आईसीसी यू–१९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।
समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदा नेपाल जितिबिहिन बनेको हो।
समूह डी मा रहेको नेपाल तीनै खेलमा पराजित भयो। मलेसियामा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १४० रनको दिएको थियो।
नेपालले ८ विकेट गुमाएर मात्रै ५६ रन बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओपनर साना प्रवीनले ८ रन बनाउँदा सावित्री धामी ७ रनमा आउट भइन्। ज्योत्स्निका मरासिनी र कृष्मा गुरुङले खाता नै खोल्न सकेनन्। मरासिनी ९ बल र गुरुङले २ बलको सामना गरे।
रचना चौधरी शून्य र रिया शर्मा १ रनमा नटआउट रहे। अष्ट्रेलियाका हसरत गिल, जुलिएट मोर्टन, लिली वासिङ्ट्वेले समान २ विकेट लिँदा क्लो आइन्सवर्थले एक विकेट लिइन्।
त्यसअघि खराब सुरुवात गरेको अष्ट्रेलियालाई मध्यक्रमका ब्याटरले सम्हाल्दा उच्च स्कोर बनेको थियो। काउइमे ब्रिले ४५ रन बनाउँदा इलेनोर लारोसाले ३१ रनको योगदान गरिन्। हसरत गिलले ३० तथा क्लो आइन्सवर्थले नटआउट १६ रन बनाइन्।
नेपालका लागि कप्तान पूजा महतोले तीन तथा सीमाना केसीले २ विकेट लिइन्। रिया शर्माले एक विकेट लिइन्।
नेपाल यसअघि पहिलो खेलमा बंगलादेशसँग र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो। हरेक समूहबाट शीर्ष तीन टोली सुपर-६ मा पुग्नेछन्। सुपर-६ बाट दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूह डी बाट नेपालबाहेकका टोली सुपर-६ मा पुगेका छन्।
Shares

प्रतिक्रिया