खेलाडीलाई पत्रकारको निकै महत्व हुन्छ। वर्षभरि मेहनत गरेर खेलाडीहरुले सीमित ठाँउमा आफ्नो प्रदर्शन देखाएका हुन्छन। प्रदर्शनको एरियामामात्रै सीमित नराखेर त्यसलाई व्यापक बनाउने मिडियाले हो। खेलाडीहरुले आफूले गरेको मेहनतको प्रतिफल पुरस्कार ग्रहण समारोहमा मात्रै सीमित नरहोस र भोलि राम्रो कभरेज होस भन्ने पनि अपेक्षा राख्दछ।
दक्षिण एसियाली फुटबल(साग)को अहिले नेपालमा आयोजना हुँदैछ। कुनैपनि ठूला प्रतियोगिताहरु आयोजना हुँदा अन्तम समयमा पूर्वाधार नबनेको, तयारी नपुगेको विषयमा मिडियाकर्मीहरु तातेका हुन्छन। अन्तिममा मात्रै सीमित नरहेर मिति घोषणा भएकै मिति देखि तयारीका लागि निरन्तर घचघचाउने, फलोअप गर्ने काम भयो भने सम्बन्धित निकाय समयमै काम गर्न बाध्य हुने अवस्था श्रृजना बन्छ भन्ने मलाई लाग्छ।
मैले सागमा दुई पटक स्वर्ण जिते। त्यसबेला खेलाडीलाई समाचारले कति महत्व हुन्छ भन्ने मैले महशुस गर्न पाएको छु। आठौ(सन् १९९९) सागको छनोट चरणमा मैले राम्रो खेलाडीलाई पराजित गरेको थिए। समरबहादुर गोले भर्खरै १३औं एसियाली खेलकुदमा कास्य पदक जितेर आएका थिए। उनैलाई पराजित गर्दै म आठौं सागका लागि छानिएको थिए।
त्यसबेला भर्खरै समरबहादुरले एसियन गेममा भर्खरै जितेर आएको छ, दीपकले जित्दैन भन्ने सबैले आँकलन गरेका थिए। तर हामी दुवै प्रतिद्धन्द्धी भएका हिसाबले मैले जसरी पनि उसलाई जित्नुपर्छ भन्ने मनमा रहिरहन्थ्यो। एसियन गेम्समा जादा पनि अन्तिम छनोटमा उसले मलाई नै हराएर गएको थियो। त्यसपछि कास्यपदक जितेपछि जताततै मिडियामा उसको समाचार, फोटो, भिडियो आयो। त्यो देख्दा मलाई अहो, त्यो ठाँउमा म हुनुपर्ने, मैले अलिकति मेहनत गरेको भए आज त्यो ठाउमा म हुन्थे भन्ने प्रोत्साहन मिडियाले जगायो।
त्यो प्रोत्साहन मनमा लिएर मैले ट्रेनिङ गरे र भर्खरै एसियन गेम्समा कास्य जितेर आएका समरबहादुरलाई नै छनोटमा पराजित गरेर सागमा छनोट भए। राम्रो खेलाडीलाई जितेपछि भोलिपल्ट मिडियामा मेरो फोटो छापिन्छ होला भन्ने मैले अपेक्षा राखेको थियो। तर भोलिपल्ट मिडियामा हेर्छु, उसैको फोटो अगाडिबाट मेरो फोटो पछाडिबाट आएको छ। नाम हाइलाइट्स भने मेरो नै भएको थियो। उसलाई त एसियन गेम्समा पदक जितेर आउँदा सबैले चिनिसकेका थिए। मैले उसलाई हराउँदा चिनाउने पालो मेरो थियो। तर मेरो फोटो पछाडिबाट आयो।
मैले सन्दर्भ जोड्न खोजेको कहाँनिर भन्दा सातौं राष्ट्रिय खेलकुदमा मेरो(प्रशिक्षक भएपछि) एउटा खेलाडीको पनि त्यस्तै भएको थियो। हार्नेको पछाडिबाट र जित्नेका अगाडिबाट फोटो आएछ। उसले के मनन गरेको रैछ भने मैले हारेकाले मेरो पछाडिबाट आयो, जित्नेको अगाडिबाटै फोटो आयो। अब म आठौंमा जित्छु र अगाडिबाट फोटो खिचाउँछु। त्यो फोटोले उसलाई यस्तो इगो भएछ कि उसले आठौंमा गोल्ड मेडल नै जित्यो। पछि आएर मलाई त्यसबेला यस्तो भएको थियो, मैले यसलाई जितेर देखाउँछु भन्ने इख राखेको कुरा सुनायो।
मैले पनि उसको जस्तै आठौं सागको छनोटमा राम्रो खेलाडीलाई हराउदा फोटो आउनुपर्ने अपेक्षा राखेको थिए तर पछाडिबाटमात्रै आयो। सानो एउटा फोटोले, पत्रिकामा छापिने नामहरुले पनि खेलाडीहरुलाई यति असर पार्छ। धेरै मनोबल, आत्मबल बढाउँछ।
मैले आठौं र नवौं सागमा लगातार स्वर्ण जितेको थिए। १० औंमा ह्याट्रिक गर्ने पालो थियो।नेपालबाट जादाखेरि तीनजना खेलाडीहरु ह्याट्रिक गर्न जादैँछ भनेर त्यसबेला मिडियामा भयंकर रुपमा आएको थियो। संगीना बैद्य, दीपक विष्ट र म दीपक श्रेष्ठ। त्यसमध्ये दीपक विष्टमात्रै सफल भए। संगीना र म असफल भयौं। स्वर्ण पदक जित्ने धोको बोकेर म श्रीलंका गएको थिए। तर, मैले ह्याट्रिक गर्न पाइन। मैले आयोजक राष्ट्रसँग पहिलो गेममै पराजय भोग्नुपर्यो। मैले धाधलीपूर्ण तरिकाले हराईयो भन्दै विरोध गरे। खेल दुई घण्टा रोकियो।
मिडियाकर्मीलाई पक्कैपनि हाम्रो गेमको बारेमा थाहा थियो। तर, मिडियाकर्मीहरु गेमको बेला त्यहाँ भएको भए म ह्याट्रिक गर्नसक्थे कि भन्ने मलाई आज महशुस हुन्छ। मैले धाधलीपूर्ण रुपमा मलाई हरायो भनेर जुन दाबी गरेको थिए, त्यो बेला मिडियाकर्मीहरुले त्यो फाइट खिचेको भए प्रमाणित गर्न मलाई अझै सहयोग पुग्थ्यो। मिडियाको भुमिका अन द स्पट खेलाडीहरुले खेलिरहेको बेलापनि त्यतिकै महत्वपूर्ण हुन्छ। पुरस्कार बाड्ने बेलामामात्रै उपस्थित नभई सबै खेलमै उपस्थित भइदिन हुन म मिडियाकर्मीहरुलाई अनुरोध गर्दछु।
नेपाली नेपाली खेलाडीहरुलाई डोपिङ(प्रतिबन्धित औषधि वा उपायको प्रयोग) टेस्टका बारेमा त्यति जानकारी छैन। त्यो बारेपनि मिडियाकर्मीहरुले खेलाडीहरुलाई सुसुचित गराइदिनुपर्छ। त्यसले खेलाडीहरुलाई मद्दत हुन्थ्यो।
नवौं सागमा मैले स्वर्ण पदक जित्ने बित्तिकै डोपिङ टेस्टका लागि समातिहाल्यो। त्यसबेला हामीलाई डोपिङ के हो भन्नेबारे केही थाहा थिएन। आठौं सागमा डोपिङको केही कुरा आएको थिएन। मैले स्वर्ण जित्ने वित्तिकै मलाई डोपिङ कमिटिले समातेर लग्यो। ९० मिलिलिटर पिसाब माग्यो। रगत तान्यो। मैले केही औषधि खाएको थिएन र क्लियर भयो। तर, मलाई के खाए, के हुन्थ्यो? भन्ने जानकारी नै नरहेकाले अन्जानमा केही खाएको भए मेरो पदकै खोसिन्थ्यो।
यो पनि: च्याम्पियनलाई एक मौका नै काफी
यो पनि: ‘क्रियटिभ’ क्रिकेटर ज्ञानेन्द्र
त्यसपछि भने मिडियाकर्मी पनि सबैलाई सुसुचित गराएपछि आज डोपिङबारे केही सचेतना फैलिसकेको छ। त्यसको लाभ खेलाडीहरुले प्राप्त गरेका छन। यो क्रम मिडियाबाट जारी रहोस भन्ने चाहान्छु।
यहाँ त खेलसंघ, पदाधिकारी भन्दापनि मिडियाकर्मीलाई बढी विश्वास गर्ने प्रचलन बढ्दै गएको छ। हिजोका दिनमा मिडियाकर्मीको विदेशमा हुने खेलकुद कार्यक्रममा मिडियाकर्मीको नाम त हुन्थ्यो तर साच्चकै मिडियाकर्मी हुन्थेनन। तर अब त्यस्तो अवस्था छैन, विदेशमा जादा खेलाडी, अफिसियल, पदाधिकारीको नाम काट्न सकिन्छ तर मिडियाकर्मीको नाम काट्न सकिन्न।
अब नेपालमा १३ औं साग(मंसिर १५)बाट आयोजना हुँदैछ। हामी भौतिक पूर्वाधार अहिलेपनि तयार गर्ने क्रममै छौं। हामीलाई जहिलेपनि खेलकुदमा सकरात्मक समाचार आओस, राम्रो होस भन्ने लागिरहन्छ। तर कमी कमजोरी जहाँ पनि हुन्छन। त्यसलाई कम गर्न आयोजकहरुले निरन्तर प्रयत्न गर्नुभएको छ, खटिरहनु भएको छ। त्यसलाई सकरात्मक रुपमा लिन्छौं।
अब मिडियाकर्मी, स्वयमसेवी, जिम्मेवार व्यक्तित्वबाट पाहुनाहरुलाई राम्रो व्यवहार र हस्पिटालिटी होस भन्ने चाहान्छौै। उनीहरुबाट नै हामीले राम्रो सन्देश बाहिर पठाउने हो। तिमीहरुको ठाउमा यस्तो व्यवहारमा त हामीले खेलेर आयौं भनेर पाहुनाहरुले नाक खुम्चाउनुपर्ने अवस्था नआओस। किनकी भोलि हाम्रा खेलाडीलाई पनि विदेशमा गएर खेल्नपर्छ। उनीहरुले पनि उस्तै खालको व्यवहार हामीलाई नगरोस।
यो पनि: खेलकुद मन्त्रीको खटाइ : मन्त्रालयमा भन्दा बढी रंगशालामा
हामी गरिब हौं, भुकम्पबाट थलिएको देश हो। तरपनि हामीले राम्रो ब्यवहार र आचरणले विदेशबाट आउने जतिपनि खेलाडी, पदाधिकारीहरु छन् उनीहरुलाई शिष्टाचार व्यवहार र राम्रो हस्पिटालिटी दिएर पठायौं भने सायद अहिले हाम्रा जतिपनि पूर्वाधारहरु कच्ची अवस्थामा छन् त्यसलाई हाम्रो व्यवहार र शिष्टाचारले छोप्नेछ।
(दीपक श्रेष्ठ सागका दोहोरो स्वर्णधारी खेलाडी हुन्। हाल कराँतेका प्रशिक्षक रहेका श्रेष्ठ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत हुन्। यो नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको मिडिया वर्कसपमा मंगलबार श्रेष्ठले राखेको मन्तब्यको सम्पादित अंश हो।)
प्रतिक्रिया