समाज


प्रहरी बढुवाको बाटो खुल्यो: एआईजीमा सहज, डीआईजीमा तीव्र प्रतिस्पर्धा

प्रहरी बढुवाको बाटो खुल्यो: एआईजीमा सहज, डीआईजीमा तीव्र प्रतिस्पर्धा

उजिर कार्की
मंसिर १४, २०७७ आइतबार ९:३०,

थप भएको एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी प्रहरी प्रधान कार्यालयमा दर्ता भएको छ। किताब खानामा दर्ता भएर दरबन्दी कायम गरिएको पत्र आइतबार बिहान प्रहरी प्रधान कार्यालयमा पुगेको हो।

मंसिर ३ गतेको मन्त्रिपरिषदबाट स्वीकृत दरबन्दी दर्तासँगै लामो समयदेखि रोकिएको बढुवाको प्रक्रिया सुरु हुने भएको छ। बढुवामा ढिला हुँदा प्रहरीमा असन्तुष्टि सुरु हुने भएकाले तत्कालै बढुवाको प्रक्रिया सुरु गर्न मुख्यालयलाई दबाब छ।

अवकाशको मुखमा रहेका एसएसपीहरु डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्। २०७९ वैशाख १९ गते र २०७९ चैत २९ गते अवकाश हुने प्रहरीहरु डीआईजीका प्रतिस्पर्धी हुन्। २०५१ को ब्याचले समेत डीआईजी बढुवामा आकांक्षा राखेपनि तत्काल बढुवा हुने सम्भावना कम छ।

यता एआईजी बढुवामा भने सहज देखिएको छ। एआईजीको दाबेदारमा डीआईजी विश्वराज पोख्रेल निक्कै अगाडि रहेकाले बढुवामा सहज देखिएको हो। अन्य डीआईजी भन्दा पोख्रेल एक वर्षपहिले नै डीआईजी भएकाले एआईजी बन्न उनलाई सहज भएको हो।

हाल कार्यरत अन्य डीआईजी एसएसपी छँदै पोख्रेल एआईजीका दाबेदार थिए। आईजी शैलेश थापासँगै एआईजीमा दाबी गरेपनि सरकारले उनीभन्दा वरिष्ठ अरु भएका कारण अरुलाई बढुवा गरेको थियो।

त्यसपछि रिक्त दुई एआईजीमा पनि निरज शाही र प्रद्युम्न कार्की बढुवा हुँदा पोख्रेल छुटेका थिए। सरकारले यही आधारमा बढुवा गरे पोख्रेल एक मात्र दाबेदार हुन्। यस्तै अहिले दरबन्दी समेत उनैलाई बढुवा गर्नका लागि थपिएको प्रहरीभित्र बुझाइ छ।

पछि डीआईजी भएका पहिलो नम्बरका घनश्याम अर्यालदेखि पाँचौ नम्बरका सहकुल थापा र छैटौं नम्बरका धिरजप्रताप सिंहलाई पनि एआईजीका दाबेदारका रुपमा हेरिएको छ। डीआईजीमध्येबाटै एआईजी बढुवा हुने भएपनि पछिल्लो बढुवाले अर्थ राख्ने भएकाले पोख्रेलको बाटो सहज भएको हो।

एक मात्र एआईजीमा पोख्रेल बढुवा भएमा २०७९ वैशाख २० गतेदेखि उनी आईजीपी बन्ने छन्। एआईजीका रुपमा उनले झण्डै डेढ वर्ष काम गर्ने छन्। एआईजीमा लामो अनुभव पछि आईजीपी बन्ने अवसर उनले पाउनेछन्। यसले संगठन सञ्चालनमा सहयोग पुग्ने पूर्वप्रहरी अधिकारीहरु बताउँछन्।

डीआईजीबाट सीधै आईजीपी बन्दा एआईजीको अनुभव नै नहुने भएकाले संगठन सञ्चालनमा असर गर्ने सुरक्षा विज्ञहरुको भनाइ छ।

                सम्बन्धित समाचार: एसएसपीबाटै घर जानुपर्ने चिन्तामा आईजीका १४ ब्याची

सरकारले एआईजी बढुवापछि मात्रै डीआईजी बढुवा गर्ने तयारी गरेको छ। एआईजी पहिले बढुवा गर्दा रिक्त डीआईजीको दरबन्दी ९ पुग्ने छ। हाल रिक्त ३ र थपिएका ५ गरी ८ डीआईजीको दरबन्दी रिक्त छ।

दरबन्दी थप गर्न आईजीपी थापाकै जोडबल रहेका कारण तत्काल बढुवा गर्नु पर्ने दबाब उनलाई छ। कतिपय युनिटमा डीआईजी नहुँदा अप्ठेरो पर्ने भन्दै दरबन्दी थप गरिएको हो।

एआईजीको दरबन्दी भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कायम गरिएको छ। हाल डीआईजी विश्वराज पोख्रेल त्यहाँ कार्यरत छन्।

९ डीआईजीका लागि २ ब्याचका २४ दाबेदार
अवकाशको मुखमा रहेका १४ सहित २४ एसएसपी डीआईजी बढुवाको दौडमा छन्। २०७९ वैशाख १९ गते अवकाश हुने एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, सौरभ राणा, रामकृपाल साह र उमेश रन्जितकार डीआईजीको दौडमा छन्।

यस्तै यही ब्याचका तर पछि एसएसपी बढुवा भएका प्रकाश अधिकारी, देवबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर कुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ पनि डीआईजीका प्रतिस्पर्धी हुन्।

उनीहरु सबै हालका आईजीपी शैलेश थापाकै ब्याची हुन्।

२०७४ साउन १९ गते एसएसपी भएका दिवेश लोहनी र २०७५ जेठ २ गते एसएसपी बढुवामा परेका अरु ९ जना पनि डीआईजीको दौडमा छन्। यो ब्याचबाट गत असारमा सहकुल थापा र अरुणकुमार बीसी डीआईजी भइसकेकाले उनीहरुलाई पनि बलियो दाबेदार मानिएको छ।

सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री र मसाउद आलम खाँ पछिल्लो ब्याचका डीआईजी दाबेदार हुन्।

यस्तै २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ती भएका एसएसपीहरु पनि अहिले नै डीआईजीको दौडमा छन्। यो ब्याचबाट डीआईजी बढुवा गरिए प्रतिस्पर्धा थप जटिल बन्ने छ।

यो पनि:

विश्वराज पोख्रेललाई प्रहरी महानिरीक्षक बनाउन सरकारले बाटो खोल्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .