महानगरीय प्रहरी परिसर काठमाडौंको अपराध अनुसन्धान हेर्ने डिएसपी होविन्द्र बोगटी आइतबार दिउँसो आफ्नै कार्यकक्षमा थिए। उनी एउटा फाइलमा घोत्लिरहेका देखिन्थे। त्यो फाइल २३ दिनदेखि काठमाडौं चावहिलबाट हराएकी ३४ वर्षे दुर्गा शर्मा खोजतलासका लागि संकलित प्रमाण र जानकारीसँग सम्बन्धित हो।
‘भौतिक र प्राविधिक दुवै साधन प्रयोग गर्दै उहाँको खोजी गरिरहेका छौं,’ डिएसपी बोगटीले नेपालखबरसँग भने ‘सोधपुछ र खोजीमा हामी सक्रिय छौं।’
चावहिलस्थित डेराबाट सुतिरहेका श्रीमान् र छोरा छाडेर नेपालगञ्जकी दुर्गा शर्मा ३ साउन २०७६ को एकाबिहानै घरबाहिर निस्किइन्। त्यसपछि उनी सम्पर्कबिहीन भइन्। घर छोडेर हिँड्ने राति साउन २ गते उनी एक्लै सुतेकी थिइन्। श्रीमान् कपिल शर्मा र छोरासँगै सुतेका थिए।
अध्यापन पेशामा संलग्न कपिल बिहान पाँच बजे उठ्दा दुर्गा कोठामा थिइनन्। घरको मूल ढोका बाहिरबाट बन्द थियो। उनले भाई करुण शर्मालाई फोन गरेर ढोका खोल्न लगाए।
दुर्गाका श्रीमान कपिल उनी हराएकै बिहान खोजतलासका लागि महानगरीय प्रहरी वृत्त गौशाला पुगे। त्यहाँ निवेदन दिए। उनले दुर्गाले ‘तीतो सत्य शीर्षक’मा लेखेको विदाई पत्र समेत प्रहरीलाई बुझाए।
कपिलले प्रहरीमा खबर गर्नु अघि दुर्गाको माइती पक्षलाई समेत खबर गरेका थिए।
‘उहाँले लेखेको पत्रका आधारमा प्रहरीले उपत्यकामा बग्ने सबै नदीका किनारदेखि गहिरो स्थानसम्म खोजी गरेका छौं’, डिएसपी बोगटी भन्छन्, ‘कुनै दुर्घटना भए त अहिलेसम्म बाहिर आउनुपर्ने हामी आफैँ अचम्ममा छौं।’
दुर्गाले लेखेको पत्रमा आफूलाई श्रीमान् र उनका परिवारले यातना दिने गरेको विषय उल्लेख छ। पत्रमा उनले आफू ‘पानीमा डुबुल्की लगाउन’ जाने उल्लेख गरेकी छिन्। यही सन्दर्भ पछ्याउँदै प्रहरीले उपत्यकामा रहेका नदीनालामा विशेष खोजी गरिरहेको हो।
प्रहरीले अनुसन्धानका लागि दुर्गाले प्रयोग गर्ने दुई वटै मोबाइलमा रहेका नम्बरको कल डिटेल निकालेको छ। श्रीमान् कपिल र दुर्गाकी दिदी लक्ष्मी समेतको कल डिटेल निकालेर विश्लेषण गरिरहेको छ।
प्रहरीले दुर्गा शर्मा खोजीबारे तयार गरेको लामो प्रतिवेदनमा ३ गतेदेखि खोजी जारी रहेको उल्लेख छ। खोजीका लागि कल डिटेलसहित दुर्गाले चलाउने सामाजिक सञ्जाल फेसबुक र म्यासेञ्जरको समेत विज्ञ समुहले विश्लेषण गरेको छ।
‘प्राविधिक विश्लेषणबाट समेत कुनै शंकास्पद कुरा भेटिएन,’ डिएसपी बोगटी भन्छन्, ‘जंगल, खोलानाला र आफन्त केही बाँकी राखेनौं खोजी गर्न तर भेटिनु भएको छैन।’
प्रहरीले दुर्गाको खोजीका लागि मैजुबहालबाट ओरालो गौरीघाट जाने बाटोमा रहेको ए वन क्याफे र गौरीघाटबाट चावहिल पीपलबोट अगाडिको सिसिटिभी फुटेज समेत मगाएर हेरेको थियो। दुवै क्यामरामा दुर्गा हिँडडुल गरेको देखिएको छैन।
प्रहरीले उपत्यकाका भन्डारखाल, विश्वरुपा र शिवपुरी जंगलमा तालिम प्राप्त कुकुर र परिवारका सदस्यसहित खोजतलास गरेको छ।
‘अमेरिका जाने बिषयबाहेक बाहेक अन्य विषयमा विवाद समेत देखिएन,’ डिएसपी बोगटीले भने ‘हामी अझै खोजीमै छौं, परिवार समेत खोजीमा सक्रिय हुनुहुन्छ।’
यो पनि: श्रीमान् अमेरिका उड्न आतुर थिए, पत्र लेखेर बेपत्ता भइन् दुर्गा
प्रतिक्रिया