समाज


पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा, साँघुराे क्षेत्रमै ४४ बाघ

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा, साँघुराे क्षेत्रमै ४४ बाघ

नेपालखबर
साउन १३, २०८२ मंगलबार १३:४७, कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् । विश्वको दुर्लभ मानिने बाह्रसिंगाको झुन्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा पर्याप्त आहारा, वासस्थानकोे उचित व्यवस्थापनले बाघको संख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ रहेकामा सन् २०१८ मा १६, सन् २०२१ मा १९ र सन् २०२२ मा उक्त संख्या बढेर ३६ पुगेको हो।

निकुञ्ज कार्यालयको पछिल्लो गणनाअनुसार यहाँ बाघको संख्या ४४ पुगेको छ । निकुञ्जमा क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणनाअनुसार २४ भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४४ पुगेको सूचना अधिकारी वाग्लेले बताए। निकुञ्जका अनुसार थोरै क्षेत्रफल रहेको शुक्लाफाँटामा बाघको संख्या धेरै हो।

‘यहाँ बाघका लागि आहारा र वासस्थानको उचित वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्,’ वाग्लेले भने, ‘निकुञ्जमा कोर एरिया व्यवस्थापन प्रभावकारी छ, यहाँ एक सयभन्दा बढी पानीका ताल छन् त्यसकारण बाघको आहारा बढेकाले संख्यामा वृद्धि भएको हो।’

उनले शुक्लाफाँटाभित्र रहेका ठुलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र निकुञ्जभित्र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढेको बताए। उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रूपमा बाह्रसिंगा, रतुवा, चित्तल र बँदेल छन्।

वाग्लेले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात भए पनि यसको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनुलगायत समस्याले यहाँ उल्लेख्य पर्यटक आउन नसकेको बताए।

‘जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो । थोरै क्षेत्रफलमा यहाँ धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यहाँ आउने हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको संख्यामा कमी आएको हो।’ उनले शुक्लाफाँटा पर्यटनको ठुलो सम्भावना बोकेको गन्तव्य भएको बताए।

उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरे पनि सोअनुसारको ‘टुरप्याकेज’को व्यवस्था हुन नसक्दा पर्यटकको कमी हुने गरेको धारणा राखे।

सूचना अधिकारी वाग्लेका अनुसार निकुञ्जमा दुई हजार ३२३ भन्दा बढी बाह्रसिंगा छन् भने ४४ वटा पाठेबाघ छन्। विश्वकै सबैभन्दा ठुलो घाँसेमैदानका रूपमा निकुञ्जको विशेषता रहेको उनको भनाइ छ।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad