ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले भेटी चढाएको सुन तथा चाँदी प्रशोधन गरिएको छ।
करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले प्रशोधन गरेको हो। प्रशोधन गर्दा ५० तोला सुन निस्केको जनाइएको छ।
समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २०८० पुस २५ देखि २०८२ फागुन २५ गतेसम्म मन्दिरमा चढाइएका सुनचाँदी सङ्कलन गरी प्रशोधन गरिएको छ। पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा प्रशोधन गरिएको पौडेलले बताए।
पाथीभराको सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेले ६७ तोला प्रशोधनपछि ५० तोला ८५ लाल बराबरको २४ क्यारेट (एक नम्बर) सुन प्राप्त भएको बताए। त्यस्तै, ४३ किलोग्राम चाँदी प्रशोधन गर्दा दुई हजार ५४ तोला ३५ लाल बराबरको शुद्ध चाँदी निस्केको छ।
भण्डारणमा रहेका सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गरी यथाशीघ्र बिक्री प्रक्रिया अघि बढाउने तयारी भइरहेको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए। पछिल्लो समय सुनको मूल्यमा भइरहेको उतारचढावका कारण लिलामी प्रक्रिया प्रभावित भएको जनाउँदै उनले समितिमार्फत प्रभावकारी र व्यवस्थित प्रणाली अपनाउने तयारी भइरहेको बताए।
Shares

प्रतिक्रिया