ad ad

समाज


महामारीका बेला लुटको धन्दाः ६ गुणा बढी भाडा असुल गर्ने २१ जना पक्राउ

महामारीका बेला लुटको धन्दाः ६ गुणा बढी भाडा असुल गर्ने २१ जना पक्राउ

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:४३,

ट्राफिक प्रहरी माहाशाखाले यात्रुसँग बढी भाडा लिने २१ जनालाई पक्राउ गरेको छ।

उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात वैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परी उपत्यकाबाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले छ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु नै ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका हुन्।

निषेधाज्ञा लागू भएपछि अत्यावश्यक काम विशेष र विदेशबाट आई बाहिरी जिल्ला फर्किने यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही गर्न डेडिकेटेड सिभिल टोली समेत परिचालन गरेको ट्राफिक प्रहरीले जनाएको छ।

टोलीले त्यस्ता स्थान तथा काउण्टरहरुमा गई निगरानी गर्ने, यात्रुको भेषमा भाडा बार्गेनिङ्ग गर्ने, गोप्यरुपमा बुझ्ने र यात्रुसँग सोधपुछ गर्ने गर्दछ। टोलीले आजमात्रै ४ जनालाई पक्राउ गरी कारबाहिको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

‘हामी निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेका छौं, तोकिएभन्दा बढी भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौँ, पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्नु सोचनीय विषय रहेको र यातायात व्यवसायीहरुको समेत यसतर्फ विशेष ध्यान जानुपर्ने देखिन्छ’, उनले बताए।

निषेधाज्ञा घोषणापश्चात् गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउन्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गरेको हो।

ट्राफिक प्रहरीले आइतबार काठमाण्डौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी नपा ८ का वर्ष २४ को योगेन्द्र बोहोरा र वर्ष ३० का आकाश बिष्टलाई पक्राउ गरेको हो।

ना८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत धनगढी जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएका हुन्।

त्यसैगरी थाहा नपा ३ हेटौंडा घर भई बालाजु बस्ने वर्ष ३२ को अमृत बिष्ट र गोर्खा घर भई मित्रनगर बस्ने वर्ष ४५ को सोम बहादुर गुरुङ्गलाई नयाँ बसपार्कबाट पक्राउ गरेको छ।

उनीहरुले धनगढी जाने यात्रुसँग प्रतिव्यक्ति चार हजारदेखि पैँतालीस सयसम्म लिने गरेको महाशाखाले जनाएको छ। पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त बालाजुमा बुझाएको छ।

महाशाखाले अत्यावश्यक परी यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएभन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .