समाज


सुटरलाई एकलाख रुपैयाँको सुपारी दिएर बाबुले नै छोरीको हत्या गराएको खुलासा

सुटरलाई एकलाख रुपैयाँको सुपारी दिएर बाबुले नै छोरीको हत्या गराएको खुलासा

शैलेन्द्र महतो
मंसिर १४, २०७७ आइतबार १२:५१,

रौतहटहमा आफ्नै बुबाले सुटरलाई एक लाख रुपैयाँ तिरेर छोरीको हत्या गरेको खुलासा भएको छ।

गएको कात्तिक २६ गते माधवनारायण नगरपालिका ७ लौकाहा बस्ने रामअयोध्या साह तेलीकी छोरी १७ वर्षीया अमृताकुमारी साहको आफ्नै घरमा सुतिरहेका बेला कञ्चटमा गोली हानी हत्या गरिएको थियो।

अमृता पतिसँग सम्बन्धविच्छेदपछि आमाबुबाकै साथमा बस्दै आएकी थिइन्। पछिल्लो समय उनी प्रेममा परेको प्रहरीको भनाइ छ। छोरीले भागेर बिहे गरे आफ्नो इज्जत जाने ठानेर बुबा राअयोध्याले हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

छोरीको हत्याका लागि रामअयोध्याले सुटरलाई एक लाख रुपैयाँको सुपारी दिएको खुलासा भएको छ।

हत्याको घटनामा प्रहरीले ५५ वर्षीय रामअयोध्यासहित ६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

हत्यामा संलग्न भएको आरोपमा आमा सतादेवी साह, देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनिया बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुल भन्ने ईस्लाम अन्सारी, वर्ष ३६ का शेख इम्तियाज र परोहा नगरपालिका ४ वस्ने ४६ वर्षीय छोटेलाल साहलाई प्रहरीले पक्राउ गरेको हो।

किन बुनियो अमृताको हत्याको जालो?
मृतक अमृताको तीनवर्ष अघिदेखि गाउँकै ३० वर्षीय थारु भन्ने सोसिन्द्रप्रसाद भगतसंग प्रेमसम्बन्ध थियो। तर परिवारजनले भगतसंगको प्रेम अस्वीकार गरी दबाब दिएर २०७६ फागुनमा सर्लाहीको विष्णुपुर गाउँपालिका ३ बस्ने मानकी साहको छोरा रुपेश साहसंग अमृताको मागीविवाह गरायो।

तर, अमृतासँग विवाहपछि रुपेश साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने प्रयास भयो। त्यसपछि अमृता माइत फिर्ता आएकी थिइन्। रुपेश र अमृताबीच असार २०७७ मा सम्बन्ध बिच्छेद भएको थियो।

सम्बन्धविच्छेद पश्चात छुरा प्रहार गरेको विषयमा रुपेशको घरपरिवारबाट अमृता र उनकी प्रेमी सोसिन्द भगतमाथि ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता भयो।

त्यसैले अमृताको प्रेमसम्बन्ध सोसिन्दसंग स्वीकार्य नरहेको, सोसिन्द्रसंग छोरी भागे अथवा मुद्दामा पक्राउ परे इज्जत जाने डर, माइतमा छोरी बस्दा समाजको कानेखुसीबाट अपहेलित हुने कारणले बुबा रामअयोध्या साहले अमृताको हत्या बनाउने मनसाय बनाएको प्रहरीको भनाइ छ।

त्यसपछि रामअयोध्याले अर्का ज्वाइँ रौतहटको देवाही गोनाही नगरपालिका लक्ष्मीनिया बस्ने लक्ष्मण साहसंग सल्लाह गरी छोरीको हत्या गर्ने योजना बुने। भिनाजु लक्ष्मणले अमृतालाई हत्या गर्न रौतहटको परोहा नगरपालिका ४ वस्ने ४६ बर्षियको छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिई भारतमा लगेर हत्या गर्ने जिम्मा दिए।

गएको कार्तिक ९ गते महानवमीका दिन अमृतालाई उपचारको बहानामा भारतमा लगेर मार्ने योजना बनाइएको थियो। तर, अमृता भागेर ज्यान बचाउन सफल भइन्।

त्यसपश्चात बुबा रामअयोध्या साह र भिनाजु लक्ष्मण साहले अमृतालाई घरमै सुटर मार्फत गोली प्रहार गरी हत्या गराउन योजना बनाए। जसको लागि देवाही गोनाही नगरपालिका २ लक्ष्मीनिया बस्ने कैमुल देवानलाई एकलाख रुपैयाँ दिएर अमृताको गएको कार्तिक २६ गते बिहान सुतेकै बेला दाहिने कञ्चटमा गोली प्रहार गरी हत्या गरेको कुरा अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए। उनका अनुसार पक्राउ परका अभियुक्तहरुले अपराध स्वीकार गरेका छन्।

उनीहरुमाथि ज्यान मार्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता कृष्ण प्रसाईंले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .