विराटनगर महानगरपालिकाले बजारमा हुने ठगी र अनियमितता नियन्त्रण गर्न अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने भएको छ।
पछिल्लो समय उपभोक्ताबाट गुणस्तरहीन वस्तुको बिक्री, नापतौलमा ठगी र मनपरी मूल्य असुलीका गुनासो आउन थालेपछि महानगरले कठोर बन्ने निर्णय गरेको हो। उपभोक्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै महानगरले अबका दिनमा नियमित र परिणाममुखी बजार अनुगमन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
विराटनगर महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०८० को प्रावधान अनुसार गठित समितिको बैठकले बजारलाई मर्यादित बनाउन व्यवसायीलाई कानुनको दायरामा ल्याउने निर्णय गरेको छ। महानगरकी उपमेयर एवं समितिकी संयोजक शिल्पा निराला कार्कीले व्यवसाय गर्ने अधिकारको प्रयोग गर्दा कानुनको पालना गर्नु हरेक व्यवसायीको प्राथमिक दायित्व भएको उल्लेख गरिन्।
उनले उपभोक्तालाई ठग्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा गुणस्तरमा सम्झौता गर्ने जोकोहीलाई पनि महानगरले कानुनी कारबाहीको दायरामा ल्याउने र यसमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारिन्।
त्यस्तै, बजारमा देखिएका विकृतिलाई जरैदेखि निर्मूल पार्नका लागि स्थानीय प्रशासन र सरोकारवाला निकायबीच बलियो समन्वय हुनुपर्नेमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जोड दिएका छन्। उनले अनुगमन प्रक्रियालाई केवल औपचारिक अनुष्ठानमा मात्र सीमित नराखी व्यवहारिक रूपमै प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै नियम उल्लंघन गर्नेहरू विरुद्ध प्रशासनले पूर्ण सहयोग गर्ने आश्वासन दिए।
बैठकमा सहभागी उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिले म्याद गुज्रिएका सामग्रीको कारोबार र मूल्यमा देखिएको अस्वाभाविक अन्तरलाई नियन्त्रण गर्न तत्काल एक्सन लिन माग गरेका थिए।
महानगरको यस सक्रियताले बजारमा हुने कालोबजारी र अनियमितता कम हुने अपेक्षा गरिएको छ। बैठकमा महानगरका राजस्व महाशाखा प्रमुख, विभिन्न व्यापारिक संघसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया