प्रधान सेनापति पूर्णचन्द्र थापाले महोत्तरीको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल उद्घाटन गरेका छन्।
मध्यपूर्वी पृतना हेडक्वाटरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा ‘बर्दिबास सैनिक शिविर’ भित्र निर्माण भएको २५ शय्याको फिल्ड अस्पताल सोमबार थापाले उद्घाटन गरेका हुन्।
यो अस्पतालबाट नेपाली सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सेनाले जनाएको छ।
डेण्टल प्रोसिजर, इएम सर्भिस, वेशिक ल्याब सर्भिस, एक्स रे सेवा, एक्सिडेण्ट तथा ईमर्जेन्सी सेवा, इनडोर सर्भिस १७ वेड र फार्मेसी सेवाहरु फिल्ड अस्पतालबाटै सूचारु हुने छन्।
तर हाल देशमा भयावह रुपमा फैलिँदै गरेको कोभिड–१९ संक्रमणको कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितिलाई मध्य नजर गर्दै नवनिर्मित फिल्ड अस्पतालमा बेड उपलब्ध भएसम्म गैर सैनिक विरामीहरुलाई समेत सेवा उपलब्ध गराउने सेनाले प्रष्ट पारेको छ।
यस्तै सोही ठाउँमा सैनिक आवासीय महाविद्यालयको पनि उद्घाटन भएको छ।
सैनिक आवासीय महाविद्यालय, बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रम अन्तर्गत प्रदेश नं २ अन्तर्गतका ८ वटा जिल्लाहरुबाट २/२ जनाको दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई समेत पूर्ण छात्रवृत्ति सहित अध्ययनको व्यवस्था मिलाइएको छ।
यसै शैक्षिक सत्रबाट २०७८ असार महिना कक्षा ६ संचालन हुने र प्रत्येक वर्ष क्रमशः कक्षाहरु थप गर्दै लैजाने योजना रहेको सेनाले जनाएको छ।
प्रतिक्रिया