राजनीति


बाइडेनको ८ करोड खोप सहयोगमा के नेपाल प्राथमिकतामा पर्ला?

बाइडेनको ८ करोड खोप सहयोगमा के नेपाल प्राथमिकतामा पर्ला?

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १०:४१,

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत सोमबार विभिन्न मुलुकलाई ८ करोड डोज कोभिड खोप प्रदान गर्ने घोषणा गरे।

सो घोषणापछि महामारीको दोस्रो लहरको चपेटामा परेको नेपाल अमेरिकी खोप सहयोगको प्राथमिकतामा पर्छ कि पर्दैन भन्ने स्वभाविक जिज्ञासा र चासो सुरु भएको छ।

यसबीचमा अमेरिकालगायत मुलुकबाट खोप सहयोग माग्दै विभिन्न नागरिक समूहहरुले अभियान समेत सुरु गरेका छन्।

अमेरिकाबाट नेपालले खोप प्राप्त गर्ला कि नगर्ला? अमेरिकाले दियो भने नेपालले कहिलेसम्म पाउला? यी जिज्ञासा हामीले काठमाडौँस्थित अमेरिकी दूतावाससँग राखेका थियौँ।

त्यसबारे अहिले नै केही टुंगो भइनसकेको तर केही हप्तामै त्यसबारे जानकारी प्राप्त हुने दूतावासको भनाइ छ।

दूतावासकी प्रवक्ता आना रिची–आलेनले अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न सुरुदेखि नै सहयोग गरिरहेको र यो क्रम जारी रहने बताइन्।

‘खोप वितरणको मापदण्ड र प्राप्त हुने समयबारे भने आउने केही हप्ताभित्र थप जानकारी प्राप्त हुनेछ,’ आलेनले नेपालखबरलाई बताइन्, ‘एस्ट्राजेनेकाको हकमा भने त्यसको ‘प्रोडक्ट क्वालिटी’को सुनिश्चितता भएपछि आपूर्ति गरिनेछ।’

परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि त्यसबारे नेपालस्थित अमेरिकी राजदूतसँग आफूहरु नियमित सम्पर्कमा रहेको बताएका छन्।

उता अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा पनि त्यस काममा लागिरहेको परराष्ट्रको भनाइ छ।

‘नेपालस्थित अमेरिकी दूतावास पनि नेपालको अवस्थाबारे राम्रोसँग जानकार नै छ र उहाँहरुले यस विषयमा नेपाल प्राथमिकतामा रहेको बताउनु भएको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाखलखबरसँग भनिन्, ‘तर कहिले उपलब्ध हुन्छ भन्ने टुङ्गो भने लागिसकेको छैन।’

अमेरिकाबाट खोप ल्याउने प्रयासमा मन्त्रालयले कुनै कसर बाँकी नराखेको लम्सालको दाबी छ।

कोभिड–१९ आफैँमा विश्वव्यापी समस्या भएकोले यसको सामना पनि अन्तर्राष्ट्रियरुपमै गर्नुपर्ने अमेरिकी दूतावासको भनाइ छ।

‘नेपाल र भारतमा देखिएका जस्ता नयाँ भेरियन्टहरु देखापर्दै जानेछन् र त्यसले हामी सबैलाई जोखिममा पार्नेछ,’ आलेनले बताइन्।

त्यसैले संयुक्त राष्ट्रसंघीय निकायहरुको समन्वयमा सञ्चालित कोभ्याक्सलाई अमरिकाले अहिलेसम्म सबैभन्दा ठूलो सहयोग गरेको र त्यसमार्फत् न्यून र मध्यम आय भएका मुलुकहरुलाई खोप आपूर्ति गरिएको उनले बताइन्।

‘कोभ्याक्स भ्याक्सिन पाउने नेपाल एसियामै पहिलो मुलुकमध्ये एक हो,’ उनले भनेकी छन्।

महामारीको सुरुदेखि नै नेपाल सरकार र नेपाली जनतासँगको समन्वयमा नेपाललाई सहयोग गरिरहेको र एउटा पुरानो साझेदारको रुपमा अहिले पनि सो सहयोग जारी रहने उनले बताइन्।

‘नेपाल अहिले कोभिड–१९ को त्रासदीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। अहिलेसम्म कोभिड–१९ कै कारण संसारमै सबैभन्दा धेरै नागरिकको ज्यान गुमाउने मुलुक अमेरिका भएका कारण यो महामारीबाट नेपालले सामना गरिरहेको समस्या अनुभूति गर्न सक्छौँ,’ प्रवक्ता आलेनले भनेकी छन्।

उनका अनुसार गतवर्ष मार्चदेखि हालसम्म अमेरिकाले नेपाललाई ५ करोड डलर बराबरको सहयोग गरिसकेको छ।

भेन्टिलेटर, सास फेर्ने उपकरण, पीपीई र अन्य मेडिकल उपकरणहरु नेपाललाई प्रदान गरिएको दूतावासको भनाइ छ।

यसैअन्तर्गत अमेरिकाको रक्षा मन्त्रालयले अक्सिजन उत्पादन प्लान्ट, तरल अक्सिजन भन्डारण ट्यांकहरु, अक्सिजन सिलिन्डरका लागि साढे २७ लाख डलर विनियोजन गरेको र यूएसएडले कोभिड परीक्षण किट्स, जेनेटिक सिक्वेन्सिङ, स्वास्थ्यकर्मीको सुरक्षा, कोभिड बिरामीको उपचार र अन्य महत्वपूर्ण कामका लागि ८५ लाख डलर प्रदान गरेको दूतावासले जनाएको छ।

यो पनिः

नेपाललाई कोभिड खोप प्रदान गर्न बेलायतसँग प्रधानमन्त्री ओलीको अनुरोध

कोरोना महामारीसँग लड्न छिट्टै अमेरिकाबाट स्वास्थ्य सामग्री आउँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .