गएराति दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
तुलसीपुरबाट घोराही जाँदै गरेको रा. १ ख ३२५१ नम्बरको बस मङ्गलबार राति तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।
बस अचानक अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिँएकाे प्रहरीले जनाएकाे छ। ‘दुर्घटनापछि बसका चालक नारायण कुँवर फरार छन् उनकाे खाेजी भइरहेकाे छ,’ डीएसपी शाहले नेपालखबरसँग भने।
बसमा चालकसहित आठ जना मात्रै सवार थिए।
घाइते हुनेमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ का ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ का २२ वर्षीया रुपा बोहरा, घोराही–३ कै २८ वर्षीया गीता विक, घोराही–९ का ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ का ४३ वर्षीय सन्तोष डिसी र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर छन्।
घाइते सबैकाे स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
बस विद्युतको पोलमा ठोक्किँदा पोल ढलेपछि सडकसमेत अवरुद्ध भएको थियाे। अहिले पाेल र तार हटाएपछि सडकमा सवारी चल्न थालेका प्रहरीले जनाएकाे छ।
Shares

प्रतिक्रिया