समाज


आइजीपीका गैरकानुनी ‘साइबर सेना’

आइजीपीका गैरकानुनी ‘साइबर सेना’

दीपक खरेल
साउन २, २०७६ बिहिबार ३:३४,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफ्ना गलत कामका कारण आलोचित बन्दै गएपछि संगठित प्रतिरक्षा गर्न ‘साइबर सेना’ तयार पारेको खुलेको छ। फेक फेसबुक अकाउन्टबाट परिचालन हुने ती साइबर सेनाले महानिरीक्षक खनालका गलत कामको बचाऊ र तथ्यगत खबरदारी गर्नेउपर निकृष्ट गाली प्रहार गर्ने गरेका छन्।

नेपालखबरको फ्याक्ट चेकमा आइजीपी खनालको पक्षमा फेक आइडीबाट परिचालन हुने ती साइबर सेनाको सिधा सम्पर्क बर्दीधारी प्रहरीसँग देखिएको छ।

फेक आइडीसँग जोडिने ती वास्तविक प्रहरीहरु खनाल निकट, कुनै बेला उनीसँगै एउटै अड्डामा काम गरेका एवं उनको सचिवालयले परिचालन गरेकाहरु हुन्।

फेक अकाउन्टसँग बर्दीधारीको कनेक्सन
रोशन लिम्बु नामको अकाउन्टबाट नेपालखबरको समाचारमा प्रतिक्रिया जनाउँदै २०७६ साउन १ गते बुधबार प्रतिक्रिया आयोः ‘हामीलाई त हाम्रै आइजीपी साहेब नै ठिक हुनुहुन्छ।’ यो प्रतिक्रिया ‘आइजीपीले बिमस्टेक बैठकमा अनुमोदन गरेको विषय सरकारद्वारा अस्वीकृत’ शीर्षकको समाचारमा आएको हो।

अब हेरौं रोशन लिम्बु को हुन्? उनी के काम गर्छन्? परिवार र साथी को को छन्? उनको प्राेेफाइल तस्विर टोप र कालो गग लगाएको बच्चाको छ। यो अकाउन्ट २०१९ जुन २१ मा खोलिएको हो। महानिरीक्षकका साइबर सेनाले चलाउने अरु धेरै फेक अकाउन्टहरु जुन महिनाकै अन्तिम साता खुलेका छन्। (यसबारेमा थप जान्न यो रिपोर्ट पढ्नुहोस्)

रोशनको अकाउन्टमा कुनै परिचय उल्लेख छैन। अबाउटमा कुनै जानकारी छैन। पब्लिक पोष्ट छैन। यी तथ्यबाट यो अकाउन्ट फेक भएको प्रमाणित हुन्छ।

रोचक पक्ष के छ भने यो अकाउन्टसँग एउटा कोट लगाएको फोटो भएको व्यक्ति  फ्रेन्ड देखिन्छन्। ती हुन्, रमेशकुमार साह। हेर्नुहोस् प्रिन्ट स्क्रिन:

roshan limbu fake 

प्रहरी महानिरीक्षकका साइबर सेनाको खोजी गर्ने क्रममा नेपालखबर उनी समक्ष पुगेको थियो।

को हुन् त उनी?

फेक अकाउन्टसँग साथी रहेका रमेशकुमार साह नेपाल प्रहरीकै सई हुन्। उनी काठमाडौंस्थित ट्राफिक महाशाखामा कार्यरत छन्। स्रोतहरुका अनुसार महानिरीक्षक खनालकै पहलमा उनी काठमाडौं आएका हुन्।

नेपालखबरले उनलाई सोधेको थियो, ‘फेक अकाउन्ट ह्यान्डल गर्ने आइजीपीका साइबर सेनामध्ये तपाइँ पनि एक जना हो?’ जवाफमा उनले ‘होइन’ भन्न सकेनन्। ‘मैले कसरी हो भन्ने, म आईटीको स्टुडेन्ट हुँ कस्तो हुँदो रहेछ भनेर रिसर्च गरेको हुँ’, उनले भने।

ramesh kumar shahफेक आइडी ह्यान्डल गर्नेमध्येका एक प्रहरी साह

नेपाल प्रहरीमा २०७१ सालमा प्रहरी सञ्चार सेवामा प्रवेश गरेका उनी २०७४ चैत्रमा असइबाट सईमा बढुवा भएका हुन्। उनी जिल्ला प्रहरी कार्यालय सप्तरीमा थिए। हाल उनी महानगरीय ट्राफिक प्रहरी महाशाखाको सञ्चारमा कार्यरत छन्। उनी महाशाखाले चलाउने मेट्राे ट्राफिक एफएममा समेत सक्रिय छन्। याे शाखामा उनले काम गर्न थालेको ४ महिना मात्र भयो।

महानिरीक्षकले फेक अकाउन्टबाट आफ्ना गलत कामको ढाकछोप गर्न साइबर सेना परिचालन गरेको खबर नेपालखबरमा मंगलबार प्रकाशित भएसँगै बुधबार दिउँसोदेखि रोशन लिम्बु नामको फेक अकाउन्ट डिएक्टिभेट भएको छ।

दीपेन्द्र बिष्ट, रमेश अधिकारी र श्याम ओली नामका फेक अकाउन्टहरु पनि बन्द भएका छन्।

कसरी काम गरिरहेछन् साइबर सेनाले?

बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र त्रिभुवन विश्व बिद्यालयका उपकूलपति तीर्थराज खनियाँबीच एउटा सहमतीपत्रमा हस्ताक्षर भयो। नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच संस्थागत साझेदारी स्थापना गर्न भएको सहमती सुखद समाचार हो।

नेपाल प्रहरीको आधिकारीक फेसबुक पेजमा यो समाचार तस्बिरसहित १२ः३४ बजे पोस्ट भयो। यो सामग्री प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले १ः५४ को बुलेटिनमा सञ्चार माध्यमलाई पठायो। प्रहरीको नियमित समाचार बुलेटिन पुग्ने सबै सञ्चार माध्यमले यो खबर करिब २ः०५ हाराहारीमा प्रकाशित गरे।

भरत पौडेल नामको अकाउन्टबाट २ः२४ बजे यससम्बन्धी समाचार लिंक सेयर भयो। इन्टरनेटमा प्रहरी महानिरीक्षक खनाललाई ‘भगवान्’ बनाउने र उनको आलोचकहरुलाई गाली बेइज्जती गर्ने अर्को फेसबुक अकाउन्ट हो, भरत पौडेल। सो समाचार लिंक प्रहरीका नायब निरीक्षक रमेशकुमार साहले २ः१८ मा सेयर गरेका छन्। 

अब हेरौं भरत पौडेल को हुन्? उनको अकाउन्टमा आफन्त तथा साथीहरु को-को छन्? फ्रोफायल तस्विरमा कालो चश्मा र ज्याकेट लगाएको तस्विर छ। यो अकाउन्ट २०१९ जुन २५ अर्थात् अघिल्लो रोशन सुब्बाको अकाउन्ट खोलिएभन्दा ४ दिनपछि खोलिएको छ। भरतको फेसबुक अकाउन्टमा कुनै परिचय छैन, अबाउट खाली छ। पब्लिक पोष्ट एउटै छैन। यी तथ्यहरुले यो अकाउन्ट फेक भएको प्रमाणित गर्छ।

bharat poudelअधिक सक्रिय अर्को एउटा फेक अकाउन्ट

महानिरीक्षक खनालको पक्षमा खातिरदारी गर्ने अर्को फेसबुक अकाउन्ट सञ्जिव रोक्कासँग पनि साहको सम्पर्क देखिन्छ। सञ्जीव रोक्का को हुन् त? उनका साथी को को छन्? सञ्जिव रोक्का नामको अकाउन्टको प्रोफायलमा पहाडमा हिउँ परेको फिक्का तस्विर छ। २०१९ जनवरी १७ मा बनाइएको सो अकाउन्टमा पचियमा केही उल्लेख छैन। पारस्परिक साथीमा उनै साह मात्रै छन्। यसले प्रमाणित गर्छ यो अकाउन्ट पनि फेक हो।

नेपालखबरसँग कुराकानी भएसँगै सञ्जिव रोक्का नामको अकाउन्टसँग पनि उनी सम्पर्क बिच्छेद गरेका छन्। समाचार प्रकाशित भएसँगै प्रहरीसँग नेक्सेस देखिने फेक अकाउन्ट बन्द भएका छन्। केही अझै बाँकी छन्।

लोकमानसिंह कार्की पथमा खनाल
नेपाल प्रहरी देशको कानुन पालना गराउने सुरक्षा अंग हो। उसले गैरकानुनी रुपमा गाली गलौज गर्नेहरुलाई साइबर अपराधमा मुद्दा चलाउँछ। समाज र देशमा इमान, निष्ठा र कर्तव्य पालनाको पहरेदारी गर्छ। गलत कामलाई निरुत्साहन गर्नु प्रहरीको पहिलो कर्तव्य नै हो। तर प्रहरी नेतृत्वमा रहेका खनाल स्वयं आफ्ना गलत कामको ढाकछोपका लागि फेक अकाउन्टका साइबर सेना तयार पारेर काम गरिरहेको विषयले महानिरीक्षक खनालको आचरणमाथि गम्भीर प्रश्न उब्जिएको छ। आफ्नो बद्नाम छवि उजिल्याउन संगठित रुपमा फेक अकाउन्टमार्फत् साइबर सेना परिचालन गर्नु गैरकानुनी काम समेत हो।

सत्ता, शक्ति र पदमा बसेर बद्नाम हुँदै गएपछि सामाजिक सञ्जालमा साइबर सेना परिचालन गर्ने प्रयास यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पनि गरेका थिए। जनआन्दोलन–२ दमन गरेको भन्दै रायमाझी आयोगले दोषी ठहर गरेका उनी अख्तियारमा नियुक्त भएसँगै गलत कार्यशैलीका कारण जनघृणाको पात्र बने। २०७२ को सुरुदेखि नै उनका गलत कामको फेहरिस्त दिनदिनै समाचार बन्न थाले।

आश्चर्य त के भयो भने उनी दिनदिनै टंगाल कार्यालयबाट कानुन असंगत काम गर्थे, जनबिरोधी काम गर्थे। तर अनलाइनमा कार्कीको पक्षमा ठूलो जनमत देखिन्थ्यो। त्यो समूहले लोकमानका गैरकानुनी कामहरुको बचाउ गर्ने मात्र होइन उनलाई भगवानको रुपमा चित्रण गर्थ्यो। समाचार लिंकको प्रतिक्रियाबाट लोकमानसिंहविरुद्ध लेख्ने, बोल्नेहरुलाई गाली गलौज गरिन्थ्यो। उछित्तो काडिन्थ्यो।

२०७२ पुसमा नेपाली भाषाको ब्लग माइसंसारले पुष्टि गर्यो लोकमानसिंहको पक्षमा देखिएको त्यो जनमत फेक थियो। महाअभियोग सामना गरिरहेकै बेला २०७३ पुसमा सर्वोच्च अदालतको निर्णबाट कार्की बर्खास्त भए।

लोकमान बर्हिगमनको ३ वर्षपछि अख्तियारकै छिमेकमा कार्यालय रहेका प्रहरी महानिरीक्षक त्यही फर्मुला प्रयोग गरिरहेका हुन्।

के हो साइबर सेना?
अंग्रेजीमा साइबर आर्मीको नेपाली अनुवाद साइबर सेना हो। साइबर सेना के हो भन्ने विषयमा विश्वभरि नै विज्ञहरुको मत ऐक्यता देखिँदैन। आम बुझाइमा इन्टरनेटमा दुई वटा पक्ष र विपक्ष रहेको अवस्थामा एक अर्काको कम्प्युटर तथा नेटवर्कमार्फत् गरिने आक्रमणमा परिचालन हुने व्यक्ति साइबर सेना हो। बिल क्लिन्टन र जर्ज डब्लु बुसको समयमा अमेरिकाको सुरक्षा, पूर्वाधार र प्रतिआतंकवाद हेर्ने विभागको प्रमुख रहेका रिचर्ड क्र्लक भन्छन्, ‘साइबर सेना दुई किसिमको हुन्छ, एउटा रणनीतिक र अर्को अप्रेसनल। साइबर सेना त्यो हो जसले कम्प्युटर वा नेटवर्कभित्र प्रवेश गरी ड्यामेज वा खलल पुर्याउँछ।’ त्यसैले आइजीपी खनालको पक्षमा रणनीतिक रूपमा पुलिस परिचालन भएको देखिए पनि इन्टरनेटको भाषामा त्यो साइबर सेना नै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .