समाज


ढोरपाटन क्षेत्रमा बाक्लो हिमपात

सडकमा हिउँ जम्दा मध्यपहाडी लोकमार्ग नै अवरुद्ध
ढोरपाटन क्षेत्रमा बाक्लो हिमपात

नेपालखबर
फागुन १७, २०८१ शनिबार ५:४१, बागलुङ

भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो। 

जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन्। 

निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो। 

हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९ का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए। 

यस क्षेत्रमा शुक्रबार दिउँसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको हो। अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य बनेका छन्। बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकीनै प्रभावित बनेको छ।

‘एक/दुई दिनदेखि चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्,’ उनले भने,  ‘उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो।’

लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन्। बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले राहत दिएको छ। अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति छ।

उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ । दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए। 

हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad