समाज


सञ्चारमन्त्रीको राजीनामा माग्दै रामवीरले भनेः धेरै ठूलो स्वरले बोल्ने होइन

सञ्चारमन्त्रीको राजीनामा माग्दै रामवीरले भनेः धेरै ठूलो स्वरले बोल्ने होइन

नेपालखबर
जेठ ३२, २०७६ शनिबार १२:३४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै सांसद रामवीर मानन्धरले सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन्।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सांसद मानन्धरले गुठी प्रथालाई सामन्तवाद भनेको भन्दै मन्त्री बाँस्कोटाको राजीनामा मागेका हुन्। उनले मन्त्री बाँस्कोटाले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाए।

‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’, सांसद मानन्धरले भने, ‘प्रवक्ता जनताको हो। धेरै ठूलो स्वरले बोल्ने होइन।’

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ।

सञ्चारमन्त्री र सरकारप्रति आक्रमक रुपमा प्रस्तुत भएका उनले मन्त्रीहरुको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिका कारण राजीनामा माग्नुपर्ने अवस्था सिर्जना भएको बताए। उनले भने, ‘आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ। मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो।

उनले प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाठमार्डाैँ आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत दिए।

‘प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दै गर्नुहोला काठमाडौँमा के हुन्छ’, उनले भने, ‘यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो।’ सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ।

साक्षात्कारमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भीमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए।

उनले सरकारले विधेयक फिर्ता नलिए काठमाडौँ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो। उनले सरकारका प्रवक्ता नै धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्यको कुरा भएको बताए।

दोस्रो जनआन्दोलनको बेला बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने प्रधानमन्त्री संघीयताविरोधी भएको आरोप लगाए। उनले गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको जिकिर गरे। उनले प्रधानमन्त्री ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए।

‘गुठी विधेयक फिर्ता गर्नुपर्छ। फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ’, सरकारलाई चेतावनी दँदै उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .