समाज


एनआरएनलाई वंशजको आधारमा नागरिकता दिलाउन पैरवी गर्छु: अध्यक्ष शर्मा

एनआरएनलाई वंशजको आधारमा नागरिकता दिलाउन पैरवी गर्छु: अध्यक्ष शर्मा

नेपालखबर
चैत २, २०८२ सोमबार १९:४९, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले प्रवासमा रहेका नेपालीलाई संघमा आवद्ध गराउँदै संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सोमबार काठमाडौँमा आयोजित एनआरएनएको १२औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले गैरआवासीय नेपाली नागरिकलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताए। त्यसका लागि अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्ने उनको भनाइ थियो। 

‘मेरो कार्यकालमा संघलाई बलियो बनाउँदै प्रवासमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संघमा आबद्ध गर्न म नियमित प्रयत्नरत रहनेछु। गैआवासीय संघको मर्मअनुसार एनआरएनएलाई वंशजको आधारमा नागरिकता, लगानीको वातावरण निर्माण र संरक्षणका लागि अब बन्ने सरकारसँग नियमित पैरवी गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु’, शर्माले भने। 

एनआरएनका लागि मुलुकभित्र समेत लगानीको वातावरण निर्माण तथा संरक्षणका लागि समेत आवश्यक पहल गर्ने उनले प्रतिबद्धता जनाए। वैदेशिक रोजगारीमा रहेका नेपालीका जिज्ञासा र समस्या समाधानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत सेवा प्रदान गर्ने योजना अघि बढाउने उनले बताए। 

विदेशमा काम गरिरहेका नेपालीको दक्षताको अभिलेख तयार पारेर उनीहरू स्वदेश फर्किएपछि सम्बन्धित रोजगारी वा उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो। 

‘वैदेशिक रोजगारीमा रहेका नागरिकका जिज्ञासा तथा समस्या समाधान गर्न एआईमार्फत काम गरिनेछ। वैदेशिक रोजगारीमा रहेका नागरिकहरुको दक्षताको अभिलेख राखि नेपाल फर्किसकेपछि सम्बन्धीत रोजगारी तथा उद्यमको लागि कार्यक्रम सञ्चालन गर्नेछु,’ उनले भने।

वैदेशिक रोजगारीका क्रममा हुने महिला हिंसा तथा घरेलु हिंसा न्यूनीकरणका लागि आवश्यक योजनाअनुसार काम गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad