ad ad

समाज


यसपटकको कोरोना सामान्य छैन, लक्षण देखिनासाथ जाँच गराउनुहोला

यसपटकको कोरोना सामान्य छैन, लक्षण देखिनासाथ जाँच गराउनुहोला

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्
बैशाख १७, २०७८ शुक्रबार २:३१,

यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला।

यसपटक परिवारमा एक जना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ। तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला। संक्रमणको शंका लागेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला। सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला। जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ।

–पीसीआर पोजिटिभ आएमा गत सालजस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला। यसपटक छिटो कोभिड निमोनिया हुने भएकाले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला। त्यहाँ चिकित्सकले तपाईंलाई परीक्षण गरेर आवश्यकताअनुसार छातीको एक्सरे, रगतको जाँच तथा सीटी–स्क्यान गर्ने सल्लाह दिनुहुन्छ। यदि तपाईंको अवस्था खराब छ भने उहाँहरूले औषधि वा भर्नाका लागि सल्लाह दिनुहुनेछ। उहाँहरूको सल्लाह अक्षरशः पालना गर्नुहोला।

–लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला। यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ। जति छिटो अस्पताल पुग्यो, त्यति छिटो भर्ना हुन नपर्ने एवं सजिलोसँग निको हुने अवस्था हुन्छ।

–गत साल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ। प्रजाति फरक भएकाले गाह्रो हुन सक्छ। मैले खोप लगाएको छु वा पोहोरको एन्टिबडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला। अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला।

–बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला। यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गत सालको भन्दा धेरै छ।

–अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नुभयो भने अक्सिजनको स्तर केही बढ्दछ। तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला।

–अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला। अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन। प्याक भएका अस्पतालले अस्पतालबाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन्।

–चिकित्सकको सल्लाहबिना आफैं अक्सिजन लगाएर घरमा नबस्नुहोला। अक्सिजन उपचार हैन। निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ। अक्सिजनको मात्रा चिकित्सकको सल्लाहअनुसार मात्र थपघट गर्नुपर्छ।

–औषधि, उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ। एक जनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई नहुन सक्छ। तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेका औषधि सेवन नगर्नुहोला। कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो।

–प्रतिरोध क्षमता बढाउन जथाभावी आयुर्वेद औषधि नखानुहोला। सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारसअनुसार मात्र आयुर्वेद औषधि सेवन गर्नुहोला। आयुर्वेद औषधिले कोभिड निको हुँदैन। तपाईंको स्टामिना बढाउँछ। यस्तो बेला सबै चिकित्सा पद्धतिको एकीकृत उपचार प्रभावकारी हुन्छ।

–यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ। ४(६ घण्टामा निकै बढी असर गर्न सक्छ। तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला। निको भएका संक्रमितका कुरा सुन्नुहोला।

–कुनै पनि चिकित्सकले औषधि चलाएका बेला पनि भित्रभित्रै असर हुनसक्छ। यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन। यस्तो अवस्थामा एकपटक छातीको एक्सरे वा सीटी–स्क्यान गर्नु सुरक्षित हुन्छ।

–अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ। तसर्थ नआत्तिनुहोला।

–उपचारपश्चात् पीसीआर नेगेटिभ आए पनि कोभिडले तपाईंका विभिन्न अंगमा असर गरेको हुनसक्छ। चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ।

(सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौं। कृपया पटक्कै लापरबाही नगर्नुहोला। आफू, परिवार तथा समाजलाई संक्रमण हुन नदिन सतर्क बनौं। सतर्क भएमा हामी अस्पताल जानु पर्दैन)।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .