समाज


भारतमा तयार कोरोना संक्रमणविरुद्ध खाने पाउडर औषधि कस्तो हो? सात जिज्ञासा र जवाफ

भारतमा तयार कोरोना संक्रमणविरुद्ध खाने पाउडर औषधि कस्तो हो? सात जिज्ञासा र जवाफ

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ११:४३,

भारतको औषधि महानियन्त्रक (डीसीजीआई) ले मुलुकमै बनेको कोरोना संक्रमणविरुद्ध खाने औषधिलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। पानीमा घोेलेर खाने यो पाउडर औषधि कोरोनाबाट संक्रमित मध्यमदेखि गम्भीर अवस्थासम्मका बिरामीलाई उपयोगी हुने ठहर गर्दै आपतकालीन प्रयोगको अनुमति दिइएको हो।

आउनुहोस्, यस औषधिबारे विविध कुरा जानौं 

१. यो औषधि कसले बनाएको हो?
यो औषधि रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) अन्तर्गत प्रतिष्ठित प्रयोगशाला आईएनएमएएसले हैदराबादस्थित डा. रेड्डी प्रयोगशालासँग मिलेर विकास गरेको हो। औषधिको नाम २-डीजी हो। यसको पूरा नाम २-डीअक्सी-डी-ग्लुकोज हो। यो सामान्य अणु र ग्लुकोजजस्तै भएकाले यो औषधि भारतमा प्रशस्त मात्रामा उत्पादन गर्न सकिन्छ।

२. यो औषधिको स्वरूप कस्तो हुन्छ?
२-डीजी पाउडरका रूपमा प्याकेटमा आउँछ, जसलाई पानीमा घोलेर पिउन सकिन्छ। ग्यास्ट्रिक र अपचको समस्यामा प्रयोग हुने औषधिजस्तै पानीमा घोलेर पिउने हो।

३. मूल्य कति पर्ला?
हुन त यसको आधिकारिक जानकारी प्राप्त भइसकेको छैन। तर एक प्याकेटको भारतीय रुपैयाँ ५ सयदेखि ६ सयम्म पर्ने बताइएको छ। यसबारे औषधि उत्पादक कम्पनी डा. रड्डिजले बताउने नै छ।

४. औषधिले संक्रमितलाई स्वस्थ हुन कसरी सहयोग पुर्‍याउँछ?
यो औषधिले त्यस्ता संक्रमितलाई स्वस्थ हुन मद्दत पुर्‍याउँछ, जसलाई सास फेर्न समस्या हुन्छ। परीक्षणका क्रममा यो औषधिले अस्पतालमा भर्ना भएका बिरामीलाई सञ्चो पार्न सहयोग गर्नाका साथै अक्सिजनको आवश्यकता पनि घटाएको पाइयो। रक्षा मन्त्रालयले भनेको छ : जारी दोस्रो लहरको कोरोना महामारीका कारण ठूलो संख्यामा बिरामीलाई अक्सिजन दिनुपर्ने तथा अस्पताल भर्ना गर्नुपरेको छ। यस औषधिले अमूल्य जीवन बचाउने अपेक्षा गरिएको छ। साथै कोरोना संक्रमितलाई अस्पतालमा बस्नुपर्ने समय पनि घटाउनेछ।’

५. कोरोनाविरुद्ध यो औषधिले कसरी काम गर्छ?
कोरोनासँग लडिरहेका बिरामीलाई यो औषधि निकै लाभकारी हुन्छ। यही मे १ देखि यो औषधिलाई मध्यम तथा गम्भीर लक्षणका कोरोना संक्रमितको उपचारमा सहायक विधिका रूपमा आपतकालीन प्रयोग गर्न डीसीजीआईले अनुमति दिइसकेको छ। २-डीजी औषधि भाइरसबाट संक्रमित कोषिकामा जम्मा हुन्छ र भाइरसको वृद्धि रोक्छ। औषधिको प्रभावबारे मन्त्रालयले भनेको छ : लक्षणयुक्त जुन जुन बिरामीमा यो औषधि प्रयोग गरिएको थियो, उपचार प्रक्रियाको मानक (एसओसी) भन्दाअघि नै उनीहरू ठीक भए। २-डीजी प्रयोग गरिएका धेरैजसो संक्रमितको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए।’

६. डीआरडीओले यो औषधि बनाउन कहिले थालेको थियो?
सुरुकै कोरोना महामारीका बेला गत २०२० अप्रिलमा आईएनएमएएस–डीआरडीओका वैज्ञानिकले हैदराबादस्थित सेन्टर फर सेलुलर एन्ड मोलिकुलर बायोलोजीसँग मिलेर प्रयोगशालामा यो औषधिको अनुसन्धान सुरु गरेका थिए। त्यस क्रममा औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी तथा संक्रमण बढ्न नदिने पाइयो।

७. क्लिनिकल ट्रायलको नतिजा कहिले आएको हो?
मन्त्रालयका अनुसार पहिलो नतिजापछि डीसीआईजी केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले २०२० मे मा २-डीजी औषधि कोरोनाका बिरामीमा प्रयोग गरी दोस्रो चरणको परीक्षण गर्न अनुमति दिएको थियो।

यसको प्रभावकारिता र सुरक्षा जाँचपछि गत वर्षको मेदेखि अक्टोबरसम्म यो औषधिको दोस्रो चरणको परीक्षण गरिएको थियो भने नतिजा कोरोना संक्रमितलाई निको पार्न मद्दत गर्ने आयो। दोस्रो चरणको पहिलो खेपमा ६ अस्पताल र दोस्रो खेपमा देशका अन्य स्थानका ११ अस्पतालका गरी ११० बिरामीमा औषधि परीक्षण गरिएको थियो।

सफल नतिजापछि डीसीजीआईले २०२० नोभेम्बरमा तेस्रो चरणको परीक्षणका लागि अनुमति दियो। तेस्रो चरणको परीक्षणमा यो औषधि २०२० डिसेम्बरदेखि २०२१ मार्चसम्म देश (भारत) भरका २७ अस्पतालका २२० संक्रमितमा प्रयोग गरिएको थियो। यी अस्पताल दिल्ली, उत्तर प्रदेश, पश्चिम बंगाल, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगना, कनौटक र तमिलनाडुका थिए।

तेस्रो चरणको ट्रायलको नतिजा डीसीआईजीमा बुझाइयो। नतिजाअनुसार २-डीजी औषधिले लक्षणवाला संक्रमितमा उल्लेखनीय सुधार ल्यायो भने तेस्रो दिनदेखि नै अक्सिजनको निर्भरता ३१ प्रतिशतदेखि ४२ प्रतिशतसम्म घटाएको पाइयो। यो सुधार ६५ वर्षभन्दा माथिका मानिसमा पनि देखियो। नवभारत टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .