समाज


राप्तीमा आएको बाढीले खतराको तह पार गर्‍यो, नवलपरासीमा ४० घर डुबे

राप्तीमा आएको बाढीले खतराको तह पार गर्‍यो, नवलपरासीमा ४० घर डुबे

नेपालखबर
असार २, २०७८ बुधबार ४:२२,

अबिरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा व्यापक जनधनको क्षति गरेको छ। बाढी पहिरोले विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा बढी क्षति पुर्याएको छ।

अविरल वर्षाको कारण हिमाली र पहाडी जिल्लामा कटान र पहिरोको समस्या सिर्जना भएको छ भने तराईका जिल्लामा डुबानको समस्या देखिएको छ।

अविरत वर्षापछि पश्चिम राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको हो। महाशाखाले बाँकेसहित नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी नारायणी नदीमा पनि पानीको बहाव बढेको छ । अहिले गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परिरहेकाले बाढी पहिरोको जोखिम उच्च बनेको महाशाखाले जनाएको छ। बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रमा बस्ने नागरिकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यसैगरी बाढीले पूर्वी नवलपरासीको गैडाकोट क्षेत्रका ४० घर डुबानमा परेका छन्। नारायणी नदीको बाढीले स्थानीय बोटे गाउँ डुबानमा परेको हो।

गैंडाकोट नगरपालिका–२ मा तीन दर्जन भन्दा धेरै घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले जानकारी दिइन्।

बाढीले कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल पनि डुबेका छन्। बाढीमा फसेकालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .