ad ad

खेल


उपाधिको व्यग्र प्रतीक्षा

उपाधिको व्यग्र प्रतीक्षा

लक्ष्मी जि.सी
मंसिर ९, २०७६ सोमबार ३:२०,

गत भदौ अन्तिम साता नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गीस्तानमा भएको नादेझ्दा कपको फाइनलमा उज्वेकिस्तानविरुद्ध ३-२ ले रोकिएपछि २०१९ मा मात्रै तेस्रोपटक उपाधि जित्नबाट चुक्यो।

यसअघि नेपाली टोली विराटनगरमा भएको साफ च्याम्पियनसिप (मार्च) मा भारत र भुवनेश्वरमा भएको हिरो गोल्डकप (फेब्रुअरी)मा म्यानमारविरुद्ध भएको फाइनलमा पराजित भएको थियो। सन् १९८६ को एसियन कपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला फुटबलले त्यसयता नादेझ्दा कपसम्म आइपुदा आठपल्ट फाइनल खेले पनि उपाधि जित्न भने सकेको छैन।

नेपाली टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीलाई पनि यो कुरा निकै खड्किएको छ। यही मंसिर १५ देखि घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)मा देशलाई च्याम्पियन बनाउने उनको उत्कट अभिलाषा छ। साथै नेपालका लागि सर्वाधिक गोलकर्ता खेलाडी बन्ने अवसर पनि उनीसामु छ। नादेझ्दा कपमै ७ गोल गर्दै उनले पूर्वकप्तान अनु लामाले राखेको ३५ गोलको कीर्तिमान बराबरी गरेकी थिइन्। सागमा १ गोलले मात्रै उनलाई नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा पुर्याउनेछ। त्यो १ गोल नेपाललाई उपाधिको भोक मेटाउन पनि काफी हुन सक्छ।

‘कीर्तिमान भंग गर्नुभन्दा पनि मेरा लागि खेल जिताउनु महत्वपूर्ण कुरो हो,’ पोखरामा अभ्यासरत सावित्राले नेपालखबरसँग भनिन्, ‘म जहिले पनि पाएका अवसर सदुपयोग गर्दै टिमलाई जिताउने प्रयासमा हुन्छु। यसपटक टिमलाई जिताउन सकूँ भन्ने तीव्र इच्छा छ। त्यसो गर्न सकिनँ भने मेरो कीर्तिमानले खासै अर्थ राख्दैन।’

सागअन्तर्गत महिला फुटबल प्रतियोगिता पोखरा रंगशालामा हुँदै छ। नेपाल, माल्दिभ्स, भारत र श्रीलंकाले मात्रै सहभागिता जनाउने भएपछि सबै टोलीले एकअर्कासँगै खेलेपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन्। अन्य टोलीमा सधैं हावी हुँदै आएको नेपाल भारतसँग भने जहिले पछि पर्दै आएको छ।

nepali women final listनेपाली महिला टोलीले खेलका फाइनलहरु। नोट: गत भदौंमा फाइनल खेलेको नादेफ्दा कप समावेश गरिएको छैन।

तीन वर्षअघि भएको पछिल्लो १२औं सागमा समेत नेपाल भारतसँगै उपाधिनजिक पुगेर रोकिएको थियो। सोही प्रतियोगिताबाट सावित्रा नेपाली टोलीकी पहिलो रोजाइकी फरवार्ड बनेकी हुन्। अहिले समय फेरिएको छ। गत फेब्रुअरीमा भएको हिरो गोल्डकपमा भारतलाई उसैको भूमिमा नेपालले पहिलोपटक हराउँदै आफूहरूको स्तर पनि कम नभएको देखाइसकेको छ। यस्तै सावित्राले आफ्नो पहिचान गोल मेसिनका रूपमा बनाइसकेकी छन्।

‘यसपटक पनि हाम्रो मुख्य प्रतिद्वन्द्वी भारत नै हो। उसलाई हराउन सके स्वर्ण पक्का हुनेछ,’ सावित्रा भन्छिन्, ‘यसपटक घरेलु मैदानमा भारतलाई हराउने मौका खेर जान दिने छैनौं। साथै घरेलु मैदानमा देशका लागि स्वर्ण जित्ने सपना पूरा हुने विश्वास लिएकी छु।’

हिरो गोल्डकपको राउन्ड रोबिनमा भारतलाई पराजित गरे पनि नेपाल फाइनलमा म्यानमारसँग रोकिएको थियो। त्यसपछि २०७५ फागुनमा विराटनगरमा नेपालले पाँचौं दक्षिण एसियाली महिला फुटबल(साफ) च्याम्पिनयसिपमा खेल्यो। उक्त प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता त बनिन् तर नेपाल पुनः एकपटक भारतसँग निराश बन्यो।

यसपटक त्यसै साफको बदला लिने अवसर नेपाल र सावित्रासँग छ। ‘त्यसबेला पनि हामीलाई उपाधि दाबेदार टोलीका रूपमा हेरिएको थियो। घरेलु दर्शकको पनि साथ थियो तर फेरि हामी भारतसँग चुक्यौं। त्यो पीडा अहिले पनि छ र आफ्ना गल्ती सुधार्दै राम्रो तयारी गरेका छौं।’

गत साउन मध्यबाट प्रशिक्षक हरि खड्काले साग तयारीका लागि ४२ सदस्यीय प्रारम्भिक टोलीमा बोलाएका थिए। सुरुमा त महिला टोलीले अभ्यासका लागि मैदानकै समस्या भोगे। एन्फा कम्प्लेक्स (सातदोबाटो)मा महिला टोलीसँगै राष्ट्रिय पुरुष टोली, यू–२३ टोलीको अभ्यास भइरहेको थियो। मैदान अभावकै कारण १ हप्ताभन्दा बढी कृत्रिम मैदानको एकापट्टि यू–२३ पुरुष टोली र अर्कापट्टि महिला टोलीले प्रशिक्षण लिए।

साउन अन्तिम साताबाट भने महिला टोलीलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्सालमा सारियो। त्यसपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले साउन २८ मा मात्रै म्याच एक्सोजरका लागि किर्गिस्तानमा हुने नादेझ्दा कप खेल्ने टुंग्याएको थियो। उक्त आमन्त्रित प्रतियोगिताको पनि ५ दिनमा फाइनलसहित ४ खेल खेल्दै घर फर्किएको नेपाली टोली हाल पोखरामा अभ्यासरत छ।

अघिल्लो वर्ष नै अनु लामाको स्थानमा ओलम्पिक छनोटमा निरु थापाले पहिलोपटक नेपाली टोलीको कप्तानी पाएकी थिइन्। उनको नेतृत्वको टोली पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको थियो। अनुकै कप्तानीको त्यही टोलीले नै हिरो गोल्डकपमा भारतलाई हराएको हो।

तर सन् २०१० मा अनुले डेब्यु गरेकै वर्ष ढाकामा भएको साग गेम्समा पहिलोपटक महिला फुटबल समावेश गरिएको थियो। त्यो सागसँगै २०१६ मा भारतको सिलोङमा भएको १२औं सागको फाइनल पनि नेपाल भारतसँगै पराजित भयो।

ती दुवै फाइनलमा उपाधि जित्न नसकेको नमिठो अनुभव बोकेकी र करिअरको उत्तरार्धमा रहेकी निरू (३१ वर्ष)ले यसपटक घरेलु मैदानमा नेपाललाई स्वर्ण जिताएर सन्न्यास लिने योजना बनाएकी छन्। उनी भन्छिन्, ‘सागमा गोल्ड मेडल ल्याएर विश्राम लिने सोच छ। यसपटक लामो समय प्रशिक्षण पनि भएको छ। टिमले पनि कडा मेहनत गरेको छ। यसपटक स्वर्ण आउनेमा बढी आशा छ।’

प्रशिक्षक खड्का पनि यसपटक आफूहरुको टिमले स्पष्ट स्वर्ण सपना देखेको सुनाउँछन्। उनी भन्छन्, ‘जुनसुकै प्रशिक्षकले जिम्मेवारी लिइसकेपछि उसको लक्ष्य स्वर्ण नै हुन्छ। त्यो लक्ष्य मेरो पनि छ। स्वर्णकै लक्ष्य राखेर हामीले तयारी सुरु गरेका हौं। त्यसका लागि टिमले भरपुर मेहनत गरेको छ।’

प्रशिक्षक खड्का, साफ च्याम्पियनसिपमा भएका कमजोरी सुधार्नेमा मुख्य ध्यान दिएको बताउँछन्। ‘घरेलु मैदानमा यस टोलीले जित्ने भावना जगाएको थियो। त्यसका बाबजुद हार्‍याैँ,’ खड्काले भने, ‘अहिले के कारण हार्यौ भनेर केलाएका छौं। साफमा पहिलो हाफ राम्रो खेल्दाखेल्दै दोस्रो हाफमा केही कमजोरी भए। व्यवस्थित डिफेन्स, पाएका अवसर सदुपयोग गर्न नसक्नुजस्ता कमजोरी सुधार्दै कप्याक्ट टिम बनाउन मेरो प्रशिक्षण केन्द्रित छ।’

प्रशिक्षक खड्का पनि सागमा पनि नेपाली स्वर्ण लक्ष्यको तगारो भारत नै हुने मान्छन्। उनी भन्छन्, ‘मुख्य प्रतिद्वन्द्वी भारत नै हो। बंगलादेशले पनि अपग्रेड गरिरहेको छ। भारतको बलियो पक्ष हामीले औल्याएको छौं। उनीहरूको बलियो पक्षलाई कसरी ब्लक गर्ने र हाम्रो कमजोरीलाई कसरी बलियो पक्षमा कन्भर्ट गर्ने भन्नेमा म केन्द्रित छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .