खेल


महँगो पारिश्रमिक लिएका ‘गब्बर’ले नेपाली क्रिकेटलाई के दिएर गए?

महँगो पारिश्रमिक लिएका ‘गब्बर’ले नेपाली क्रिकेटलाई के दिएर गए?

अनिल यादव
मंसिर २४, २०८१ सोमबार २०:१७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौँ आएका भारतीय क्रिकेटका ‘गब्बर’ शिखर धवन आइतबार भारत फर्कंदै थिए। सगरमाथा बेसक्याम्पबाट फर्किएपछि उनको टिम कर्णाली याक्सले दिउँसो हिल्टन होटलमा बिदाइ समारोह आयोजना गरेको थियो। 

टिमका खेलाडीहरूसँग बिदा माग्दै गर्दा आगामी खेलमा जितको शुभकामना दिँदै उनी भन्दै थिए, ‘ल राम्रो गर। तिमीहरूसँग खुबी छ। धेरै तनाव लिन जरुरी छैन। बस्, धैर्यसाथ खेल। आत्मबलसहित खेल।’

धवनको सुझावलाई कान थापेर सुनिरहेका कर्णालीका सहसंस्थापक गृहेन्द्र घिमिरेले शनिबार टिमका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई सोधेका थिए– ‘धवनको उपस्थितिलाई तिमीले कसरी लिएका छौ ज्ञानु?’ 

जवाफमा मल्लले भने, ‘यो एकदमै राम्रो कुरा हो। केटाहरू एकदमै उत्साहित छन्। हामीलाई मात्रै होइन, यसले समग्र नेपाली क्रिकेट खेलाडीकै मनोबल उच्च बनाएको छ।’

कर्णालीको तर्फबाट चारवटा खेल खेलेर धवन आइतबार साँझ भारत फर्किएपछि नेपालमा यतिबेला उनको रनको लेखाजोखा भइरहेको छ। धवनले चार खेलमा कुल १११ बल खेल्दा एक अर्धशतकसहित कुल १३६ रन बनाए। १२ चौका र ६ छक्का हाने। 

टिम स्रोतका अनुसार कर्णालीले उनलाई प्रतिखेल ३० हजार अमेरिकी डलर (हालको मूल्यअनुसार ४० लाख ७७ हजार) मा अनुबन्ध गरेको थियो। यतिखेर उनले हानेको रन र उनले लिएको पारिश्रमिकबीच तुलना भइरहेको छ। चार खेल खेलेवापत उनले १ करोड ६३ लाख ८ हजार रूपैयाँ पारिश्रमिक लिए। चार खेलमा १३६ रन हानेका उनले प्रतिरन १ लाख १९ हजार ९११ रूपैयाँ लिएर घर फर्किएको टिप्पणी भइरहेको छ।

तर, के जाँदाजाँदै धवनले नेपालबाट पारिश्रमिक मात्रै लिएर गए त? कि केही दिएर पनि गए? 

कर्णाली याक्सका सहसंस्थापक घिमिरे अहिले भइरहेको तुलना र टिप्पणीसँग सहमत छैनन्। एनपीएलमा धवनको उपस्थितिले नेपाली क्रिकेटकै ‘भ्यालु’ बढाएको उनको मत छ। 

‘उनले जति रन हाने पनि उनका कारण बढेको एनपीएलको हाइपअगाडि त्यो सधैँ फिक्का हुने थियो,’ घिमिरेले नेपालखबरसँग भने, ‘यो लिग र नेपाली क्रिकेटलाई उनकै कारण धेरैले हेरे र चिन्ने मौका पाए। हाम्रो टिमको मात्रै होइन, समग्र नेपाली खेलाडीकै मनोबल उनले उच्च बनाएर गए। कर्णाली ट्यालेन्टबाट छानिएका युवा खेलाडी विपिन धवनसँग एउटै मैदानमा खेल्न पाउँदा मक्ख छन्। त्यस्तै शिखर धवनको विकेट लिएको क्षण विराटनगरका प्रतिश जिसीले कहाँ बिर्सिन्छन् र? सायद जीवनभर सम्झिरहनेछन्। यो कम उपलब्धि हो र?’ 

घिमिरेका अनुसार धवन डिसेम्बर ११ तारिखसम्म खेल्न तयार थिए। 

‘पारस खड्का (क्यान सचिव) सँग मेरो यो विषयमा कुरा पनि भएको थियो। तर दुई दिन ‘ग्याप’ भएका कारण उनी चाँडै फर्किए,’ घिमिरेले भने। 

उनका अनुसार, घुँडाको समस्याका कारण पनि धवनसँग धेरै जोडबल गर्न सकिने अवस्था थिएन।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द एनपीएललाई विश्वस्तरमा चिनाउन धवनको उपस्थितिले ठूलो भूमिका खेलेको बताउँछन्। 

‘उनको उपस्थिति विश्वभर खबर बन्यो,’ चन्दले भने, ‘आईपीएल र भारतका लागि उत्कृष्ट खेलेका उनी नेपालमा आएर खेल्दा नेपाली क्रिकेटको हाइप नै बढ्यो। नेपाली खेलाडीले धेरै सिक्ने अवसर पाए। केही न केही त सिके नै। होटल र ड्रेसिङ रुम सेयर गर्दा, अभ्यास सँगै गर्दा धेरै कुरा सिके। यसको प्रभाव आगामी क्रिकेट खेलमा सकारात्मक रूपमा पर्छ भन्ने हाम्रो विश्वास छ।’ 

एनपीएलमा उनको प्रस्तुति भने मध्यम नै रहेको उनको विश्लेषण छ। तर, क्यानले उनको खेल प्रस्तुतिभन्दा पनि उपस्थितिलाई बढी महत्त्वका साथ हेरेको छ। 

‘चारवटा खेलमा करिब १ सय ४० रन हान्नु भनेको ठिकै हो,’ अध्यक्ष चन्दले भने, ‘पर्फमेन्स मध्यम रहे पनि उनको उपस्थिति नै ठूलो कुरा भयो। यसका लागि टिम मालिकलाई धन्यवाद दिनैपर्छ। अहिलेसम्म त क्यान र टिमको खर्च नै खर्च छ। तर, यो लिगले आगामी दिनमा नेपालको अर्थतन्त्रलाई ठूलो टेवा पुर्‍याउँछ।’

क्रिकेट वृत्तमा धवन सधैँ भन्ने गर्थे, ‘मेरा लागि असफलता नराम्रो कुरा होइन। किनभने यसले सधैँ तपाईंलाई कसरी सफल हुने भनेर सिकाउँछ।’ त्यसैले कर्णालीले लगातार पहिलो र दोस्रो खेल हार्दा उनी थोरै निराश त थिए तर आत्मबल गुमेको थिएन। हरेक खेलमा मैदानमा जानुअघि उनी कर्णालीका खेलाडीहरूसँग आफ्नो कुरा राख्थे, धैर्य भएर र तनाव नलिई खेल्न ‘टिप्स’ दिन्थे। 

‘उहाँबाट खेलाडीलाई ठूलो हौसला प्राप्त भएको छ,’ खेलाडीको भनाइ उधृत गर्दै टिमका सहसंस्थापक घिमिरेले भने, ‘मैदानमा जानुअघि टिमसँग मज्जाले कुरा राख्नुहुन्थ्यो। सिक्न पनि पाएँ, सिकाउन पनि पाएँ भन्नुहुन्थ्यो। आत्मबल कसरी बढाउने भनेर आफ्नो अनुभव बाँड्नुहुन्थ्यो। नेपाली क्रिकेट यो स्तरमा पुगेको होला भन्ने सोचेको थिइनँ भन्दै आश्चर्य पनि प्रकट गर्नुभयो।’ 

पहिलो खेलमा राम्रो प्रदर्शन गर्न नसकेका धवनले दोस्रो खेलमा विराटनगर किङ्गसविरुद्ध अविजित ७२ रन बनाएका थिए। यद्यपि, त्यो खेलमा पनि कर्णाली पराजित भयो। त्यतिबेला खेलका कप्तान सोमपाल कामीले धवनको प्रशंसा गर्दै उनले दिएको सुझावबारे चर्चा गरेका थिए। 

‘ग्राउन्डभित्र पनि तँ एकदम धेरै शान्त रहेछस्। खेलाडीहरूलाई समातेर राख्नुपर्छ, गाली गर्नुपर्छ भन्नुभयो,’ धवनले दिएको सुझाव सम्झँदै उनले पत्रकारहरूसँग भनेका थिए, ‘मैले मेरो स्वभाव त्यस्तो होइन तर, म अब ट्राइ गर्छु भनेँ। खेल सुरु हुनुअघि पनि मेरो दिमागले अन्तिमसम्म खेल्न सकूँ भनेर सोचिरहेको बताउनुभएको छ। देवलाई पनि यो टुर्नामेन्ट जित्नु छ भने अन्तिमसम्म खेल्नुपर्छ भन्नुभएको थियो। योजनाअनुसार आज सफल हुनुभयो। युवा खेलाडीले उहाँबाट छिटोभन्दा छिटो सिक्नेछन्। शिखर धवनजस्तो खेलाडी आएपछि यो लिगको हाइप हुन्छ। प्रेसर पनि हुन्छ। यसमा हामी खुसी छौँ।’

नेपाली क्रिकेट राष्ट्रिय टिमका पूर्वकप्तान पवन अग्रवाल धवनको आगमनले नेपाली क्रिकेटको हाइपसँगै विश्वस्तरमा एनपीएलको विश्वसनीयतासमेत बढाएको बताउँछन्। 

‘शिखर धवनजस्तो ठूलो नाम नेपाल आएर खेल्दा एनपीएलको विश्वसनीयता र उचाइलाई धेरै माथि पुर्‍याएको छ,’ उनले भने, ‘नेपाली खेलाडीहरूले उनीसँग अनुभव सेयर गर्न पाए। रुम सेयर गर्न पाए। पर्फमेन्स प्रभावकारी हुन सकेन तर उहाँको आगमनले लिगप्रतिको विश्वास चाहिँ बढायो। अब बाहिरबाट अरु खेलाडीहरू आउन खोज्छन्। शिखर धवनले खेलेको लिग भनेपछि अब भोलिका दिनमा क्रिकेटका ठूला नामहरू एनपीएलमा ल्याउन पनि सहज हुनेछ।’

३८ वर्षीय बायाँ हाते ब्याटर धवन २००३ को अन्डर–१९ विश्वकपमा सात इनिङ्समा ५०५ रन बनाएर सबैभन्दा अग्रणी रन स्कोरर बनेका थिए। उनले सन् २०१३ मा मोहालीमा अस्ट्रेलिया विरुद्ध टेस्ट डेब्युमै शतक प्रहार गरेका थिए। डेब्यु टेस्टको पहिलो इनिङ्समै १८७ रन हानेका उनी प्लेअर अफ दि म्याच नै घोषित भएका थिए। 

आईपीएलमा ब्याक टु ब्याक शतक हान्ने पहिलो खेलाडी पनि हुन् उनी। सन् २०१६ उनले सनराइजर्स हैदरावादका तर्फबाट आईपीएल जितेका थिए। सन् २०१५ को विश्वकपमा उनी भारतबाट सबैभन्दा बढी रन हान्ने खेलाडी बनेका थिए। उनले सन् २०१० मा अस्ट्रेलिया विरुद्ध नै ओडीआईमा डेब्यु गरेका थिए भने २०२१ मा वेस्ट इन्डिज विरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए। 

उनले भारतका लागि ३४ टेस्ट, १६७ ओडीआई र ६८ टी–२० आई म्याच खेलेका छन्। टेस्टमा ७ शतकसहित दुई हजार ३१५ रन बनाएका उनले ओडीआईमा १७ शतकसहित ६ हजार ७९३ रन बनाएका छन्। यस्तै टी–२० आईमा उनले ११ अर्धशतकसहित १ हजार ७५९ रन बनाएका छन्। सन् २०१३ मा उनले अस्ट्रेलियाविरुद्ध ८५ बलमा १ सय रन बनाएर डेब्युमै सबैभन्दा छिटो शतक हान्ने खेलाडीको रेकर्ड बनाएका थिए। 

आईपीएलमा सर्वाधिक रन बनाउनेमा धवन विराट कोहलीपछि दोस्रो स्थानमा छन्। धवनले हैदरावाद, डेक्कन चार्जर्स,  मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबाट आईपीएल खेलिसकेका छन्। धवनले पछिल्लो सिजन पञ्जाब किंग्सबाट आईपीएल खेलेका थिए। त्यसपछि चोटलाई कारण देखाउँदै अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट उनले सन्न्यास लिए। 

भारतीय क्रिकेट बोर्डको नियमअनुसार राष्ट्रिय टोली तथा घरेलु क्रिकेट खेल्ने खेलाडीलाई विदेशमा गएर क्रिकेट खेल्न अनुमति छैन। सन्न्यास लिएकै कारण उनले जारी एनपीएलमा खेल्न पाएका हुन्। न्युजिल्यान्डका जिमी निसम, अस्ट्रेलियाका बेन कटिङ र पाकिस्तानका सोहेल तनविर, एनपीएल खेल्न आएका उनीपछिका चर्चित नामहरू हुन्। 

क्रिकेटवृत्तमा धवनलाई गब्बर उपनामले चिनिनु पछाडिको कथा पनि रोचक छ। 

‘म रणजी ट्रफी खेलिरहेको थिएँ र सिल्ली पोइन्टमा बसेको थिएँ,’ आफ्नो उपनामपछाडिको कथा उनले भारतीय मिडियासँग खुलाएका छन्, ‘जब अर्को टोलीले ठूलो साझेदारी गर्छ, तब खेलाडीहरू निराश हुन थाल्छन्। त्यस्तो स्थितिमा म ‘बहुत याराना है सुअर के बच्चो’ भन्दै चिच्याउने गर्थेँ। त्यो सुनेर सबै हाँस्थे। त्यसपछिक मेरा प्रशिक्षक विजय (दहिया)ले मलाई गब्बर भनेर बोलाउन थाले। शोले फिल्मको चर्चित भिलेन गब्बर सिंहबाट प्रभावित यो उपनाम पछि यति प्रसिद्ध भयो कि दुनियाँभरका क्रिकेट प्रशंसक मलाई गब्बर भनेर बोलाउँछन्।’

कुन खेलमा कति रन?
चार खेल खेलेका धवनको पहिलो खेल हेर्न टीयु ग्राउन्ड दर्शकहरूले भरिभराउ थियो। क्यानले भव्य स्वागत गरेपछि मात्रै उनी मैदानमा उत्रेका थिए। तर, जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा उनको ब्याटिङको जादु चल्न सकेन। ३ चौकासहित १४ रन बनाएपछि उनी हर्ष ठाकरको बलमा बोल्ड भएका थिए। 

दोस्रो खेलमा भने उनको प्रदर्शन उत्कृष्ट नै रह्यो। काठमाडौँ गुर्खाजविरुद्धको खेलमा उनले अविजित ७२ रन बनाए। यद्यपि, काठमाडौँ गुर्खाज कर्णालीलाई तीन विकेटले हराउन सफल भयो। 

तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ४५ रन बनाएर उनी पेभेलियन फर्किए। ४१ बलमा उनले ४ चौका र १ छक्का प्रहार गरे। त्यसपछि लोफ्टी इटनले उनलाई क्याच आउट गराए। धवनको ब्याटिङ मद्दतसँगै यो खेलमा भने कर्णालीले जितको खाता खोल्यो। चितवन राइनोज कर्णाली याक्ससँग ६ विकेटले पराजित भयो। 

धवनले खेलेको अन्तिम खेल भने विराटनगर किङ्ग्सविरुद्ध थियो। खेलको अघिल्लो दिन उनले कर्णालीकै टिमसँग आफ्नो ३९ औँ जन्मदिन  मनाएका थिए। भोलिपल्ट मैदानमा उत्रिदा प्रशंसकहरूले समेत जन्मदिनको शुभकामना दिँदै उनको पक्षमा हुटिङ गरेका थिए। तर, जाँदाजाँदै उनको ब्याटिङले कमाल गर्न सकेन। युवा खेलाडी प्रतिश जिसीको बलमा ५ रनमै आउट भए उनी। 

श्रम स्वीकृतिको झन्झटले ठूला विदेशी खेलाडी ल्याउन सकस
क्यानका अध्यक्ष चन्द यो एनपीएलमा श्रम स्वीकृतिको झन्झटका कारण क्रिकेट जगतका अन्य ठूला नामहरूलाई चाहेर पनि नेपाल ल्याउन नसकिएको बताउँछन्। 

‘धेरै खेलाडीहरू अन्य लिग खेलिरहेका हुन्छन्, बीचमा दुईतीन दिनका लागि ब्रेकमा हुन्छन्। तर, श्रम स्वीकृतिको झन्झटिलो प्रक्रियाले यहाँ ल्याउन गाह्रो हुन्छ,’ उनले भने, ‘उनीहरूलाई यहाँ ल्याएर खेलाउन पाउनु भनेको नेपाली क्रिकेटलाई टेवा पुग्नु हो। तर, यहाँ श्रम स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रियाले उनीहरूलाई ल्याउन गाह्रो हुन्छ। श्रम स्वीकृतिको साटो सिधै करमात्रै लिएर ल्याउन सकिने भए धवन मात्रै होइन, अन्य ठूला नाम धेरै ल्याउन सकिन्थ्यो। त्यसैले अर्को पटकबाट यो झन्झट हुन नदिन अहिलेदेखि नै हामी पहल गर्छौं।’

यसपटक जाँदाजाँदै धवनले कर्णाली याक्सको फेसबुकमार्फत आफ्ना प्रशंसकलाई सन्देश छाड्दै भने, ‘यति धेरै प्रेमका लागि धेरै धेरै धन्यवाद नेपाल! मलाई साँच्चै मनपर्‍यो तपाईँहरूको संस्कृति, सत्कार र खाना। म माउन्ट एभरेस्टलाई पनि मिस गरिरहनेछु।’

मंगलबार दिउँसो कर्णालीले आफ्नो पाँचौँ खेल पोखरा एभेन्जर्सविरुद्ध खेल्दैछ। जति उनले माउन्ट एभरेस्ट मिस गर्नेछन्, सायद त्यसभन्दा बढी टीयू मैदानमा कर्णाली र उनका प्रशंसकले धवनलाई मिस गर्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad