समाज


निर्मला प्रकरणको अनुसन्धानमा गृहको गोप्य टोली

निर्मला प्रकरणको अनुसन्धानमा गृहको गोप्य टोली

दीपक खरेल
असोज ७, २०७६ मंगलबार ८:१,

गृह मन्त्रालयले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ सम्मिलित अनुसन्धान टोली गठन गरेको छ।

गृहले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवन रिजालको नेतृत्वमा केही दिनअघि गोप्य रुपमा अनुसन्धान टोली गठन गरेको हो। निर्मलाको भेजाइनल स्वाब र डीएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनलाई राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएको थियो।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पहलमा प्राविधिक जाँचको कार्यदेशसहित टोली गठन भएको हो। निर्मला प्रकरणमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको भूमिका सन्देहपूर्ण रहेको गृहको बुझाइ छ। 

‘एउटा प्राविधिक टोली बनाइएको हो,’ गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले नेपालखबरसँग भने, ‘टोलीको कार्यदेश र टोली सदस्यको नाम महत्वपूर्ण होइन। उहाँहरुले काम गरिरहनु भएको छ।’ उनले टोलीका सदस्य र कार्यदेशका विषयमा खुलाउन चाहेनन्। प्रवक्ता सुवेदीले थपे ‘निर्मलाको बलात्कार र हत्या प्रकरणमा प्राविधिक पक्षको अनुसन्धानका लागि टोली बनेर काम थालेको हो।’

टोलीले स्थलगत रूपमै काम गरिरहेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले यसअघि फरेन्सिक विज्ञ दिनेश झासहित रहेको प्राविधिक टोली गठन गरी घटना अनुसन्धान गरेको थियो। सो अनुसन्धानले टोलीले दिएको प्रतिवेदनबिरुद्ध प्रहरीको विधि विज्ञान प्रयोगशालाले प्रतिवेदन सार्वजनिक गरेको थियो। लामो समय गृह यो विषयमा मौन बसे पनि अहिले आएर प्राविधिक टोली गठन गरेको हो।

निर्मला बलात्कार तथा हत्या प्रकरणमा पटक-पटक अनुसन्धान टोली गठन भइसकेका छन्। यसअघि गृह र प्रहरीका अलग-अलग टोलीले घटना छानबिन गरेका थिए। घटनाको विषयलाइ लिएर प्रहरी र सरकारमाथि गम्भीर प्रश्न तेर्सिए पनि दोषी पत्ता लाग्न सकेका छैनन्।

कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १४ महिनापछि गृह मन्त्रालयले पहिलो पटक प्राविधिक टोली गठन गरी छानबिन थालेको हो। यसअघि गृहले सहसचिवको नेतृत्वमा समिति गठन गरी घटना अनुसन्धान गरेको थियो। गृहको छानबिन समितिले घटना अनुसन्धानमा प्रहरीले गरेको कैफियत उजागर गरेको थियो।

२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका—१८ की निर्मलाको बलात्कारपछि हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .