झापाको बिर्तामोडमा रहेको एक होटलमा युवकको शव फेला परेको छ।
गएराति युवतीसँगै होटलमा बास बसेका युवकको शव फेला परेपछि प्रहरीले उनीसँगै बसेकी युवती र होटल सञ्चालक महिलालाई पक्राउ गरेको छ।
बिर्तामोडको एभरेस्ट होटल एन्ड लजमा बास बसेका झापाकै हल्दीवारी–१, गोलधापका घर भएका ३० वर्षीय सागर बेस्राको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
‘सागर गएराति सुनसरी घर भएकी २३ वर्षीया मुना विकसँग सो होटलमा बास बसेका रहेछन्,’ डीएसपी चन्दले नेपालखबरसँग भने, ‘उनको मृत्यु भएपछि हामीले उनीसँगै बसेकी मुना र होटल सञ्चालक महिला यामकुमारी उप्रेतीलाई पनि नियन्त्रणमा लिएका छौँ।’
सागरसँगै बास बसेकी युवती सुनसरीको धरान–१५ घर भई हाल झापामा बसोवास गर्दै आएकी थिइन्। डीएसपी चन्दका अनुसार ती युवती र युवक पतिपत्नी हाेइनन्।
गएराति खाना खाएर उनीहरू सुतेका थिए। सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएको अवस्थामा आफूले देखेको बयान युवती दिएकी छन्।
त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्याएका थिए। चिकित्सकले जाँच गर्दा उनको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको पाइएको डीएसपी चन्दले बताए।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया