ad ad

समाज


चितवन राष्ट्रिय निकुञ्जमा साउनयता मरे तीन हात्ती

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता मरे तीन हात्ती

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ७:४१,

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन्। ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन्। दीपेन्द्र क्षयरोगका कारण मरेको आशंका गरिएको छ। विक्रमप्रसाद बामपुड्के रहेको थियो। उसको उमेर पुगेर मरेको डा श्रेष्ठले जानकारी दिए। उनले भने, ‘बामपुड्के जनावरको आयु अन्यको जस्तो हुँदैन।’ त्यस्तै सुन्दरमाला बूढो भएर मरेको उनले जानकारी दिए। सुनदरमालाको उमेर ७५ वर्ष रहेको थियो।

दीपेन्द्र र सुन्दरमाला सौराहामा रहेका थिए भने विक्रमप्रसाद बेलशहर पोष्टमा रहेको थियो। सुन्दरमाला पोथी हो भने दीपेन्द्र र विक्रम भाले हात्ती हुन्। निकुञ्जका हात्तीमा क्षयरोगको आशंका गरिएसँगै नमूना संकलन गरेर परीक्षणका लागि राखिएको छ। हाल निकुञ्जमा ५९ वटा हात्ती रहेका छन्।

हात्तीसँगै निकुञ्जमा यसै अवधिमा ५१ वन्यजन्तु मरेका छन्। निकुञ्जका अनुसार मरेका वन्यजन्तुमा सबैभन्दा धेरै गैँडा छन्। चालु आवमा मात्रै १७ वटा गैँडा मरेका छन्। जसमा चार वटा चोरी शिकारीबाट मरेका हुन् भने १३ वटा प्राकृतिक कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ।

पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले संरक्षणका लागि गम्भीरतापूर्वक अध्ययन थालेको छ। निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा तीन सदस्यीय टोलीले गैँडाको मृत्युको कारणको अध्ययन थालेको छ।

त्यसैगरी सो अवधिमा १६ वटा चित्तल मरेका छन्। जसमध्ये ११ वटा कुकुरको आक्रमणबाट तथा छ वटा मेसजालीमा अड्किएर र बच्चा जन्माउन नसकेर मरेका हुन्। चितुवाको आक्रमणबाट पाँच वटा बँदेल मरेका छन्। त्यस्तै यसै अवधिमा दुई वटा चितुवा, दुई वटा रतुवा, एउटा जरायो, एउटा लगुना, एउटा दुम्सी, एउटा बाँदर र एउटा कछुवा मरेका छन्।

यिनीहरुमध्ये केही सडक दुर्घटना, वन्यजन्तुको आक्रमण, चोटपटक लागेर, निकुञ्जको तारमा अल्झेर तथा केही उपचारका क्रममा मरेका हुन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सवारी दुर्घटना र अन्य जनावरको आक्रमणबाट वन्यजन्तु मर्ने गरेकाले संरक्षणका लागि काँडेतार तथा मेसजाली लगाइएको बताए।

कतिपय वन्यजन्तु निकुञ्जकै मेसजालीमा ठोक्किएर मर्ने गरेको हुँदा ती जालीलाई पनि व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए। वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आसपासका बस्तीमा विशेष निगरानीसमेत बढाएको उनले बताए। निकुञ्जका पोष्टमा खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र मध्यवर्तीका बासिन्दा सबै वन र वन्यजन्तुको सुरक्षामा लागि परेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .