ad ad

खेल


लोकेश बमको उत्कृष्ट प्रदर्शन बाबजुद विराटनगर पराजित, चितवनको चौथो जित

लोकेश बमको उत्कृष्ट प्रदर्शन बाबजुद विराटनगर पराजित, चितवनको चौथो जित

नेपालखबर
पुस ६, २०७६ आइतबार ६:५२,

 पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा चितवनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर १२८ रनमा समेटियो।

लगातार चौथो खेलमा जित हात पारेको चितवन ८ अंकसहित फाइनल नजिक पुगेका छ भने चार खेलमध्ये ३ मा पराजित विराटनगर प्रतियोगिताबाट बाहिरिने संघारमा छ। दुवैको अवस्था अन्य टोलीको नतिजामा भर पर्नेछ।

कमजोर सुरुआत गरेको विराटनगरको सातौं विकेटका लागि पुनित मेहरा र लोकेश बमले ७७ रनको साझेदारी गरेपछि जितको आशा जागेको थियो। तर १९औं ओभरमा लोकेशलाई ६२ रनमा करण केसीले बाउन्सरको सिकार बनाएपछि चितवन खेलमा फर्कियो। लोकेशले  ३६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।

लोकेशले रोहन मुस्तफाको १७.२ ओभरमा एक रन लिदैँ आफ्नो अर्धशतक पूरा गरेका थिए। यस्तै करण केसीको १९ औं ओभरको पहिलो दुई बलमा लगातार दुई छक्का प्रहार गरेका लोकेश तेस्रो बलमा विकेट किपरको हातबाट समातिए।

रोहन मुस्तफाले पुनितलाई बोल्ड पार्दै अठारौं ओभरमा उक्त साझेदारी तोडेका थिए। पुनितले २६ बलमा २ चौकासहित २४ रन जोडे।

विराटनगरका ओपनर सुनिल धमलालाई ५ र मोहम्मद जाइद आलमलाई १ रनमात्रै जोड्न सके। यस्तै कप्तान प्रदीप ऐरीले ९, राजु रिजाल १ तथा राजेश पुलामीमगरले खाता नै खोल्न सकेनन्।

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

त्यसअघि आरिफ सेख र सन्नी पटेलको आक्रामक पारी मद्दतमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो।

अठारौं ओभरको दोस्रो बलमा बाबर हायात २५ रनमा पवेलियन फर्किएपछि आरिफलाई साथ दिन क्रिजमा सन्नी पटेल आएका थिए। ९२–४ को कमजोर स्थितिमा रहेको चितवनलाई पाँचौ विकेटका नटआउट १४ बलमा ५४ रनको साझेदारी गर्दै उनीहरुले सम्मानजनक स्थितिमा पुर्याएका थिए।

आरिफले २० बलमा ३ चौका र ३ छक्कासहित ३९ रनको नटआउट पारी खेले। यस्तै सन्नीले ८ बलमा नटआउट २७ रनको पारी खेले। सो क्रममा उनले १ चौका र ३ छक्का प्रहार गरे।

जितेन्द्र मुखियाको १९औं ओभरमा सन्नी पटेलले तीन छक्का र एक चौकासहित २७ रन जोडेपछि चितवन सो स्कोरमा पुगेको हो। किशोर महतोको अन्तिम ओभरमा पनि चौका र छक्कासहित चितवनले १३ रन जोडेको थियो।

त्यसअघि कप्तान पारस खड्काले ३५ रनको पारी खेल्दै चितवनलाई अघि बढाएका थिए। पारसले ३८ बलमा ५ चौका प्रहार गरे। चितवनका रोहन मुस्तफा ७ र अनिलकुमार साह ३ रनमै पवेलियन फर्किए।

विराटनगरका साहब आलमले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १ ओभर मेडन राख्दै १३ रनमात्रै खर्चिएर एक विकेट लिए। यस्तै पुनित मेहराले ४ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए। त्यसबाहेक जितेन्द्र मुखिया, किशोर महतो र मोहम्मद जइद आलामले पनि १–१ विकेट लिए।

पुस १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ । पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो। प्रत्येक टिमले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्षमा रहने टोली सोझै फाइनल प्रवेश गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .