलो भए। पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौँ विश्वविद्यालयका विकासकुमार शाह दोस्रो तथा ११.८४ सेकेन्ड समयमा टीयूका प्रकाश जोशी तेस्रो भए।
बिनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन्। टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोस्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेस्रो बने।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण जिते। उनले ६.७० मिटर जम्प गरे। सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोस्रो तथा टीयूका दिवस रेग्मी (५.५३ मिटर) तेस्रो भए ।
गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयूका सुशीलकुमार बानियाँ पहिलो भए। उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे। टीयूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोस्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेस्रो स्थानमा रहे।
सो स्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन्। टीयूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे ।
एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र टीयूले समान २–२ स्वर्ण जितेका छन्। मधेस प्रदेशले १ स्वर्ण जितेको छ। १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ।
टेबलटेनिसमा टीयूलाई दुई स्वर्ण
पोखरामा जारी दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुव विश्वविद्यालयलाई दुई स्वर्ण प्राप्त गरेको छ । महिला तथा पुरुष डबलस्मा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका हुन्।
महिला डबल्समा सिक्का सुवाल र दिया देउलाको टिमले काठमाडौँकी सुजाता पौडेल, स्वस्थी प्रधानको जोडीलाई पराजित गरेको हो। यस्तै पुरुष डबल्समा सिर्दाथ तामाङ र राजोज मान थाकुको टीमले गण्डकीको गनन्जय दाहाल र अनुष कुँवरको टिमलाई पराजित गरेको हो । यस्तै महिलामा पोखरा र गण्डकी तथा पुरुषमा काठमाण्डौ र पुर्वान्चल विश्व विद्यालय तृतीय भए।
Shares

प्रतिक्रिया