आयरल्यान्ड वुल्भ्सविरुद्ध शतक प्रहार गरेका लोकेश बमले लामो समयदेखि आफूले यो खेल पर्खिरहेको बताएका छन्।
नेपाल पराजित भएको खेलपछि कुरा गर्दै लोकेशले आफूले लामो समयदेखि पर्खिएको बताए।
भ्याली एक्सप्रेस प्लेयर अफ दि म्याच बनेका लोकेशले भने, 'यो खेलका लागि लामो समयदेखि तयारी गरिरहेको थिएँ, म एकदम इमोशनल पनि थिएँ। यो खेलमा राम्रो गर्नुपर्छ भन्ने थियो। त्यो भन्दा ठूलो कुरा खेल जिताउनुपर्छ भन्ने थियो तर सकिएन।'
उनले आरिफ शेखसँग १ सय २१ रनको साझेदारी गरेका थिए।
'आरिफ दाइसँग खेल्न मज्जा आइरहेको थियो। दाइले राम्रो गर्नुभयो, दुई जनाको पार्टनरसिप राम्रो थियो, हामी कुरा गर्दै खेलिरहेको थियौँ। जितनजिक हुँदा फिनिसिङ गर्न सक्थ्यौँ तर सकेनौँ', उनले भने।
लोकेशले सुरुवातमा हतार गरे पनि पछि खेल्दै जाँदा सहज भएको सुनाए।
आयरल्यान्डविरुद्ध १ सय ६ रन बनाएका लोकेशको शतकका बाबजुद नेपालले हार भोगेको छ। आक्रामक ब्याटिङ गरेका लोकेशले ५६ बलमा ९ चौका र ८ छक्क मद्दतमा १ सय ६ रन बनाएका थिए।
Shares
प्रतिक्रिया