ad ad

खेल


एरिकाकी आमा रत्ना भन्छिन्, ‘छोरीले संसार जितेजस्तो लागेको छ’

एरिकाकी आमा रत्ना भन्छिन्, ‘छोरीले संसार जितेजस्तो लागेको छ’

तस्बिर/भिडिओ : सरोज नेपाल


लक्ष्मी जि.सी
असोज २३, २०८० मंगलबार १९:५१, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार अन्य दिनभन्दा फरक दृश्य देखियो। एसियाडमा सहभागी भएका केही खेलाडी चुपचाप स्वदेश फर्कँदै थियो।

आज नै एसियाडमा सहभागी भएर महिला भलिबल टोली पनि सँगै फर्किएको थियो। तर, सबैको ध्यान कराते र कबड्डीका खेलाडीमा थियो।

मंगलबार सबैको केन्द्रमा थिइन्, करातेकी एरिका गुरुङ, जो चीनको हाङजाओमा सम्पन्न १९ औं एसियाली खेलकुदअन्तर्गत करातेको ६८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेर स्वदेश फर्किँदै थिइन्।

एरिकालाई स्वागत गर्न जति कराते संघका पदाधिकारीदेखि उनका शुभचिन्तकहरूको भीड त छँदै थियो। त्यस भिडभन्दा अलि पर उनकी आमा रत्ना गुरुङ हजुरआमा, फुपू र अन्य आफन्तका साथ कुरिरहेकी थिइन्, हातमा फूलको बुके बोकेर।

लामो समयको प्रतीक्षापछि एरिका आइन्। तर उनी बाहिर निस्कन नपाउँदै पत्रकारको माइकको बुम र क्यामराले घेरिसकेको थियो। 

विदेशमा पदक जितेर फर्केकी छोरीले पनि आफ्नो विजयी मुस्कानको पहिलो खुसी आमालाई देखाउन पाइनन्। आमाले पनि आफ्नै छोरीको त्यो खुसीको चमक नियाल्न निकै संघर्ष गर्नुपर्‍यो।   

करातेका पदाधिकारी, सुरक्षाकर्मी र पत्रकारको भिडलाई छिचोल्दै निकैबेरपछि एरिकाकी आमा रत्नाले बल्लतल्ल थोरै समय भेट गर्ने मौका पाइन्। 

छोरीलाई भेट्न र उनको अनुभव सुन्नका लागि आतुर आमाले पत्रकारकै माझमा अंकमाल गरिन्।

आमाछोरी दुवैको अनुहारको भाव हेर्नलायक थियो।

‘धेरै खुसी लागेको छ मलाई त,’ हाँसो सम्हाल्दै आमा रत्नाले भनिन्, ‘मेरो छोरीले संसार जितेजस्तो लागेको छ। एकदम गर्व लाग्यो।’ 

खासमा यतिखेर रत्नासँग बोल्ने धेरै शब्द थिएनन्।

उनका आँखा बोल्न खोजिरहेका थिए। ओँठ लर्बरिँदै थिए। 

हाङजाओमा भइरहेको छोरीको खेल हेर्न घरमा सबै आफन्त जम्मा भएका थिए। इन्टरनेटमा समस्या आएको कारण पहिलो खेल हेर्न पाएनन्। आमालाई त झनै धेरै थकथकी भयो।

एसियाडमा करातेका खेलाडी लगातार पदकविहीन हुँदा उनको मनमा चिसो पसेको थियो। ‘तर त्यो ठाउँमा पुगेर एउटा मेडल ल्याए त केही न केही हुन्थ्योजस्तो लागिरहेको थियो,’ रत्ना सुनाउँछिन्। 

छोरीको खेल हेर्दाको क्षण सुनाउँदै रत्ना भन्छिन्, ‘सुरुमा खेल्न जाँदा एकदम डर लागेको थियो। के पो हुने हो भनेर। फाइनलमा पुगेपछि खुसी लाग्यो।’

फाइनलमा पुगेको थाहा पाएपछि खेल जसरी पनि हेर्नुपर्ने निधो भयो।

छोरी फाइनलमा पुगेपछि अब त जित्छ भन्ने विश्वास आमामा थियो। तर, फाइनलमा एरिकाले जित्न सकिनन्। 

स्वर्ण पदकका लागि भएको स्पर्धामा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भइन्। 

त्यतिन्जेल नेपालको खातामा एक रजत पदक पक्का भइसकेको थियो। सेमीफाइनलमा हङकङकी यान काइ होलाई ८–४ ले पराजित गर्दै एरिका फाइनलमा प्रवेश थिइन्।

नेपालले एसियाली खेलकुदमा पाएको यो नै सर्वोच्च पदक हो। देशको पोल्टामा यो उपलब्धि हालिदिनेअ रु कोही नभएर तिनै एरिका थिइन्, रत्नाकी छोरी। फोन आउन थाल्यो। सबैले बधाइ दिन थाले। 

रत्नाको खुसी फेरि फर्कियो। 

‘त्यो सुन्दा अर्कै महसुस भयो,’ आफन्ततर्फ देखाउँदै रत्नाले विमानस्थलमै भनिन्, ‘अहिले यहाँ पनि सबै आउनुभएको छ।’ 

नीलकण्ठ नगरपालिका–१३, धादिङकी एरिकाले कराते खेल्न थालेको ९ वर्ष भयो। एरिकाले कराते खेल्न मन गरेपछि आमाले नै उनलाई काठमाडौँको मनमैजु डोजोमा लगेर भर्ना गरिदिएकी थिइन्। ‘त्यतिखर जुन खेल भए पनि खेल नै होजस्तो लाग्यो। उसले पनि त्यसमा नै निरन्तरता दियो,’ रत्ना भन्छिन्।

एरिका खेल्न मात्र होइन, घरको काममा पनि आमालाई सघाउँछिन्। परिवारकी जेठी छोरी एरिकाकी एक बहिनी छिन्। छोरीको तारिफ गर्दै एरिकाकी आमाले भनिन्, ‘उसले सबै काम गर्छे। खाना पकाउने, लुगा धुने, घर सफा गर्ने।’

परिवारमा एरिका आमासँग भन्दा बाबासँग नजिक छिन्, उनी आफ्ना कुराहरु बाबालाई नै बढी सुनाउँछिन्। 

कुराकानीको बिट मार्दै एरिकाकी आमाले भनिन्, ‘छोरीले विश्वमा नाम चिनाएको छ, एसियन जित्यो अब विश्व च्याम्पियन पनि बनोस् भन्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .