समाज


देशभर बाढी र पहिरो : आधा दर्जन बढी बेपत्ता र मृत्यु, ठाउँ-ठाउँमा सडक अवरुद्ध

देशभर बाढी र पहिरो : आधा दर्जन बढी बेपत्ता र मृत्यु, ठाउँ-ठाउँमा सडक अवरुद्ध

नेपालखबर
असार २, २०७८ बुधबार ८:५,

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ।

वर्षाको कारण पाल्पा, सिन्धुपाल्चोक, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन, नवलपरासी (पूर्व) र बाजुरामा क्षति पुगेको छ।

अन्य केही स्थानहरुमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरु डुबानमा परेका छन्।

सिन्धुपाल्चाेकमा बबन्डर 
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ स्थित मेलम्ची खोलामा मंगलबार राति आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ। ७ जना बेपत्ता रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

अहिले प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका जिल्लास्थित प्रमुखसहितको टोली घटनास्थल पुगेको छ। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले पनि त्यहाँ बाढी पहिरोबाट क्षति भइरहेको छ।

सोही गाउँपालिका १ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका ७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल बगाएको छ ।

pahirole ghar bagayo
निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काफ्लेफाँटका घर। पहिरोका कारण यहाँका दुई घर जोखिममा छन्। तस्बिरः रासस

पाल्पामा पहिराे
पाल्पामा पनि पहिरोमा परी एक जनाको मृत्यु भएको छ। रिप्दीकोट गाउँपालिका ४ सिलाङ्थोकस्थित मन्छीप बस्ने मान बहादुर भन्ने महेन्द्र भट्टराईको घर पहिरोले पुर्दा उनका छोरा १९ वर्षीय मदन भट्टराइको मृत्यु भएको छ ।

प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

यसैगरी पाल्पा, तानसेन नगरपालिका ८ जरेपिपलस्थित सिद्दार्थ राजमार्ग, तानसेन नगरपालिका ८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्ग र रिप्दीकोट गाउँपालिका ३ हार्थोक नजिक पाल्पा गुल्मी सडकखण्डमा अविरल वर्षाको कारण मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ।

मनाङमा बाढी
मनाङ, चामे गाउँपालिका ४ र नासो गाउँपालिका ३ स्थित अबिरल वर्षाको कारण मंगलबार दिउँसो आएको बाढीले चामे गाउँपालिका ४ मा रहेको जिल्ला हुलाक कार्यालयको भवन, ६ वटा घर, सोही ठाउँस्थित रहेको घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल, निमार्णाधिन आमा समूहको भवन, २ वटा तातोपानी कुण्ड र नासो गाउँपालिका ३ बस्ने शेर बहादुर गुरुङको घर बगाएको छ।

जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले चामेका ३० घरका ३ सय जनालाई जिल्ला कारागारमा स्थानान्तरण गर्नुका साथै नासो गाउँपालिका १ का ४८ घरका ३ सय जनालाई सुरक्षित स्थानमा सारेको छ।

लमजुङमा उर्लियो दोर्दीखोला
लमजुङ, दोर्दी गाउँपालिका ८ हिलेबजारमा अबिरल वर्षाको कारण दोर्दी खोलामा आएको बाढीले चतुरे बिक लगायत ७ जनाको घर बगाउएको छ भने २ वटा घर जोखिममा परेका छन्।

प्रहरी चौकी चितीको प्रहरीले घर परिवारलाऐ सुरक्षित स्थानतर्फ सारेको छ। साथै सोही गाउँपालिका ६ कृतिपुर बस्ने कृष्ण घलेको कुखुरा फर्म बगाउनुका साथै सुप्पर दोर्दी हाइड्रो पावरको ड्याममा समेत क्षती पु¥याएको छ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका ३ फुतवाङस्थित गोरुसिंगे सन्धिखर्क सडकमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ। सडक खुलाउन प्रहरीले आवश्यक पहल गरिरहेको छ।

kaligandaki katan2
कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान। कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ। तस्बिरः रासस

तम्घास सडक अवरुद्ध
गुल्मी, रेसुङगा नगरपालिका १३ भगेरी भन्ने ठाउँमा पहिरो झरी रिडी तम्घास सडक अवरोध भएको छ। सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ।

भीमफेदी–कुलेखानी सडक अवरुद्ध
मकवानपुर, भीमफेदी गाउँपालिका ६ देउरालीस्थित हेटौंडा भीमफेदी कुलेखानी सडक खण्डमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ। सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ।

चितवनमा ३० घरधूरी स्थानान्तरण
चितवन, भरतपुर महागरपालिका ३ बारघरे, सोही महानगरपालिका १६ गुम्बाचौर र झनझनेस्थित अविरल वर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा बारघरेका ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बाचौरको ३० घरधूरीलाई सुरक्षित स्थानतर्फ स्थान्नतरण गरेको छ।

balewa pul bagayo
काठेखोलामा आएको बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका– १ मालढुंगामा रहेको पक्की पुलमा क्षति। पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ। तस्बिरः रासस

नवलपरासीमा १५० परिवारलाई सुरक्षित स्थानमा लगियो
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका २ बोटे टोलमा नारायणी नदीमा मंगलबार राति आएको बाढी पस्दा प्रभावित भएका करिब १ सय ५० परिवारलाईसुरक्षित स्थानतर्फ स्थान्तरण गरेको छ।

बाजुरामा घरै बगायो
बाजुराको बुढीन्नदा नगरपालिका ४ बस्ने जयबिर धामी र मने रोकायाको घर सोही ठाउँस्थित घोडाकोटी खोलाले कटान गरी बगाएको छ। यीसहित जोखिममा रहेका १३ बटा घरका मानिसलाई सुरक्षित स्थानमा सरिसकेका छ।

ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार तथा खोजी कार्य गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .