समाज


सुदूरपश्चिममा डेंगुबाट एकको मृत्यु, २४ जनामा संक्रमण

सुदूरपश्चिममा डेंगुबाट एकको मृत्यु, २४ जनामा संक्रमण

नेपालखबर
भदौ २८, २०७६ शनिबार ६:१९,

 सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेंगु रोगको संक्रमण देखिएको पुष्टि भएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो।

उक्त रोगको संक्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ। दीपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा मृत्यु भएको हो। डोटीमा डेंगुका बिरामीलाई उपचारार्थ काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थीले बताए। उनले भने, ‘जिल्लामा जाच्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहा डेंगु देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ।’

डेंगु नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच जिल्लामा अभियान नै सञ्चालनको तयारी गरेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए। बिहान र साँझमा डेंगु फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यति बेला सावधानी अपनाउन जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. भूषण मिश्रले सुझाब दिए।

पहिलोपटक चितवनमा भेटिएको डेंगु सुदूरपश्चिमका कैलाली, अछाम, कञ्चनपुर, दार्चुला र डोटीमा देखा परेकाले सावधानी अपनाउनु पर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

डेंगु फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने र फुल करीब छ महीना जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाडाकुँडा सधैँ सफा गर्नुपर्ने शैलेश्वरी अस्पताल दीपायलका डा ललित लिम्बूले बताए। उनले भने, ‘डेङ्गु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा पानी फुल पार्ने र उक्त फुल महिनौँसम्म जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सरसामान सधैँ धुनु र सफा गर्नु जरुरी छ। डेंगु रोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन गरिएको छ।

रोग नियन्त्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेंगु रोग फैलाउने लामखुट्टे पारेका फुलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले भने, ‘नियन्त्रणका लागि सरकारी टोलीनै गठन गरेर जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फुलको पहिचान गरी नष्ट गर्दै छौँ।’

डेंगु प्रभावित जिल्लाका विभिन्न वडा तथा क्षेत्रमा डेंगु नियन्त्रणका लागि खटिएको सरकारी टोलीले अहिले धुँवा लगाउने ९फगिङ० गर्दै आएको छ। सिलगढीका सिद्धराज जोशीले डेंगुले स्थानीयमा त्रास फैलिएको र अब त सामान्य रुघा, खोकी, ज्वरो आउँदा डेंगु नै भन्न थालिसकेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .