समाज


‘भिसाले अमेरिकाबाट सोध्यो, ह्याकरले बीचबाटै जवाफ पठाए’

‘भिसाले अमेरिकाबाट सोध्यो, ह्याकरले बीचबाटै जवाफ पठाए’

नेपालखबर
भदौ १८, २०७६ बुधबार १२:२९,

नेपाल राष्ट्र बैंकले एटीएम लुट प्रकरणको अनुसन्धानपछि आधिकारिक धारणा बाहिर ल्याएको छ।

राष्ट्र बैंकको प्रतिवेदनमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) र अमेरिकाको भिसा सिस्टमको बिचमा बेग्लै सर्भर बनाएर ह्याकरहरु एटीएमबाट पैसा निकाल्न सफल भएको खुलासा गरिएको छ। ह्याकरहरुले नेप्समा आवद्ध भएका बैंकहरुको एटीएम कार्ड प्रयोग गरि नेप्समा आवद्ध नभएका बैंकहरुको एटीएमबाट पैसा झिकिएको राष्ट्र बैंकको प्रतिवेदनमा छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको नेतृत्वमा गठन भएको अनुसन्धान टोलीले शनिबार काठमाडौंमा भएको एटीएम लुट प्रकरणको प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुधबार गर्भनर डा. चिरन्जीवी नेपाललाई बुझाएको हो।

राष्ट्र बैंकको अनुसन्धानमा काठमाडौंका एटीएममा प्रयोग भएका नक्कली कार्डले अमेरिकामा रहेको भिसा कार्यालयलाई सम्पर्क गरेको खुलेको छ। भिसाले सोधेको प्रश्नमा बिचमा ह्याकरहरुले आफ्नो सर्भरबाटै नेप्सको तर्फबाट जवाफ पठाएका थिए। भिसाबाट माग भएको रकमको स्वीकृति आएको तर उक्त कुराको जानकारी नेप्ससँग आइनसकेको अनुसन्धानको क्रममा भेटिएको छ। त्यसैबाट बिचमा ह्याकरहरूले भिसालाई जवाफ पठाएको देखिन्छ।

नेप्सले अनुमति नदिइकनै पूर्ण सूचना नै नलिइ एटीएमबाट पैसा झिकिएको राष्ट्र बैंकको प्रारम्भिक प्रतिवेदनमा छ।

शनिबार भएको ह्याकिङको घटना नेपालको बैंकिङ इतिहासमै एउटा गम्भीर पाठ बनेको छ। ह्याकिङको सूचना पाए लगत्तै प्रहरीले घटनास्थलबाटै संलग्नहरूलाई पक्राउ गरेको थियो भने बैंकहरूले आफ्नो एटीएम प्रणाली बन्द गरेका थिए।

यो एटीएम लुट कसरी सम्भव भयो भन्ने चासो सर्वत्र रहेका बेला राष्ट्र बैंकले बुधबार अनुसन्धानमा भेटिएका कुरा बाहिर ल्याएपछि धेरै प्रष्ट भएको छ।

राष्ट्र बैंकका अनुसन्धान टोली प्रमुख मिश्रले एटीएम लुट प्रकरणको अनुसन्धान सुरु भएको र प्रारम्भिक प्रतिवेदनमा विस्तृत विषयवस्तु समेटिएको बताए।

‘प्रारम्भिक प्रतिवेदनमा घटना कसरी भयो भन्ने मूल विषय समेटिएको छ’, मिश्रले नेपालखबरसँग भने, ‘यो प्रकरणमा सम्बन्धित विज्ञले विस्तृत अनुसन्धान गर्नेछन्।’

मिश्रले नेपाली बैंक र प्रविधिमा देखिएका कमजोरी समेत एटीएम लुट प्रकरणका कारण रहेको प्रतिवेदनमा समेटिएको बताए।

राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक लक्ष्मी निरौलाका अनुसार यो प्रतिवेदनको आधारमा बिहिबार राष्ट्र बैंकले बैंकहरूमा हाल रहेको कमजोरी सुधारका लागि सर्कुलर जारी गर्नेछ। सर्कुलरको विषय अनुसन्धान प्रतिवेदन तयार गर्ने टोलीले नै बनाउने निरौलाले बताए।

चीनबाट आठ जनाको समूहमा शुक्रबार नेपाल आएका चिनियाँ र फ्रान्सका नागरिकले शनिबार करिब १० घण्टा सिस्टम ह्याक गरी एटीएमबाट करिब दुई करोड रकम निकालेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले घटनामा संलग्न पाँच चिनियाँ नागरिक, एकजना फ्रान्सको राहदानी बाहक चिनियाँ मूलका नागरिक र तीन नेपालीलाई पक्राउ गरेर कारबाही गरिरहेको छ। घटनामा संलग्न दुईजना चिनियाँ फरार रहेका छन्।

प्रहरीले चिनियाँ नागरिकहरू क्रमशः चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङलाई शनिबार पक्राउ गरेको हो। यस्तै आइतबार राती मलेसिया भाग्ने तयारीमा रहेका फ्रान्सको राहदानी बाहक छु लुस ली विमानस्थलबाट पक्राउ परेका हुन्।

परिसरका अनुसार ठमेलमा रहेको डेक्सो र नेपालय मनि चेञ्जरले अनाधिकृत रुपमा तीनजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए।

नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .