समाज


जलवायुसम्बन्धी अनुसन्धानमा नेपाली वैज्ञानिकको नयाँ खोज : मौसम पूर्वानुमानमा यसले ल्याउनसक्छ सुधार

जलवायुसम्बन्धी अनुसन्धानमा नेपाली वैज्ञानिकको नयाँ खोज : मौसम पूर्वानुमानमा यसले ल्याउनसक्छ सुधार

मणि दाहाल
मंसिर ५, २०७७ शुक्रबार १०:२१,

नेपालमा सामान्यतया हावा चार महिना पूर्वबाट पश्चिमतर्फ र बाँकी समय त्यसको विपरित दिशामा चल्ने गर्छ।

चार महिने मनसुनको समयमा बाहेक सधै पश्चिमबाट पूर्वतर्फ हावा बहन्छ।

चार महिनाको मनसुनको अवधिमा बंगालको खाडीमा हुने मौसमी गतिविधिले नेपालको मौसम प्रभावित गर्छ भने बाँकी समयमा भूमध्यसागरमा विकास हुने मौसम प्रणालीको नेपालमा प्रभाव पर्छ।

हिउँद र प्रिमनसुनमा पहाडी क्षेत्र र तराई क्षेत्रमा हुने वर्षा वा हिमाली क्षेत्रमा हुने हिमपातको चर्चा हुँदा पश्चिमी वायुको प्रभाव भनेर बताइने गरिन्छ। त्यसैले मौसम र वर्षासम्बन्धी समाचारहरुमा प्रायः पश्चिमी वायुको प्रभाव उल्लेख गरिएको हुन्छ।

त्यही पश्चिमी वायुमा पर्ने प्रभावसँग जोडिएको विषय हो– सबट्रपिकल जेट स्ट्रिम।

पृथ्वीको सतहबाट १० देखि १५ किलोमिटरमाथि पश्चिम दिशाबाट पूर्व बहने यो शक्तिशाली हावाको वहावले हाम्रो मौसम प्रणालीलाई प्रभावित गरिरहेको हुन्छ।

सबट्रपिकल जेट स्ट्रिमले पश्चिमी वायुलाई नेपालसम्म ल्याउँछ। पुरै पृथ्वीलाई फन्को मार्ने यस्तो हावाको वहाव उत्तरी गोलार्द्धमा दुई वटा हुन्छ। एउटा हाम्रो (नेपालको) आकाशको ठ्याक्कैमाथि अर्थात् २७ देखि ३० डिग्री उत्तरी अक्षांश र अर्को उत्तरी ध्रुवतिर अर्थात ४५ देखि ५० डिग्री उत्तरी अक्षांश हुँदै बहन्छ। नेपालको आकाशमा हुने हावालाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ र अर्कोलाई पोलार जेट स्ट्रिम भनिन्छ।

अहिलेसम्म मानिदै आएको मान्यता के थियो भने सबट्रपिकल जेट स्ट्रिम २७ देखि ३० डिग्री उत्तरी अक्षांशमा मात्रै बहन्छ।

तर नेपाली वैज्ञानिक डा. उदय कुँवर थापाको नेतृत्वमा गरिएको एक अनुसन्धानबाट यो जेट स्ट्रिम समय समयमा आफ्नो स्थान छाडेर त्यो भन्दा पनि उत्तरतर्फ जाने गरेको पत्ता लागेको छ। सो अध्ययनका अनुसार सो सबट्रपिकल जेट स्ट्रिम सर्दै ४० डिग्री अक्षांशमा पर्ने किर्गिज्स्तान र उत्तरपश्चिम चीनसम्म पुग्नेगरेको निचोड निकालेको छ। सो अध्ययनले यो स्ट्रिम यसरी सर्ने क्रम विगत ७० वर्षमा छिटोरुपमा बढिरहेको समेत पत्तालगाएकाे छ।

‘चार शताब्दीको मौसमको अध्ययन गर्दा हामीभन्दा माथि हुदै जाने सबट्रपिकल जेट स्ट्रिम १८ पटक आफ्नो स्थान छाडेर उत्तरतर्फ लागेको देखिन्छ,’ डा. थापाले नेपाखबरसँग भने, ‘तर पछिल्लो अवधिमा यो क्रम तीब्र भएको छ किनभने १८ मध्ये पछिल्ला ७० वर्षमा मात्र यसले चार पटक स्थान छाडेको देखिन्छ।’

DrUdayKuwarThapa 1

यस्तो जेट स्ट्रिम हिमाली र तिब्बती भूभागलाई छाडेर उत्तरतर्फ कीर्गिजस्तानसम्म पुगेको थियो।

अमेरिकाको युनिर्भसिटी अफ मिनेसोटामा विद्यावारिधी गर्ने क्रममा उनले हिमाली क्षेत्रमा सबट्रपिकल जेट स्ट्रिमको बारेमा अध्ययन गरेका हुन्।

उनले यसक्रममा सबट्रपिकल जेट स्ट्रिम मध्यएसियाली देश कीर्गिजस्तान र उत्तरपश्चिम चीनसम्म पुगेको भेटेका छन्।

थापाको अनुसन्धान अमेरिकन जिओफिजिकल युनियनको जर्नल जिओफिजिकल रिसर्च लेटर्समा प्रकाशित भएको छ। 

‘जेट स्ट्रिमले आफ्नो ठाउँ छाड्दा हिमाली क्षेत्र मात्रै नभएर पुरै मध्यएसियाको मौसमी गतिविधि प्रभावित हुन्छ’ डा. थापाले भने।

सबट्रपिकल जेट स्ट्रिम जहाँजहाँ जान्छ, त्यहाँ जाँदा हिउँद वा अन्य समयमा पानी पार्ने बादलहरुलाई यसले आफैसँग हिमालपारी लैजान्छ।

यसकारण यहाँका हिमालहरुमा औसतभन्दा कम हिँउ र पहाड तथा तराईमा पानी कम परेको देखिन्छ।

‘यसबाट हिमनदीहरु र नेपालको मात्रै नभएर यो पुरै भारतीय उपमहाद्वीपलाई असर परिरहेको हुन्छ। यो प्रक्रियासँग मानिसको जीवन जोडिएको हुँदा यो महत्वपूर्ण छ,’ उनले भने।

यसले पानी वा हिउँ मात्रै कम पार्ने नभई हिमाली क्षेत्रको तापक्रम पनि बढाउछ। सबट्रपिकल जेट स्ट्रिमले पृथ्वीको मध्यभाग भूमध्यरेखाबाट आउने तातो हावा र उत्तरी ध्रुबबाट आउने चिसो हावालाई छुट्टाउने काम गर्छ।

तर सबट्रपिकल जेट स्ट्रिम नै उत्तरतर्फ लागेपछि भूमध्यरेखाबाट आउने तातो हावा हिमालसम्म आइपुग्छ। यसका कारण त्यतिबेला औसतभन्दा बढी गर्मी हुन्छ।

‘बढ्दो तापक्रमका कारण हिउँ नपर्ने र थोरै बाँकी रहेको हिउँलाई समेत यसले पगाल्ने काम गर्छ,’ थापाले भने।

सबट्रपिकल जेट स्ट्रिमले यस क्षेत्रको मौसममा पार्ने प्रभावको बारेमा वैज्ञानिकहरु जानकार थिए।

‘पचासकै दशकबाट जेट स्ट्रिमले यस क्षेत्रको मौसम प्रभावित गरेको छ भनेर वैज्ञानिकहरुले थाहा पाएका हुन्। तर पनि यसबारे अध्ययन अनुसन्धान भने निकै कम भएको छ,’ थापाले बताए।

ठ्याक्कै एक शताब्दीअघि अर्थात् सन् १९२० मा जापानी मौसमविद् वासाबुरो ओइसीले जेट स्ट्रिम पत्ता लगाएका थिए। तर यसबारे दोस्रो विश्वयुद्धको समयमा आएर बल्ल धेरै मानिसहरुबीच चर्चा भएको हो।

अमेरिका र जापानले एक अर्काविरुद्ध युद्धक बिमानहरु पठाउँदा त्यसको गतिमा प्रभाव परेको थाह लागेपछि गरिएको अध्ययनबाट जेट स्ट्रिमबारे थप जानकारी आएको हो।

थापाले चार शताब्दीको अवधीमा सबट्रपिकल जेट स्ट्रिम वहावको बारेमा अध्ययन गरेका छन्।

यसलाई उनले दुई कालखण्डमा विभाजन गरेका छन्। पहिलो सन् १६२५ देखि सन् १९४७ सम्म र दोस्रो सन् १९४८ देखि सन् २०१८ सम्म गरी छुट्ट्याइएको छ।

पहिलो कालखण्ड आधुनिक समयमा मौसम मापनको तथ्यांक राख्ने गरेपछिको अवधि हो भने अर्को मौसम मापन नहुने समय हो।

उनका अनुसार पछिल्लो सात दशक अर्थात् सन् २०१८ सम्मको आधुनिक कालखण्डमा मौसम मापन गरिएका तथ्यांकंहरु छन्। त्यसलाई लिएर हिमाली क्षेत्रमा सबट्रपिकल जेट स्ट्रिम कसरी उत्तर दक्षिण गर्दै सर्छ भनेर अध्ययन गरिएको छ।

‘युरोप अमेरिका जस्ता विकसित देशहरुमा अलि धेरै वर्षदेखिको तथ्यांकहरु पाइन्छ भने नेपाललगायत यो क्षेत्रमा भने सत्तरी वर्ष जतिको तथ्यांक मात्र उपलब्ध छ,’ उनले भने, ‘मापन नभएको समयको अध्ययन गर्ने अप्रत्यक्ष विधिहरु छन् त्यसलाई प्रयोग गरिएको छ। त्यसो गर्दा मौसम प्रणालीले असर गर्ने बस्तुहरुबाट प्राप्त जानकारीलाई आधार मानिन्छ।’

उनले यस क्रममा तीन महिना अर्थात मार्च, अप्रिल र मे महिनाको मौमसको अध्ययन गरेका हुन्।

सन् १९४८ यता चार वर्ष सबट्रपिकल जेट स्ट्रिमले आफ्नो नियमित स्थान छाडेर उत्तरतर्फ लागेको थियो।

सन् १९५६, १९७१, १९८४ र सन् १९९९ मा यो २७ देखि ३० डिग्री उत्तरी अक्षांश छाडेर उत्तरतर्फ लागेको थियो। त्यसमा सन् १९७१ मा यो हिमाल र तिब्बत पारी कीर्गिजस्तान र मध्य चीनमाथि पुगेको देखियो।

‘यो चार वर्षमा नेपाल र हिमाली क्षेत्र मात्रै नभई मध्यएसियासम्म औसतभन्दा बढी गर्मी, कम वर्षा भएको देखिन्छ। यो समयमा मध्यएसियासम्म खडेरी परेको पाइएको छ,’ थापाले भने।

तथ्यांक नपाइने अवस्थामा पनि त्यस समयको मौसम कस्तो थियो भनेर अध्ययन गर्न अप्रत्यक्ष विधि अपनाइने गरिएको छ। जस्तै रुखको भित्री भागमा हुने चक्र र तालमा भएको माटो, आइस कोर (हिमनदीको भित्री भागबाट निकालेको हिँउ)को अध्ययनबाट प्राप्त जानकारीको प्रयोग यसमा गरिन्छ।

थापाले पाकिस्तान, भारत, नेपाल र भुटानको २३ वटा जंगलका रुखको चक्रहरुको बारेमा प्राप्त तथ्यांकको प्रयोग गरेका थिए। ४ सय रुखबाट संकलन गरिएको ८ सय नमूना तथ्यांकको आधारमा उनले यसको विश्लेषण गरेका हुन्।

HimalImage DrUday

उनले समुन्द्री सतहभन्दा २ हजारदेखि ४ हजार मिटरको उचाइमा रहेका बनका रुखहरुमा प्रत्येक वर्ष बनाउने चक्रको तथ्यांक अध्ययन गरेका थिए। यसमा एउटा चक्रबाट अर्को चक्रबीचको दूरी कति छ भन्ने आधारमा त्यस वर्षको मौसम कस्तो रह्यो भनेर अध्ययन गरिन्छ।

जुन वर्ष पानी राम्रोसँग पर्छ र औसतभन्दा बढी गर्मी हुँदैन, त्यस समयमा रुखभित्र हुने चक्रको चौडाई बढी हुन्छ। खडेरी लागेको वर्ष त्यसको चक्र पनि सानो हुन्छ।

अध्ययनमा प्रयोग गरेका डेटा (तथ्यांक)हरु १ हजार वर्ष वा ५ वर्ष पुरानो रुखको पनि थियो। तर ४ सय वर्षसम्मका रुखको तथ्यांकको आकार अलि बढी नै छ।

‘एक हजार वर्षकै रुखहरुको अध्ययन गर्ने मन थियो। तर त्यती पुराना रुखहरुबारे तथ्यांक निकै कम पाइन्छ,’ थापाले भने, ‘सानो स्याम्पल साइजमा अध्ययन गर्दा आउने नतिजाबारे ठोकुवा गरेर भन्न सक्ने संभावना कम हुन्छ।’

उनको अध्ययनमा नेपालको पश्चिमी क्षेत्र, पश्चिम भारत र पाकिस्तानका रुखको तथ्यांकमा एकरुपता देखिन्छ भने पूर्वी नेपाल र भुटानको जंगलका रुखको अवस्था आपसमा समान पाइन्छ।

सबट्रपिकल जेट स्ट्रिम किन आफ्नो स्थान छाडेर हिड्छ? यो पाटोबारे भने अहिले खोजबिन हुन बाँकी नै छ।

‘अहिले यसै विषयमा अध्ययन गर्दैछु,’ उनले भने। युनिभर्सिटी अफ क्यालिफोर्निया स्यान्टा बारबरामा अमेरिकाको नेसनल ओसानिक एन्ड एट्मोसफेरिक एड्मिनिस्ट्रेसनको पोस्टडक्टरल रिसर्च फेलोसिपमा उनले यो विषयको अध्ययन सुरु गरेका छन्।

मौसमको पूर्वानुमान गर्दा वैज्ञानिकले सबट्रपिकल जेट स्ट्रिम २७ देखि ३० डिग्री उत्तर अक्षांशमा हुन्छ भनेर मान्दै गरेका छन्।

‘यो विषयलाई पनि ध्यान दिएर मौसमको पूर्वानुमान गर्ने हो भने पूर्वानुमान अहिलेभन्दा बढी मिल्छ भन्ने हो। मौसम पूर्वानुमान गर्दा यो विषयलाई पनि ध्यान दिनुपर्छ,’ डा. थापाले भने।

नेपाल जल तथा मौसम विज्ञान विभागका पूर्वप्रमुख तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का प्राज्ञ मदन श्रेष्ठले सबट्रपिकल जेट स्ट्रिम कुन अवस्थामा छ त्यसले नेपालमा पश्चिमी बायुको प्रभाव कस्तो हुन्छ भनेर निर्धारण हुने बताउँछन्।

बृहद् मौसमको अध्ययन र पूर्वानुमान गर्दा प्रशान्त महासागरमा सतहको तातो वहाव एल निनो र चिसो वहाव ला निनाको विषयलाई समेत ध्यान दिइँदै आएको छ। प्रशान्त महासागरको यो मौसमी चक्रले सुख्खा ल्याउने र पानी बढी पार्ने चक्र हुन्छ।

‘अब स्थानीय कारण, महासागरको अवस्था मात्रै नभएर सब ट्रपिकल जेट स्ट्रिमको अवस्था पनि कस्तो छ अध्ययन गरेर अनुमान गर्दा यस्तो मौसम पूर्वानुमान यथार्थको नजिक पुग्छ। जति राम्रो जानकारी भयो त्यति राम्रोसँग तयारी गर्नसकिन्छ,’ थापाले भने।

को हुन थापा?
बाग्लुङको गलकोटमा जन्मिएका थापा परिवारसँग भैरहवा नजिकैको मधुवनमा हुर्के। भैरहवाको सनसाइन इंग्लिस बोर्डिङ स्कुलबाट एसएलसी दिएका उनले बुटवलको ग्लोसिअर कलेजबाट प्लस टु अध्ययन गरेका थिए। कलेज अफ एप्लाइड साइन्स काठमाडौंबाट बिएस्सी गरेका उनले वातावरण विज्ञानमा गोल्डन गेट कलेजबाट एमएस्ससी गरेका थिए।

नेपाल हुँदा पनि उनले पश्चिम नेपालमा पछिल्लो ४ सय वर्षमा तापक्रम कसरी परिवर्तन हुँदै गएको छ भनी अनुसन्धान गरेका थिए।

प्रशान्त महासागर सतहको तापक्रममा आउने परिवर्तनले नेपालको मौसममा कसरी असर गर्छ भन्ने विषय रहेको थियो। उनको त्यो अध्ययन पनि प्रतिष्ठित् साइन्स जर्नलमा छापिएको थियो।

हिमाली क्षेत्रको मौसमको इतिहासमा रुची राख्ने थापाले त्यसपछि सन् २०१४ मा विद्यावारिधी गर्ने क्रममा युनिभर्सिटी अफ मिनेसोटाबाट हिमाली क्षेत्रमा सबट्रपिकल जेट स्ट्रिमको बारेमा अध्ययन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .