ad ad

समाज


महिनाको २ लाख कमाउने गरी इजरायल जाने श्रमिकले भिसा शुल्क तिर्नु नपर्ने

महिनाको २ लाख कमाउने गरी इजरायल जाने श्रमिकले भिसा शुल्क तिर्नु नपर्ने

उजिर कार्की
पुस २१, २०७७ मंगलबार १५:३३,

नेपालीलाई रोजगारीका लागि इजरायल पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ। पहिलो चरणमा ५ सय श्रमिक पठाउने गरी गत असोज १४ गते दुई देशबीच श्रम सम्झौता भएको थियो।

श्रमिक पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि समेत तयार गरिसकेको छ। कार्यविधिमा हस्ताक्षर गर्ने जिम्मा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई दिइएको श्रम मन्त्रालयका प्रवक्ता *भरतमणि पाण्डेले बताए।

महानिर्देशक दाहालले इजरायली पक्षसँग नेपालमै कार्यविधिमा हस्ताक्षर गर्ने तयारी भएको बताए। यसअघि इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्यले नेपालको तर्फबाट श्रम सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।

उक्त श्रम सम्झौताअनुसार केयरगिभरका रुपमा ५ सय जना नेपाली पहिलो पटक इजरायल जानेछन्। इजरायलसँग भएको सम्झौता अनुसार त्यहाँ जाने श्रमिकले भिसा शुल्क भने तिर्नुपर्ने छैन। करिब एक लाख रुपैयाँ खर्च गरेर श्रमिक त्यहाँ जान पाउने छन्।

इजरायल जान केयरगिभरको तीन महिने तालिम लिएको हुनु पर्ने छ। केयरगिभर तालिम सरकारले अनुमति दिएका तालिम केन्द्रबाट लिन सक्ने र यसका लागि ३० हजार रुपैयाँ लाग्ने सम्झौतामै उल्लेख गरिएको छ। यो शुल्क श्रमिकले नै तिर्नुपर्ने छ।

यस्तै, स्वास्थ्य परीक्षणका लागि ४ हजार ३ सय रुपैयाँदेखि ७ हजार ९ सय रुपैयाँसम्म श्रमिकले तिर्नुपर्नेछ। वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा १५ सयदेखि २५ सय रुपैयाँ, स्वास्थ्य बिमाका लागि ४ हजारदेखि ८ हजार रुपैयाँ तिर्नु पर्ने छ। उमेरअनुसार बिमा शुल्क फरकफरक हुनेछ। पासपोर्ट बनाउँदाको खर्च समेत दुई देशको सम्झौतामा उल्लेख गरिएको छ। ५ हजारदेखि १५ हजार रुपैयाँसम्म पासपोर्ट बनाउँदा श्रमिकको खर्च हुनेछ। यसबाहेक तत्कालीन बजार मूल्य अनुसार हवाई भाडा श्रमिकले तिर्नुपर्ने छ।

श्रमिक भर्ना प्रक्रिया वैदेशिक रोजगार विभागले नै गर्ने छ। विभागले निर्देशकको नेतृत्वमा इजरायल शाखा तोकिसकेको छ।

कार्यविधिमा सम्झौता हुनासाथ सूचना जारी गरेर इजरायल जान चाहने श्रमिकबाट आवेदन माग गर्ने विभागका महानिर्देशक दाहालले बताए।

‘हामीले फारम तयार गरिसकेका छौं, हाम्रो तर्फबाट अब लगभग तयारी टुंगियो, मन्त्रालयबाट कार्यविधि पास भएर आइसकेपछि हस्ताक्षर हुन्छ र कार्यन्वयनमा जान्छ,’ महानिर्देशक दाहालले नेपालखबरसँग भने।

इजरायलमा काम गर्ने नेपाली श्रमिकले त्यहाँका नागरिकसरह नै तलब पाउने छन्। इजरायलले तोकेको न्यूनतम ज्याला स्थानीय मुद्राअनुसार ५ हजार ३ सय सेकेल (करिब नेपाली एक लाख ९४ हजार रुपैयाँ) हुन्छ। यसबाहेक अन्य सेवा सुविधा त्यहाँका नागरिकले सरह नै नेपाली श्रमिकले पनि पाउने सम्झौतामा उल्लेख छ।

त्यहाँ जाने नेपालीले नर्सिङ क्षेत्रमा काम गर्नेछन्। श्रम मन्त्रालयका प्रवक्ता पाण्डेका अनुसार व्यक्तिका घरमा नभएर वृद्धाआश्रम र अस्पतालहरुमा नेपाली श्रमिकले काम गर्नुपर्ने छ।

दुई देशबीच भएको सम्झौताअनुसार इजरायल जाने श्रमिक २५ वर्षदेखि ४५ वर्षसम्मका हुनु पर्नेछ। उनीहरुको उचाइ कम्तीमा डेढ मिटर र ४५ केजी तौल हुनुपर्नेछ।

तीन महिने नलिएको भए सीएमए र अनमी अध्ययन गरेकाले आवेदन दिन पाउनेछन्। उनीहरुले अंग्रेजी भाषा जानेको हुनुपर्नेछ। केयरगिभरको तालिम लिएकाहरुको हकमा भने १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।

यसअघि व्यक्तिको घरमा केयरगिभरका रूपमा नेपालीलाई लगिएको थियो। वैदेशिक रोजगार विभागमार्फत नै सन् २०१५ मा पाइलट प्रोजेक्टका रूपमा केयरगिभर लैजान थालिएको थियो। तर संसदीय समितिले श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक नपठाउन निर्देशन दिएपछि इजरायल पनि बन्द भएको हो।

त्यतिबेलाको योजना सफल नभएपछि सरकारले इजरायलसँग श्रम सम्झौता नै गरेर श्रमिक पठाउन लागेको हो। त्यसअघि म्यानपावर कम्पनीले समेत इजरायलमा नेपाली श्रमिक पठाउँदै आएका थिए।

श्रमिकसँग चर्को शुल्क लिएको पाइएपछि सन् २००९ देखि म्यानपावर कम्पनीलाई श्रमिक पठाउन रोक लगाइएको थियो। इजरायलमा करिब तीन हजार नेपाली केयरगिभरका रूपमा कार्यरत रहेको विभागको अनुमान छ। 

(* यसअघि नाम फरक पर्न गएकाले सच्याइएकाे- सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .