समाज


महाकाली अञ्चल अस्पतालः समायोजनले रित्तिँदै डाक्टर

महाकाली अञ्चल अस्पतालः समायोजनले रित्तिँदै डाक्टर

गोकुल जोशी
भदौ ४, २०७६ बुधबार १०:४५,

विशेषज्ञ डाक्टरको अभाव झेलिरहेकोे महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा कर्मचारी समायोजनले भएका विशेषज्ञ डाक्टर समेत रित्तिँदै गएका छन्। महाकाली अस्पतालमा हाल रहेका तीन जना विशेषज्ञ डाक्टर समेत समायोजनले यताउता तानिने भएका छन्।

१९ जना विशेषज्ञ डाक्टरसहित २८ जना डाक्टरको दरबन्दी रहेको महाकाली अस्पतालमा हाल भएका तीन जना विशेषज्ञ डाक्टरमध्ये पनि एक जना समायोजनमा परेर अन्तै ठाउँ गएका छन्। महाकाली अञ्चल अस्पतालका एक जना डाक्टर समायोजनमा गएपछि हाल अस्पतालमा दुई जना मात्र विशेषज्ञ डाक्टर रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए।

कर्मचारी समायोजनले महाकाली अस्पतालको अवस्था थप दयनीय बनेको छ। अस्पतालमा चिकित्सक नहुँदा सर्वसाधारणले सामान्य रोगको उपचार पनि नपाउने अवस्था बन्दै गएको छ। रेफरल अस्पतालका रुपमा रहेको महाकाली अस्पतालले चिकित्सक अभावकै कारण सहज सेवा दिन सकेको सेवाग्राही बताउँछन्। अत्याधुनिक सेवासहितको अस्पताल आवश्यक भइरहेका बेला कर्मचारी समायोजनका कारण यहाँका अस्पतालमा कार्यरत चिकित्सक समेत बाहिर गएपछि बिरामीले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था आएको छ।

महाकाली अस्पतालमा रहेका तीन जना विशेषज्ञ डाक्टरमध्येका १० औँ तहका सर्जन विशेषज्ञ डाक्टर श्रीकृष्ण भट्ट समायोजन भएर गएको अस्पतालका सूचना अधिकारी अवस्थीले बताए। ‘समायोजनको सिलसिलामा परेर डाक्टरहरु यताउता गएका छन्। यहाँका एक जना बिशेषज्ञ डाक्टर समेत गएर अहिले दुई जना मात्र छन्। उनीहरु पनि केही दिनमै समायोजनको प्रक्रियामा छन्।’ उनले भने, ‘प्रदेश र संघले खटाउने हो, कोही यतै पनि पर्न सक्छन्, न पर्न पनि सक्छन्।’

नवौं तहका छाला रोग विशेषज्ञ शम्भुदत्त जोशीको प्रदेशमै पदस्थापन भए पनि नवौं तहकै प्रसुति रोग बिशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठलाई पुल दरबन्दीमा राखिएकाले उनको पनि अन्यत्र पदस्थापन हुने बताइएको छ। १० औँ तहका डाक्टर श्रीकृष्ण भट्टको कान्ति बाल अस्पताल काठमाडौंमा पदस्थापन भएको अस्पताल प्रशासनले जनाएको छ।

महाकाली अस्पतालले स्थापनाकालदेखि नै दरबन्दीअनुसारका डाक्टर पाउन नसकेको अवस्थामा अहिले भएका डाक्टरसमेत अन्यत्र पदस्थापन भएपछि उपचार सेवा दिनै असहज भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठ बताउँछन।

डाक्टर थप्नुपर्ने ठाउँमा भएकालाई पनि समायोजनका नाममा बाहिर पठाइएपछि विपन्नले रोग पालेर बस्नुपर्ने अवस्था आएको उपचारका लागि अस्पताल पुगेका एक बिरामी दीपक भण्डारीले बताए। ‘विपन्न जनता उपचारका लागि जाने भनेकै सरकारी अस्पताल हुन्। यहाँ भएका डाक्टर पनि समायोजनको निहुँमा अन्यत्र पठाइएपछि अब उपचार नै नपाइने भयो’ उनले भने। हाल अस्पतालमा दैनिक दुई सयको संख्यामा बिरामीहरु आउने गरेका छन्।

जहिल्यै डाक्टर अभाव

अस्पताल स्थापना भएको झण्डै तीन दशक पुरा भैसक्दा समेत दरबन्दी अनुसारका डाक्टर आउनु यहाँ स्थानीयको दिवास्वप्न जस्तै हुने देखिएको छ। १९ बिशेषज्ञ डाक्टरसहित २८ जनाको दरबन्दी रहेको महाकाली अस्पतालमा स्थापना कालदेखि हालसम्म बढिमा २/३ जना मात्र बिशेषज्ञ डाक्टर आएको सूचना अधिकारी अवस्थीले बताए। डाक्टरको चरम अभाव रहेको अस्पतालमा आएका डाक्टरहरुमध्ये पनि एउटै डाक्टरले धेरै क्षेत्रका बिरामीलाई हेर्नु पर्ने भएकाले कार्यबोझले गर्दा यहाँ बस्न र आउन नै नमान्ने गरेको उनले बताए। वि.स.२०७३ सालमा आएका चार जना विशेषज्ञ डाक्टरसहितको टोलीपछि यहाँ त्यो भन्दा बढी डाक्टर नआएको तथ्याङ्क छ। गाइनो, सर्जन, अर्थोपेडिक सहितको टोलिले समेत सहज रुपमा सेवा दिन सक्ने तर त्यतिको संख्याका डाक्टर समेत अपुग रहेको सूचना अधिकारी अवस्थीको भनाइ छ।

‘आईसीयू’ सेवा आफै आईसीयूमा

अस्पतालले दिने भनेको ‘आईसीयू’ सेवा आफं ‘आईसीयू’मा भर्ना भएजस्तै भएको छ। अर्थात् आईसीयू सेवा अहिलेसम्म सञ्चालन हुन सकेको छैन। झण्डै तीन बर्ष अगाडि नै ‘आईसीयू’ का उपकरणहरू जडान गरिए पनि सेवा सुरु हुन नसेको हो। ‘आईसीयू’ सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा सेवा सञ्चालनमा आउन नसेको निमित्त प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन्। उनले भने, ‘आईसीयूका लागि आवश्यक सबै उपकरण जडान गरेर तयारी अवस्थामा राखिएको छ तर हामीसँग डाक्टरहरू छैनन् , त्यसैले सञ्चालनमा आएको छैन।’

यदि दक्ष जनशक्ति भएमा तुरुन्तै ‘आईसीयू’ सञ्चालन गर्न सकिने उनले बताए। डाक्टर अभावमा दैनिक सेवा सञ्चालनमा समेत समस्या आइरहेका बेला ‘आईसीयू’ सञ्चालन हुन नसक्ने प्रमुख श्रेष्ठको भनाइ छ। आईसीयू सञ्चालनका लागि फिजिसियन, एनएस थेसियन एक÷एक जना, बाल रोग विशेषज्ञ र केही नर्स भए आईसीयू सञ्चालन गर्न सकिने उनी बताउँछन्।

एम्बुलेन्स कहिले आउँछ?

महाकाली अस्पताल तीर्न वर्षयता एम्बुलेन्सविहीन बनेको छ। अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएपछि अञ्चल अस्पताल एम्बुलेन्सविहीन बनेको हो। भारतीय दूतावासले सहयोग गरेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएर बेकामे बनेपछि अस्पताल आउने बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित हुनुपरेको छ।

अस्पतालका एम्बुलेन्स तीन वर्ष अगाडि नै बिग्रिएर थन्किएपछि अस्पतालसँग अहिले आफ्नो एउटा पनि एम्बुलेन्स नभएको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए। उनले भने, ‘यसबारे सरकारलाई पटक–पटक जानकारी गरायौं तर हाम्रो कुराको सुनुवाइ भएन।’ अस्पतालमा एम्बुलेन्सजस्तो अपरिहार्य साधन नहुँदा बिरामी मर्कामा परेका छन्। यदि बिरामी रेफर गर्न वा अन्य ठाँउ लैजानु परेमा चर्को भाडा तिरेर अन्य ठाउँमा एम्बुलेन्स लिउनुपर्ने बाध्यता छ।

अस्पताल परिसरबाटै मोटरसाइकल चोरी
महाकाली अस्पतालभित्र बाटै त्यहाँका कर्मचारीको तीन महिनाको अवधिमा तीन मोटरसाइकल चोरी भएका छन्। सिसिटिभीको निगरानीमा रहेको अस्पतालबाट चोरी भएका मोटरसाइकल हालसम्म पनि फेला परेका छैनन्। सिसिटिभी फुटेजमा मोटरसाइकल चोरेर लैजाँदै गरेको दृश्यसहितको फुटेज प्रहरीलाई बुझाउँदा समेत चोर र मोटरसाइकल नसमातिएको अस्पतालका मेडिकल रेकर्डर सुपरिभाइजर नारद प्रशाद भट्टले बताए।

गत असार १७ गते उनको म १ प ४८२४ नम्बरको मोटरसाइकल चोरेर लैजाँदै गरेको सिसिटिभी फुटेज प्रहरीकहाँ बुझाएका थिए। यद्यपी हालसम्म पनि मोटरसाइकल चोर र मोटरसाइकलको अत्तोपत्तो लागेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .