ad ad

समाज


ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १०:३,

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरेको छ। जरिवाना बुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ।

बैंकमा जरिवाना बुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुुभारम्भ गरे।

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट संकलन गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताए। सहज र प्रभावकारी ढंगले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिबद्ध भएको भन्दै लामाले सहजरुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गरे।

बैंकिङ प्रणालीले प्रहरीको कामलाई सहज बनाउने भन्दै लामाले जरिवाना तिर्ने व्यक्तिलाई झण्झटिलो नहुने गरी काम गर्न निर्देशन दिए। प्रहरी कर्मचारी आर्थिक लोभ लालचबाट टाढा रहनुपर्ने भन्दै लामाले यसको नियन्त्रणको लागि आफू लागिरहेको बताए। प्रहरीलाई इमान्दार बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै लामाले प्रहरी ठीक नभएसम्म सेवा प्रवाहसमेत ठीक नहुने भएकाले शुद्धीकरण अभियान सञ्चालन गरेको बताए।

कार्यक्रममा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले प्रहरीको सेवा प्रवाह समयसापेक्ष परिवर्तन गर्दै बैंकिङ प्रणाली लागू गरिएको बताए। बैंकिङ प्रणालीबाट जरिवाना संकलन गर्दा सजिलो र पारदर्शी हुने भन्दै कोइरालाले ट्राफिक प्रहरीको कामकाजसमेत छिटो छरितो हुने विश्वास व्यक्त गरे।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सडकका कारण दुर्घटना बढ्दै गएको बताए। बैंकिङ प्रणालीमार्फत कारोबार गर्दा ट्राफिक प्रहरीलाई सहज भए पनि सवारी साधनका चालकलाई भने समस्या हुने भन्दै उनले जरिवाना तिर्नका लागि छुट्टै काउण्टर सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बैंकमा लामो समयसम्म लाइन लाग्नुपर्ने तथा बजारमा पार्किङ गर्ने स्थानको अभाव हुँदा चालकलाई थप समस्या हुने सुवेदीको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .