ad ad

खेल


महिला लिग खेल्न साम्बासहित चार खेलाडी एकैपटक भारततिर

महिला लिग खेल्न साम्बासहित चार खेलाडी एकैपटक भारततिर

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १४:१६, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी एकै पटक भारतीय महिला लिग खेल्न त्यसतर्फ लागेका छन्। 

राष्ट्रिय महिला टोलीका फरक क्लबमा आवद्ध भएका चार खेलाडी आज एकै दिन लिग खेल्न लागेका हुन्।  

टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा सेथु एफसीमा आवद्ध भएकी छिन्। एञ्जिलासँगै गीता राना पनि सेथुमा अनुबन्ध भएपनि घुँडाको चोटको कारण उनले लिग गुमाएकी छन्।

भारतसँगकै मैत्रीपूर्ण खेलमा घुँडामा चोट बोकी गीता शल्यक्रियापछि आराम गरिरहेकी छन्। चोटकै कारण गीताले घरेलु मैदानमा भएको पेरिस ओलम्पिक अन्तर्गत भियतनामसँगको दुई खेल गुमाइन्। 

भारत जानुअघि नेपालखबरसँग कुरा गर्दै एञ्जिलाले भनिन्, ‘पहिलो पटक भारतीय लिगका लागि जाँदैछु। यो अघि गीता र म दुवै एकै टोलीमा भए पनि गीता चोटको कारण जान पाउने छैनन्। 

राष्ट्रिय टोलीकै मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु किकस्टार एफसीबाट लिग खेल्नेछन्।

सरुले भनिन्, ‘पहिलो पटक लिग खेल्न जान लागेको छु। उत्साहित छु, रेनुका दिदी पनि भएको कारण सजिलो भएको छ। यो पटक दुवै जना एकै पटक खेल्न पाउँछौँ भन्नुभएको छ त्यसकारण पनि सहज होला।’ 

रेनुकाले भनिन्, ‘साम्बा र अनिताले खोलेको व्यवसायिक लिगको बाटोमा अहिले महिला खेलाडीहरु बढिरहेका छन्। त्यसकारण आईलिगमा अझै महिला खेलाडीहरु बढ्नेछन् भन्ने आशा छ।’ 

राष्ट्रिय टोली कै मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भने गोकुलम केरला आवद्ध एफसीमा आवद्ध छिन्। सावित्राले यसअघि सेथु एफसी र गोलकुलमबाट लिग खेल्दा दुवै पटक टोलीलाई च्याम्पियन बनाएकी थिइन्। सावित्रा तेस्रो संस्करण भारतीय लिग खेल्दैछन् भने अन्य खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन्। 

त्रिभुवन विमानस्थलमा सावित्राले भनिन्, ‘भारतीय लिगमा सुरुवातमा अनिता बस्नेत र म सहभागी भएर सम्भावना देखाएका थियौँ, अन्य खेलाडीको राम्रो प्रर्दशनको कारण पनि उनीहरुले स्थान बनाएका छन् त्यो हाम्रो लागि राम्रो अवसर हो। महिला खेलाडीको सख्या बढ्दा खुसी लागेको छ। आगामी दिनमा अझै थपिनेछन् भन्ने आशा छ।’ 

उनले थपिन्, ‘राष्ट्रिय टोली र विभागीय टोलीमा हामी सँगै खेले पनि व्यवसायिक लिगका लागि हामी प्रतिद्वन्दी हौँ। त्यसैले आ–आफ्नो क्लबका लागि शतप्रतिशत दिएर खेल्नेछौँ।’ 

राष्ट्रिय टोली कै दिपा शाही भने लड्स फुटबल एकेडेमीमा आवद्ध भएकी छन्। उनी केही दिन पछि भारत जानेछिन्। 

आईलिगमा यो पटक १६ टोलीले लिग खेल्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। भारतीय महिला लिग २५ अप्रिलबाट सुरु हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .