समाज


इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको अदालतमै बेहोस भएर मृत्यु

इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको अदालतमै बेहोस भएर मृत्यु

एएफपी
असार ३, २०७६ मंगलबार ८:४,

इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ।

कायरोस्थित अदालतमा बयान दिइरहेको क्रममा बेहोस भएका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले जनाएका छन्।

“अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो, तर अस्पतालले उहाँको निधन भइसकेको घोषणा गर‍‍्‍‍याे” न्यायधिवक्ताको कार्यालयले भनेको छ।

“उहाँलाई स्थानीय समयानुसार अपरान्ह ४ः५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उहाँको निधन भइसकेको थियो, शरिरमा घाउचोट देखिएको छैन,” अस्पताल श्रोतले भनेको छ।

उनका कारण अदालती कारबाहीमा बाधा नपुगोस भनेर उनलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो ।

सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि उनलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए।

उनलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो। तर उनका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउदै आएका छन्।

उनको निधनप्रति धेरैले आशंका गरेकाले हिंसा भड्िकन सक्ने पुर्वानुमानसहित सरकारले इजिप्टमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ।

सन् २०१३ मा सैनिक शासकद्धारा अपदस्थ गरिएका मोर्सीको निधनका बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन गर्न अधिकारवादी समूहहरुले माग गरेका छन्।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मोर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको हो।

हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उहाँको निधन भएको हुनसक्ने एमनेस्टीको आशंका छ।

मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ। राज्यद्धारा सञ्चालित टेलिभिजनले श्रोतहरुलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटु सम्वन्धी समस्याका कारण निधन भएको जनाएको छ।

मोर्सी इजिप्टको पहिलो नागरिक राष्ट्रपति मानिन्थे। उनले आफ्नो जीवनकालमा विदेशीशक्ति, लडाकू समूह, न्याय क्षेत्र र सुरक्षा क्षेत्रसँग समेत ओजपूर्ण सम्वन्ध राखेको उनका निकटस्थहरुले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .